राजधानीलाई मात्रै देश देख्नेहरूको नजरमा ठ्याम्मै नपरेको एकजना हास्यव्यङ्ग्य स्रष्टाको नाम हो शेषराज भट्टराई । सुन्दर नगरी पोखरामा रहेर आजीविका धान्ने व्यावसाय चलाउँदै भट्टराई हास्यव्यङ्ग्य सिर्जनामा सक्रिय हुनुहुन्छ । २०५९ सालमै ‘ऋषिमुनिका सन्तान सिसीमुनि’ नामक हास्यव्यङ्ग्य कृति लिएर यस क्षेत्रमा सशक्त उपस्थिति जनाउनुभएका भट्टराई त्यसपछि पनि स्थानीय र राष्ट्रिय स्तरका विभिन्न पत्रपत्रिकामा हास्यव्यङ्ग्य निबन्धहरू मार्फत देखिँदै आउनुभएको छ । बदलिएको नेपाली राजनीतिक वातावरणमा नेताहरूको नबदलिएको मनोविज्ञानमाथि नेपाली हास्यव्यङ्ग्यले निर्मम प्रहार गरिरहेको छ यो बेला । राजनीतिक नेतृत्वमा देखिएको अकमण्र्यताका कारण देशको समग्र अङ्ग अपाहिज हुँदै जाँदो छ । अनाचार, दूराचार र भ्रष्टाचारले नयाँ उचाइ प्राप्त गरिरहेको वर्तमान स्थितिले नयाँ नेपालको आकाङ्क्षामाथि तुषारो छर्दैछ । राजधानीमा बेलाबेला थुप्रिने फोहरको पहाड जस्तै विकृतिको झ्याउ राज्यका हरेक अङ्गमा चाङ लागेको देखिन्छ । नेपाली हास्यव्यङ्ग्य कला विकृतिको त्यही झ्याउ उधिनेर सङ्गति र सुधारको आग्रह गरिरहेको छ । यसै कित्तामा जुटेका थुप्रै कर्मीहरूमध्येकै एउटा नाम हो ।

हँसाइहसाई विकृत कर्ममाथि प्रहार गर्ने धर्म निर्वाह गरिरहेको हास्यव्यङ्ग्य जमातका एक सक्रिय दौँतरी शेषराज भट्राईको कृति ‘जातले पकाएको भात’ (व्यङ्ग्यवेद) अहिले मेरो हातमा छ । विविध विषयमा मनोरञ्जक छेडखान गर्दै हरेक क्षेत्रमा व्याप्त विसङ्गत पर्यावरणको पर्दाफास गर्ने २२ वटा निबन्धहरूको यस सङ्ग्रहलाई नाम दिइएको छ ‘जातले पकाएको भात’ । लेखनमा भट्टराईको जात हास्यव्यङ्ग्यकार हो र यहाँ भट्टराईले हास्यव्यङ्ग्यको परिकार तयार गरी नाम जुराउनुभएको छ । २२ वटै निबन्धको पर्याप्त रसास्वादन गरी यसको परिपाकका सम्बन्धमा केही चर्चा गर्दै म भने सानोतिनो भूमिका भट्याउन खोज्दै छु ।

विषयक्षेत्रको व्यापकतामा लुकामारी खेल्दै ‘जातले पकाएको भात’का निबन्धहरू चलायमान भएका देखिन्छन् । वर्तमान नेपाली राजनीतिभित्रको चरम अराजनीति, सामाजिक जीवनका अनेक बिब्ल्याँटा, आर्थिक अनाचार, न्यायकर्ताहरूबाटै भइरहेको अन्याय, नेपाली नारीहरूमाथिको अमानवीय विभेद, राष्ट्रसेवकहरूले सेवन गरिरहेको परम्परागत घूसदेखि यावत् सबै क्षेत्रका अड्मिल्दा प्रसङ्गहरू आएका छन् यस कृतिमा । कथित आधुनिकताले बिगार्न थालेको नेपाली दाम्पत्य जीवनप्रति रमाइलो व्यङ्ग्य छ ‘सती जाने पति’मा । बाटो बिराएर कुबाटो समात्ने नालायकहरूलाई मज्जैसँग गिज्याइएको छ ‘बाटो’ निबन्धमा । त्यसै गरी ‘आकस्मिक आन्दोलन’ शीर्षकको निबन्धले आम नागरिकका समस्याप्रति बेखबर सरकारकै कारण महँगीले नेपाली जनताको ढाड भाँचिरहेको यथार्थको उद्घाटन गरेको छ । न्यायिक क्षेत्रको अकमण्र्यताप्रति छेडखान गर्दै न्यायलाई नाघ्नु अन्यायको शरण माग्नु हो भन्ने निष्कर्ष निकालिएको निबन्ध हो ‘न्यायका नोकरहरू’ । ‘बाजे’ ले सडेगलेका सामाजिक संस्कार र मान्यतामाथि मज्जैले घोचपेच गरेको छ भने ‘छतौरा’ निबन्धमा भट्टराईले पुरानो पुस्ता र नयाँ पुस्ताबीचको द्वन्द्वमाथि व्यङ्ग्यात्मक दृष्टि दिँदै टिन–एजरहरूको बरालिएको मनोदशालाई अङ्कन गर्नुभएको छ । ‘बोस’ निबन्धमा चाहिँ हाम्रा नेताहरूको हाकिमी प्रवृत्तिमाथि तीब्र कटाक्ष गरिएको छ ।

नेपाली अर्थतन्त्रमा देखिएको अस्वाभाविक असन्तुलनतर्फ हास्यव्यङ्ग्य शिल्पी भट्टराईको ध्यान तानिएको छ । अर्थतन्त्रको विद्रूप स्थितिप्रति असहमति जाहेर गर्ने दुईवटा निबन्ध परेका छन् यस सङ्ग्रहमा । ‘राजाको मोहर, ओहोर दोहोर’ र ‘सुत्ने बेलामा रिन, खाने बेलामा घिन’ निबन्धमा एकातिर जसरी पनि पैसा कमाउने द्रव्यपिचास प्रवृत्तिमाथि प्रहार गरिएको छ भने अर्को्तिर अकुत रिणको भारीले कचक्कै थिचिएर हाम्रो राष्ट्रिय अस्तित्व सङ्कटमा पर्न थालेकोमा चिन्ता र चासो व्यक्ति गरिएको छ । हामी फोहर गर्न सिपालु छौँ र आफूले गरेको फोहरलाई अर्कैले व्यवस्थापन गरिदेओस् भन्छौँ । आफू बिगाछौँ र बिग्रे–भत्केको जति अर्कैले बनाइदेओस् भन्ने अपेक्षा गर्छौं । दाताहरू पनि हाम्रो बिजोग देखेर सहयोगको हात बढाउँछन्, आर्थिक सहयोग गर्छन् । दाताले दिएको त्यही अर्थमाथि पनि अनेकन तिगडम रची भ्रष्टाचार गछौँ र हामी निजी महल ठड्याउँछौँ । यस किसिमका यावत् कुकृत्यहरूमा अगुवाहरूकै अगुवाइ छ । उनीहरूकै राइँदाइँ छ । यिनै राइँदाइँलाई सङ्ग्रहका निबन्धहरूमा मसिनोसँग केलाइएको देखिन्छ ।

यस कृतिमा सामाजिक अनाचारको एउटा प्रवल पक्ष रहँदै आएको वेश्यावृत्तिलाई केन्द्रमा राखेर सिर्जना गरिएका दुईवटा निबन्ध फेला पर्छन् । ‘कोठीको महत्व र महिमा’ शीर्षकमा बाँधिएको निबन्ध कथात्मक संरचना जस्तो लाग्छ । यसको आयतन केही लामो पनि छ । एकातिर बेरोजगार स्थितिले पनि मानिसलाई कोठी सञ्चालन गर्ने र त्यसैको आडमा शरीर बेचेर जीवन निर्वाह गर्नुपर्ने बाध्यता भोग्नु परिरहेको यथार्थको प्रस्तुत गरिएको छ भने अर्को्तिर यस्तो सामाजिक दूराचारलाई नियन्त्रण र निरुत्साहित गर्नुपर्ने सरकारी पदमा रहेका जिम्मेवार व्यक्तिहरूले नै कमिसन खाँदै उल्टो प्रोत्साहित गरिरहेको असङ्गत स्थितिको पर्दाफास गरिएको छ । त्यस्तै ‘अप्सराको आसय’ शीर्षकको निबन्धमा रोजगार खोज्दै सहर पसेका किशोरीहरू कोही रहरले त कोही करले नगरवधु बन्न पुगेको विसङ्गत वास्तविकतालाई हास्यव्यङ्ग्यात्मक आवरणमा चित्रण गरिएको छ । अर्को निबन्ध ‘उपियाँ र रुपियाँ’ मा भट्टराईले वर्ग्विभाजित हाम्रो समाजमा अमानवीय शोषण गरेर धन थुपार्ने धनीहरूको मनोवृत्तिलाई लुकीलुकी रगत चुस्ने उपियाँको चरित्रसँग तुलना गरिएको छ । त्यसैगरी सामाजिक असङ्गतिको अर्को पाटो छोरा र छोरीबीच गरिने विभेदलाई ‘छोराछोरी बराबरी’ निबन्धले अङ्कन गरेको छ । यस निबन्धले छोराछोरीले बाबुआमासँग अंश खोज्ने संस्कारगत प्रवृत्ति पनि गलत हो भन्ने निष्कर्ष प्रस्तुत गरेको छ ।

‘जोगी’ निबन्धमा स्वार्थको कमण्डलु बोकेर कोही पनि जोगी बन्न नसक्ने, ‘दन्ते मोहनी’मा ठुस्काएर होइन मुस्काएर काम पट्याउने, ‘ससुरालीको सिधा....’मा ससुरालीबाट दान दाइजोको आशक्ति राख्ने जस्ता मनोविकारयुक्त विसङ्गतिहरूको लेखो लगाइएको छ । ‘कुखुरा कहानी’ मा मान्छे बढी बाठो भएर अहिले आफैलाई ठग्दैछ, ढाँट्दैछ– बरु सही अर्थमा बाठो हुन मान्छेले कुखुरा–बाख्रा जस्ता पशुपंक्षीबाट पनि ज्ञान सिक्नुपर्छ भन्ने हाँसोपूर्ण तार्किकता प्रस्तुत गरिएको छ । ‘नकच्चरो’ निबन्धमा चाहिँ लोकलाज सबै पचाइसकेपछि मान्छे नकच्चरो बन्ने गरेको लबस्तरोपनमाथि भट्टराईले मजाक उडाउनुभएको छ मज्जैसँग ।

‘जातले पकाएको भात’ यो सङ्ग्रहको उम्दा निबन्ध हो । यसै निबन्धको शीर्षकबाट भट्टराईले आफ्नो हास्यव्यङ्ग्यात्मक कृतिको नाम जुराउनुभएको छ । संसारभरी धेरै जातका मानिस छन् । मान्छे सबभन्दा पहिले मानिस नै हो त्यसपछि मात्र उसको जात बन्न पुग्छ । हाम्रै देशमा पनि मानिसहरूको बहुजातीय उपस्थिति छ । जातका आधारमा मानिसलाई ठूलो र सानो, उच र नीच गर्ने सोच अवस्तुवादी र अवैज्ञानिक हो । जातभातको छोइछिटो अहिले पनि हाम्रो समाजमा व्याप्त छ । यही विसङ्गतिको आड लिएर निबन्धमा राजनीतिक असहमति, दलीय असहिष्णुता, एकले अर्कालाई सानो र तुच्छ देख्ने, आफूमात्रै ठीक– अरू सबै बेठिक, आफूले भनेको मात्रै राम्रो, अरुले भनेको राम्रै कुरो पनि नराम्रो ठान्ने गलत मनोवृत्तिको आधार भत्काउनु पर्ने आवश्यकता तर्फ सबैको ध्यानाकर्षण गराइएको छ । यस निबन्धमा वर्तमान नेपाली राजनीतिको फोहरी ताण्डवमाथि तीब्र कटाक्ष गर्दै यस्ता कार्यकलापले देशलाई उँभो लाँदैन, बरु उँधै खसाल्छ भन्ने निचोडपूर्ण भाव प्रकट गरिएको छ । प्रकट गरिएको भाव भने व्यङ्ग्यात्मक कलेवरमा छ ।

समस्याको आकार सानो छँदैमा समाधान नगर्ने हो भने त्यसले विकराल रूप लिएर धेरै क्षति पु¥याउँन सक्छ, पु¥याउँदै आएका थुप्रै उदाहरण पनि छन् हाम्रै वरिपरि । यही वस्तुतथ्यलाई ‘चम्कनो’ शीर्षकको निबन्धमा निकै विस्तृत ढङ्गले प्रस्तुत गरिएको छ । जुम्रा, उडुस या उपियाँ जातका परजीविको बच्चो हो चम्कनो तर यसलाई मानिसकै मनोवृत्तिसँग आरोपित गर्दै प्रशस्त छेडखान गर्नुभएको छ भट्टराईले । अर्को निबन्ध ‘हण्डर’ मा चाहिँ हण्डर र ठक्कर नखाई मान्छे परिपक्व नहुने तर्क दिएर हण्डर खान नखोज्ने बरु टापटिपे र टपरटुइँया काम र कुरा गर्दै अरूलाई मात्र हण्डर र हैरानी ख्वाउने दुष्प्रवृत्तिको दोहोलो काडिएको छ । सङ्ग्रहको अन्तिम निबन्ध ‘सपना’मा मानिसका अनन्त आकाङ्क्षाहरू सपनाकै पर्यायका रूप हुन् भन्दै खालि सपनाको खेती गर्न पल्केकाहरूको हवाइ कल्पनालाई नाङ्गेझार पारिदिएको छ ।

सङ्ग्रहमा सङ्कलित हास्यव्यङ्ग्य निबन्धहरूले ओगटेका विषयक्षेत्रको यो छोटोमोटो विश्लेषणपछि मैले अलिकति चर्चा गर्नु आवश्यक ठानेको छु शेषराज भट्टराईको हास्यव्यङ्ग्यीय संरचना र प्रविधिका बारेमा । भट्टराईका निबन्धको संरचना तीन किसिमको देखिन्छ– १. लघु भन्न मिल्ने आकार, २. मझौला आकार र ३. अलि विस्तारित वा लामो । यस सङ्ग्रहकै निबन्धहरूको संरचना हेर्ने हो भने पनि यो प्रष्ट हुन आउँछ । ‘नकच्चरो’ पहिलो नम्बरको उदाहरण हो भने ‘बोसको जोस’लाई दोस्रो नम्बरको उदाहरणमा अघि सार्न सकिन्छ । ‘कोठीको महत्व र महिमा’ वा ‘चम्कनो’ जस्ता अलि विस्तारित र लामा आकारका निबन्धहरू पनि सङ्ग्रहमा परेका छन् ।

स्रष्टा भट्ट्राईका हास्यव्यङ्ग्य प्रविधिको बारेमा केही भन्नुपूर्व उहाँका निबन्धभित्रबाट चारवटा नमुना फाँकीहरू यहाँ उठाउन चाहन्छु : 
१. उहिले वा पहिले छतौरीले कपाल काटे ठुटिन्थे तर अब कपाल काटेपछि ठिटिन्छन् ।
(‘छतौरा’)
२. नयाँ कागजी मुद्राको बिगबिगीका कारण पुराना सिक्काहरू हिक्का छाडेर रोए पनि हत्याउन सकिँदैन भन्दा पक्कै पत्याउनु होला ।
(‘राजाको मोहर....’)
३. वास्तवमा नेपाल पो दुर्गन्धमय छ त । यहाँका नेता, सांसदहरू त सुगन्धमय नै छन् । अनि नेपाल पो गरीब छ त, नेपालीहरू कहाँ गरीव छन् र ?
(‘सुत्ने बेलामा रिन.....’)
४. इश्वरको लीला लौ प्रभु । कसरी मिलाउँछस् मिला, चाँडो होस् या ढिला, फुस्केको मुख सिला, फट्किँदा गलिसक्यो फिला । फट्किनु पनि कला हो । कला जानिराखे मौकामा गला लाग्दैन ।
(‘रुपियाँ र उपियाँ’)

माथि उठाइएका फाँकीहरूले शेषराज भट्टराईका निबन्धमा प्रयुक्त हास्यव्यङ्ग्य प्रविधिका बारेमा महत्वपूर्ण जानकारी प्रस्तुत गरेका छन् भन्ने मलाई लागेको छ । विसङ्गत स्थितिको चित्रण गरेर हलल्ल हँसाउँनु मात्रै हास्यव्यङ्ग्य होइन भन्ने कुरा स्रष्टा भट्टराईलाई राम्रोसँग थाहा छ । अनि विसङ्गतिका जराहरू कहाँ–कहाँ छन् र केकसरी खोतल्नुपर्छ भन्नेतिर पनि उहाँ सचेष्ट हुनुहुन्छ । प्रहारको निसाना पहिल्याउन पनि उत्तिकै सिपालु देखिनुहुन्छ । हास्यव्यङ्ग्य सिर्जना गर्न भाषाको भूमिका, शब्दको खेल र भावप्रकाशनको विधि र तरिका बारेमा पनि उहाँमा पर्याप्त सचेतना देखिन्छ । विषयको विविधतामा पसेर तत्विषयको साङ्गोपाङ्ग चित्रण गर्दै व्यङ्ग्यको बज्र प्रहारलाई बलशाली बनाउन पनि उत्तिकै सिपालु प्रतीत हुनु भट्टराईको विशेषता हो ।

भट्राईको व्यङ्ग्यकला हास्यमिश्रित छ र आफ्ना सिर्जनालाई हास्यव्यङ्ग्यात्मक बान्की दिन उहाँ वाक्यविन्यास र शब्दचातुर्यमा निकै जोड दिनुहुन्छ । अधिकांश निबन्धमा शब्दानुप्राशको व्यापकताले सिर्जनालाई सुस्वादु र मिठासपूर्ण बनाएको देखिन्छ । नेपाली लोकबोलीमा प्रचलित रहेका उखान र टुक्काको सार्थक प्रयोगले हास्य सिर्जना मात्र नगरी व्यङ्ग्यलाई उत्तिकै प्रभावकारी पार्न मद्धत पु¥याएको छ । निबन्धहरू पढ्दैजाँदा ‘स्वादे जिब्रो अल्छे तिघ्रो’, ‘पहिले बिस्ट्याउने र पनि ढोका देख्ने’, ‘धाकभन्दा धक्कु ठूलो गर्ने बेलामा खुट्टा लुलो’, ‘घोकन्ती विद्या धावन्ती खेती’, ‘आचिको मूला सप्रिएझैँ’, ‘जुन जोगी आयो कानै चिरेका’ जस्ता लोकप्रिय उखानहरू छ्यास्छ्यास्ती भेटिन्छन् । यिनै सब कुराले भट्राईका हास्यव्यङ्ग्य निबन्ध पठनीय बन्न पुगेका छन् ।

केलाउँदै र खेलाउँदै जाने हो भने यस कृतिमा खोटहरू पनि अवश्य भेटिएलान्, यसो गरेको भए अझ राम्रो हुन्थ्यो भन्ने ठाउँहरू पनि देखिएलान् । कतिपयलाई कतै हास्य मात्रै र कतै व्यङ्ग्य मात्रै रहेको महसुस पनि हुन सक्ला । सैद्धान्तिक कसीमा घोटेर जाँचपरख गर्ने गहन जिम्मेवारी पूरा गर्नका लागि दिग्गज समालोचक–विवेचकहरूको ध्यानाकर्षित गर्दै म त यत्ति भन्छु– नेपाली हास्यव्यङ्ग्यको कित्तामा उहाँको यो कृति एउटा महत्वपूर्ण प्राप्तिका रूपमा दरिने छ । राजधानी नै नेपाल हो र प्रतिभाहरू यतै मात्र छन् भन्ने सोच बोकेकाहरूलाई पोखरामै रहेर यति मीठो चुनौती दिनुभएकामा भट्टराईलाई म खित्कौलीपूर्ण बधाइ दिन्छु र कलमलाई थकाइ मार्न नदिन पनि म विशेष आग्रह गर्दछु ।

कलङ्की, काठमाडौँ