सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एकजोर जुत्ता लिनु छ

Nepal Telecom ad

यो सप्ताह म निकै अलमलिएको छु– के लेखुँ ? होइन, विषय अल्पताको उपज पक्कै पनि यो होइन । बरु थुप्रै गज्याङ–गुजुङ घटनाहरूले मेरो सुस्त कलमको बिर्काे उघार्न आक्रामक दबाब दिइरहेकाले हो । दुईवटा प्रचुर समसामयिक खबरकागजी हलचलमाथि त मैले केही चल्तापुर्जा टाइपको भए पनि शब्दार्पण नगरी भएकै छैन ।

एउटा समयबद्ध स्तम्भकारको लाचारी अन्तर्गतको एउटा बासी चरित्रयुक्त ताजा विषय हो– नेपाली कांग्रेस पार्टीको बाह्रौं (होइन, तेह्रौं क्यारे !) महाधिवेशनमा भइरहेको पद प्राप्तिको पार्टीगत अभ्यास । तर यो शिष्टतावश भनिने फगत एउटा वाक्य न हो, असलमा कचकचे कांग्रेसीहरूका पदीय लडाइँ भन्नुपर्छ । यदि तपाईं थोरै पनि ‘कांग्रेस ढल्कुवा’ हो भने सम्पूर्ण अनुहार गम्भीर पारेर ‘प्रजातान्त्रिक पार्टीको स्वाभाविक द्वन्द्व’ नै भन्नोस् । म त के भन्छु भने विचरा रामचन्द्र पौडेलहरूका नेतृत्वको उत्कट आकांक्षाको निर्विर्य चलमलाइ हो यो । अन्ततस् बलशाली कोइरालाहरूका वंशवाद हावी हुने निश्चितप्राय छ । यदि यस्तो भएन भने, जो अनिवार्यतस् हुन्छ नै, तसर्थ म यो कांग्रेसी लफडामा किन परुँ ? यसमा आफ्नो गैरकांग्रेसी खुट्टो अड्काइ हस्तक्षेप (मतलव पदक्षेप) गर्न छाडेर म अभिरुचिको दोस्रो विषयतर्फ लाग्छु ।

यस पटकको ‘नेपाल साहित्य उत्सव– विसं २०७२’ राजधानी काठमाडौंमा नभएर नेपालको पर्यटन नगरी पोखरामा किन गरिएको होला ? म दंग छु । वास्तवमा यहाँ साहित्यिक महोत्सव नभएकोले मलाई व्यक्तिगत तवरले कस्तो–कस्तो लागिरहेको छ । यो ‘कस्तो–कस्तो’को अलिकति व्याख्या गर्ने हो भने आश्चर्यसँग खल्लोपनको छ्यासमिसे अनुभूति भन्नुपर्ने हुन्छ । एक शब्दमा नरमाइलो । यो अनुभव अस्वाभाविक पनि होइन । किनभने एउटा नियत समयमा नेपाल प्रज्ञा प्रतिष्ठानको खुला चउरमा एउटा विशिष्ट तामझामका साथ साहित्यिक महोत्सव गरिन्थ्यो । मानौं, वार्षिक तालिका बमोजिम आइजाई गरिरहने काठमाडौं सहरको भव्य इन्द्रजात्रा हो । अब गाईजात्रा चाहिंँ नभनी हालुँ । यसको अर्थको व्यापकताले अनर्थ निमन्त्रित गर्न सक्छ । यद्यपि अब ता बाह्रै महिना निर्वाध चलिरहने थरी–थरीका गाईजात्रा (खास गरेर राजनीतिक गाईजात्रा) ले गर्दा यो बल्ल गाईजात्रा नै भएको छ ।

यसै पनि गाईजात्रा भनेको केवल मृत्युपश्चातको एउटा सांस्कृतिक कार्यक्रम हो । मृतकहरूका स्मरणमा गरिने जातीय विधान । याने नेवारहरूमा मृतात्माहरूका लागि हुने झाँकीपूर्ण जात्रा । गाईजात्रा । तर यो गाईजात्रा सम्बन्धी लेखन नभएकोले म आफ्नो मूल विषय नेपाली साहित्यिक महोत्सवतर्फ नै फर्कन्छु– मल्टिनेसनल एनसेल, नेपालको पुँजीप्रदत्त महाउदारमना सहयोगले सहज सञ्चालित नेपाली लिटरेचर फेस्टिबल अर्थात साहित्यिक महोत्सवमा हामी वर्षे्नि एउटा बहुमुखी ज्ञानबद्र्धक मनोरञ्जनबाट अनायास गुज्रन्थ्यौं । चाहे त्यो बाहिरबाट आउने अति प्रचारित दोयम दर्जाका साहित्यकारहरूका कथित ‘अब्बल’ प्रवचन होस् अथवा यताका हीनग्रन्थियुक्त टुक्राटाक्री साहित्यिक एक्टिभिटी ।

यही हीनताको जगबाट प्रश्न उठ्न सक्छ– कतै नेपालको राजनीतिमा जस्तै नेपालको साहित्यिक क्षेत्रमा पनि ‘ठूलदाइ’को ‘माइक्रो म्यानेजमेन्ट’ चालु त छैन ? तर यस्तो नभएकै होला भन्नेमा म छु । जे होस्, प्रत्येक वर्ष धुमधामले मनाइने नेपाली साहित्यिक महोत्सवमा देशी–विदेशी ग्लेमर्स व्यक्तित्वका सेलिब्रेटी साहित्यकार, नवधनाढ्य राजनीतिकर्मी, सुन्दरी सिने हिरोइन, अति नाट्यकलाकार, साहुकार बैंकर, वर्तमानकालका प्राज्ञ, भूतपूर्व सरकारी हाकिम, महाघाग प्रोफेसर, फुर्तिला मिडियामेन, लामो दाह्रीको आर्टिष्ट, राष्ट्रिय विदूषक, आईएनजीओ ठेकेदार, धुरन्धर अदालती वकिल, बहुउद्देश्यीय पण्डित, महाछाया अभिनेता आदिका भीआईपी उपदेश श्रवण गर्दागर्दै एक प्रकारको ‘एडिक्सन’ भइसकेको थियो । यस वर्ष सो महासाहित्यिक अनुभवबाट हठात् बञ्चित हुनपुगेकोले सुखद महसुस भइरहेको छैन । त्यसकारण यसका उत्साही आयोजक पुस्तक प्रकाशक मित्र ‘फाइन प्रिन्ट’का निरज भारीसँग म यतै राजधानी काठमाडौंमा नेपाली साहित्यिक महोत्सव गर्न हार्दिक अपिल गर्छु ।

हामी, केही साहित्यिक मित्र, बेलुकीपख भेला हुने नयाँसडकको ‘कविकुना’मा केही दिनदेखि एउटा छोटोमोटो खालीपन लमतन्न पसारिएको छ । यहाँ भेटिने साहित्यकारहरू पनि पोखराको साहित्यिक पर्यटनमा व्यस्त छन् । मेरा नवजवान मित्रद्वय सुप्रसिद्ध उपन्यासकार नयनराज पाण्डे र बुद्धिसागर पनि उताबाट फर्केका छैनन् । आज म मेरा समालोचक मित्र पुरुषोत्तम सुवेदी पनि अचम्मैले अनुपस्थित छन् । यस्तोमा ‘कविकुना’मा एकल हाजिरीको के अर्थ रहन्छ ? त्यसउसले यहाँबाट उठेर म भृकुटी मण्डपको दिशातर्फ वेगले लम्कँदैछु । त्यहाँ केही दिनदेखि ‘जुत्ता उत्सव’ भइरहेको छ । मेरो जुत्ता पुरानो भएर काम नलाग्ने भएकोले मलाई एकजोर जुत्ता लिनु छ ।

कन्तिपुर, माघ २३, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा