पिण्ड स्थाने पिण्डम् !
पुरानै थोत्रा वा डनपति— कुबेरै परिजन
नयाँ चैते थप्दै बदलिन गयो सङ्घ गठन ।
विचारै सिध्याई, फगत धनकै धाक छ ठुलो
कयौ योद्धा गुल्टे, सब दल भए औधि लुतुरो ।।
मरे निष्ठा आस्था जन हक हितैका सब कुरा
भए पार्टी रद्दी, दिनदिन बने वामन— लुला ।
कठै ! खोक्रा नारा घरघर रुखो कर्ण कटु भो
उनै सामन्तीका दल बल सधैं अग्लिन गयो ।।
तिनै पापी रापी, उडुस उपियाकै जय भयो
जुगा लाम्खुट्टेकै, दल बल बपौती किन भयो ?
चुनाबी यो खेला, रसमय कतै देख्दिन म ता ।
उनै सामन्तीका रगतहरूले, गर्दछ मजा ।।
धादिङबेँसी