सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जंगल महोत्सवको चटक

Nepal Telecom ad

जंगल महोत्सवको आयोजना भैरहेको थियो । कवि, साहित्यकारहरूले उत्साहित हुनुपर्ने आवश्यकता थिएन । यो चितवनतिरका रिसोर्ट मालिकहरूले रिसोर्टको प्रचारबाजीको लागि कवि, साहित्यकारहरूलाई जंगलमा नचाएर गरेको महोत्सव होइन । यो जंगली जनावरहरूले नै मनाएको महोत्सवको कुरा भइरहेको छ । साहित्यकारहरूले होइन जनावरहरूले नै नाचेको महोत्सवको कुरा भैरहेकोछ ।
जंगली जनावरहरूले प्रत्येक वर्ष धुमधामका साथ मनाउने गरेको वार्षिकोत्सव जंगल महोत्सवमा नानाभाँतिका कार्यक्रमहरू राखिएका थिए, नाटक प्रतियोगिता थियो, साँस्कृतिक कार्यक्रमहरू थिए र महोत्सवको प्रमुख आकर्षण थियो जादूगर बाँदरको चटक । यसपटकको महोत्सवमा जादूगर बाँदरले त्यो जंगलमा नभएका चारथरिका नयाँ प्राणीहरूको प्रदर्शन गर्ने भएको थियो । जंगली हिँस्रक जनावरहरूले पनि कहिल्यै नदेखेका र आफ्नो जंगलमा पनि नभएका ती अद्भुत प्राणीहरूलाई हेर्ने उत्सुकता संम्पूर्ण जंगलमा व्याप्त थियो ।
बाँदरको चटक कार्यक्रमका दिन सारा जनावरहरू यथास्थान विराजमान थिए । जंगलको राजा सिंहासनमा विराजमान थिए भने बाघ, भालु, चितुवा जस्ता पदाधिकारीहरू पनि आ–आफ्नो आसनमा बसेका थिए । ती बाहेक हात्ती, गैंडा जस्ता ठूला जनावरहरूका अतिरिक्त लोखर्के, खरायो, मुसाहरू एवं चराचुरूङ्गीको पनि ठूलो भीड थियो । त्यसै बेला विचित्र र आकर्षक पहिरन लगाएको जादूगर बाँदर आफ्नो आशनबाट उठ्यो र जङ्गलको राजा लगायत सबैलाई अभिवादन गर्दै डमरू बजाउँदै भन्न थाल्यो–जङ्गल, ईश्वर र प्रकृतिको एउटा अति सुन्दर रचना हो । जङ्गल सृष्टिको एउटा ठूलो भाग जनावर र चराचुरुङ्गीहरूको वासस्थल भएता पनि यसबाट सबभन्दा बढी फाइदा मानव समुदायले नै लिइरहेका हुन्छन् ।
यति भनेर जादुगर बाँदर डिमडिम–डिमडिम गरेर डमरु बजाउन थाल्यो । खरायो र मुसाहरूले थपडी बजाउन थालेपछि साराले करतल ध्वनि गुञ्जायमान गरे । करतल ध्वनिले उत्साहित हुँदै बाँदर नाच्दै र उफ्रिँदै फेरि भन्न थाल्यो–जङ्गलको सिँह राजा, बाघ, चितुवालाई सबभन्दा खतरनाक प्राणी भनिन्छ तर यी जंगली जनावर भन्दा पनि बढी खतरनाक, बढी हिंसक, बढी लोभी, बढी मूर्ख पनि एउटा जनावर छ, त्यसलाई के भनिन्छ थाहा छ ?
सारा भीड एक स्वरले करायो–छैन । बाँदर भीडको सहभागिताबाट अझ बढी उत्साहित हुँदै भन्न थाल्यो–जङ्गली जनावरभन्दा पनि खतरनाक, लोभी र मूर्ख जनावरको नाम हो–मानिस । बाँदरको घोषणा सुनेर भीड स्तब्ध भयो । बाँदरले मानिस भन्ला भनेर कसैले कल्पना पनि गरेका थिएनन् । जङ्गली जनावरहरूले मानिसलाई संसारको सर्वोत्कृष्ट, बुद्धिमानी, ज्ञानी र महान् प्राणीका रूपमा सुनिराखेका थिए । उनीहरूले मानिस चन्द्रलोक पुगेको, मोटरमा घुमेको, हवाइजहाजमा उडेको, टिभी हेरेको सत्य र अपत्यार लाग्दा कथाहरू सुनेका थिए । मानिसको शक्ति, मानिसको सानदेखि जङ्गली जनावरहरू त्रसित थिए । बाँदरले त्यही मानिसलाई संसारको सबै भन्दा खतरनाक प्राणी भन्दा सम्पूर्ण जङ्गलका वासीहरू तीन छक्क परे ।
जादुगर बाँदरले एकपटक फेरि बेस्सरी डमरु बजायो र भन्न थाल्यो–मैले आज तपाईंहरूलाई देखाउन चार थरिका नमूना मान्छेहरूलाई लिएर आएको छु । यी चारैवटा हाम्रो जङ्गल, हाम्रो मुलुकलाई सखाप पार्ने खतरनाक प्राणीहरू हुन् । पहिलो जनावर जसलाई अब म देखाउन गैरहेको छु, त्यो हामीसंगै सम्बन्धित प्राणी हो । सरकारले यो प्राणीलाइ नेपालको बन, नेपालको धन संरक्षण गर्न नियुक्त गरेको हुन्छ । यो प्राणी प्रत्येक जिल्लामा हुन्छ र यसको मुख्य काम हो जङ्गलको संरक्षण गर्नु, जङ्गल विनास रोक्नु, नयाँ जङ्गल लगाउनु, जङ्गली जनावरलाई चोर शिकारीबाट बचाउनु । तर यिनीहरू यति भ्रष्ट, यति लोभी र यति पापी छन् कि पैसाको लोभमा यिनीहरूले सारा जङ्गल बेचिसके, सारा अमूल्य जनावरलाई मार्न लगाइसके । यी लोभी र षडयन्त्रकारी निकृष्ट प्राणीहरू राम्रो जङ्गल भएको जिल्लामा सरुवा पाउन मन्त्री र सचिवलाई पहिले नै ब्रिफकेसभरि नोटका गड्डी पु¥याउँछन् र हामी बस्ने जङ्गल, हाम्रो घर र हामीलाई नास गर्ने लाइसेन्स लिन्छन् । यिनैले गर्दा जङ्गल सिद्धिंदै मरुभूमिकरण बढ्दै छ । चराचुरुङ्गीहरू लोप हुँदैछन् , दुर्लभ प्रजातिका जनावर र चराचुरुङ्गीहरूको सर्वनाश भैरहेको छ । यस्तै भै नै रह्यो भने एक दिन हामी यो नेपाल भन्ने मुलुकको मरुभूमिबाट बिलाउँछौं र यसको मुख्य दोष यही प्राणीलाई जाने छ । बाँदरको कुरा सुनेर सारा प्राणीहरूले त्यो खतरनाक मानिसमाथि ढुङ्गा बर्साउन थाले ।
जादुगर बाँदरले एकपटक फेरि डमरु बजाउँदै चारैतिर घुम्यो र घोषणा गर्यो–अब म तपाईंहरूका सामु खतरनाक मान्छेको दोश्रो नमूना पेश गर्न लागिरहेको छु । यो खतरनाक मान्छे नवधनाढ्य उद्योगपति तथा ब्यापारी हो । केही वर्ष अघिसम्म यो मान्छे खालि बोरा बटुल्ने बेच्ने काम गथ्र्यो । आज मुलुकको ठूलो उद्योगपति भइटोपलेको छ । पेशाको लागि यो मान्छेले जे पनि गर्छ । आफैंलाई पनि बेच्न तयार हुन्छ यो । राजनीतिज्ञहरूलाई किनेर सम्पूर्ण अर्थतन्त्रलाई आफ्नो अनुकूल बनाउँछ र मौका प¥यो भने सत्ता पनि पल्टाइदिन्छ । जङ्गल पनि यसैले किन्छ, गैंडा भाइको खाग, बाघ राजाको छाला र दाँतको कारोबार पनि यसैले गर्छ । देश, मातृभूमिसँग यो प्राणीलाई कुनै मतलव छैन । पैसा नै यसको इष्ट हो । पैसा नै यसको देशभक्ति होे । बाहिर देखाउनलाइ उद्योग र व्यापार स्थापित गरेको छ । तर यसको मुख्य धन्दा हो स्मगलिङ्ग । यति भन्दै जादुगरले एउटा बोराको मुख खोलेर त्यो प्राणीलाई बाहिर झिकिदियो । सारा जनावरहरू ढुङ्गा बर्साउन र चिच्याउन थाले ।
दुईवटा नमूनालाई देखाइसकेपछि बाँदर पनि निकै जोशमा आइसकेको थियो । जनावरको भीड पनि उन्मादित हुँदै गैरहेको थियो । बाँदरले फेरि डमरु बजायो र भन्न थाल्यो–अब म खतरनाक प्राणीलाई तपाईंहरूको अगाडि प्रस्तुत गर्दैछु । यो प्राणी हो मुलुकको सर्वोच्च राष्ट्रसेवक अर्थात् सचिव । यो आफूलाई निकै इमानदार हुँ भन्छ तर यसको करतुत सुन्नुस् । यसको अहिलेको सम्पूर्ण सम्पत्तिको मूल्याङ्कन गर्ने हो भने बीस करोड भन्दा बढी हुन्छ । भन्सारमा बसेर यसले संसार खाइसकेको छ । करमा बसेर सारा तर खाइसकेको छ । वनको निर्देशक भएर वन पनि सिध्याइसकेको छ । गृहमा बसेर भयानक अपराधीलाई छुटाएर खानु खाएको छ । मान्छे पढेलेखेको छ तर पैसा पढ्छ, पैसा खान्छ । पैसामा सुत्छ, पैसै ओढ्छ । कर्मचारीतन्त्रमा भ्रष्टाचारलाई माफियाकरण गरेको छ यसले । तलदेखि कमिसन उठाएर खान्छ यसले । यो कस्तो घिनलाग्दो छ भने विदेशी अनुदान पनि खर्लप्प पार्छ । मुलुकमा व्याप्त भ्रष्टाचारको सरदार यही बजिया हो । रिसाउँदै, कराउँदै बाँदरले तेस्रो बोराको पनि मुख खोलिदियो । मयलपोस टोपी लगाएको राष्ट्रियताको प्रतीकलाई देखेर जनावरहरू हिलो छयाप्न थाले, चराचुरुङ्गीहरूले त ठुँग्न पनि थाले ।
बाँदरले एकपल्ट फेरि भयानक किसिमले डमरु बजायो । नाच्यो । उफ्र्यो । हाँस्यो । अनि भन्न थाल्यो–अब म हाम्रो देशको सबभन्दा खतरनाक, सबभन्दा भयानक प्राणी देखाउदैछु । यो प्राणीको नाम हो राजनीतिक नेता । यो प्राणीलाई तपार्इं सांसद पनि भन्न सक्नुहुन्छ, यो प्राणी देशको नीति निर्माता हो, देशलाई प्रगति पथमा दौडाउने चालक हो । गरीबलाई गाँस–वास–कपास दिने, राष्ट्रियतालाई उँचाई दिने व्यक्ति हो । तर हाम्रो देशमा भ्रष्टाचारको मूल जरो, कुशासनको मुख्य कारण, तन्नमता तथा दरिद्रताको मुख्य आधार यही नेता भन्ने प्राणी नै रहेको प्रमाणित भैसकेको छ । गरीबलाई ख्वाउनु भन्दा आफैं गलगिद्ध भएर घिच्न पल्केका, असहायको झुपडी बनाउनुभन्दा आफ्नो महल बनाउन तम्सेका, विकासको भाग जनतालाई दिनुभन्दा आफैं लुँड्याउन बढेका यी घिनलाग्दा, भ्रष्ट, पापी र गैरजिम्मेवार नेताहरूको कुकृत्यले गर्दा मुलुक रसातलतिर जाँदैछ । जङ्गल पनि यिनै खान्छन्, राजस्व पनि यिनै खान्छन्, अनुदान सहयोग पनि यिनैले रित्याउँछन् । भ्रष्टाचारका सूत्रधार यिनै हुन्, हिंसा र आतंकका कारक पनि यिनै हुन् । पैसा कमाउन, सम्पत्ति जोड्न, पजेरो चढ्नु मात्र यिनको एकमात्र उद्देश्य हो । देश विकास, जनताको प्रगति, राष्ट्रियताको सम्बर्धनसँग यिनको कुनै मतलव छैन । यिनीहरू त मरिसकेपछि पनि सोझै नर्क जान्छन् । अवसर पाएको बेला, मौका पाएको बेला आफ्नो राष्ट्र, जाति, झण्डालाई उँचाइमा नपु¥याइ खान, घिच्न लिप्त हुने यी नेतालाई त जे गरेपनि पाप लाग्दैन । यति भन्दै हाहाकार गरिरहेका जनावरहरूको भीडको मध्यमा बाँदरले नेतालाई झिक्न पनि पाएको थिएन, सारा जनावरहरू आइलागिहाले । बाँदर फुत्रुक्क एउटा रुखमाथि चढेर तमासा हेर्न थाल्यो ।

जनकपुरधाम
(\’रचना\’ अङ्क ७४, २०५९ बाट)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad