बुढी तीर्थयात्रामा गइन् । यसपालीको उनको यात्रा अलि लामै भयो । घरमा म बुढो एक्लै । अब एक्लै भए पनि जीउन त खानु अनि पिउनु पनि परिहाल्यो । खानलाई पकाउनु प¥यो । पकाउनलाई इन्धनको आवश्यकता । इन्धन बेपत्ता । उताबाट आएको आएकै छ भन्ने खबर आउँछ यता बजारमा सून्य । कता जाँदो हो तेत्तिका इन्धन ? देशको आपूर्ति व्यवस्था त खत्तमै रहेछ नि । नाकाबन्दीको समयमा बुढीले जसोतसो माटोको एउटा चुल्हो बनाएकी थिइन् । दाउराको जोहो गरेर भए नि पकाएर खाइँदैथ्यो । भाँडा जतिनै कालो भए पनि जाँगर लगाएर बुढीले मल्थिन् । टिलिक्क टल्किन्थ्यो । दाउरामा पकाएको मिठो खानामा मज्जाले पल्किएको थियो ।

बुढी यात्रामा हिँडेपछि पकाउने पनि आफै खाने पनि आफै अनि कालो भाँडा टल्काउने पनि आफै । एकदिन पकाइयो । एकदिन भाँडा टल्काइयो । दोस्रो दिनदेखि यो खानपर्ने व्यवस्था हटे पनि हुन्थ्यो जस्तो लाग्न थाल्यो । पकाउँदा आगो नबल्दा फुउउउउउउ फुउउउउउ गर्दा गर्दा धोक्रो सुक्ने । बल्लबल्ल पकाएर एक्लै पस्कियो खायो । बुढी हुँदा खाको जस्तो मिठो नै नहुने । फेरि भाँडा हे¥यो कालो अफ्रिकन जस्तो । मस्कौटोले मल्दामल्दा पनि टल्किने हैन । हात हे¥यो आफैलाई लाज लाग्ने । अफिसमा साथी भाइसँग हात मिलाउन पनि लाजमर्नु । के हो हात त भाउजूले भाँडा मलाउन लगाए जस्तो छ नि भन्छन् । हो नि यार भन्यो हललल् हाँस्यो टा¥यो ।

एकदिन बुढीले गयाबाट फोन गरिन् “के छ बुढो, सन्चै छ ? खाना त पकाएर खाँदै होलाऊ नि ? सबै ठिकै त होला नि हैन ? आई लभ यु बुढो ।” मलाई आई लभ यु भनेको सुनेर उसका वरिपरि भएका साथीहरू हलल्ल हाँसेको फोनमा स्पष्ट सुनियो । मलाई झन बढी लाज लाग्यो । मैले बुढीलाई जतिनै मायाँ गरे पनि अहिलेसम्म त्यसरी आई लभ यु बुढी भन्या थिएन । कता कता कुरीकुरी लाग्यो । हत्पत् ल ल भो भो फोन राख भनेँ । ‘ल है राम्ररी पकाई बनाई खानू, आफ्नो ख्याल राख्नू’ भनेर फोन राखिन् । त्यसै बेला देखी मेरो मनमा कुरा खेल्न थाल्यो बुढीले किन मस्का लगाइन् भनेर ।

एक दिन दाल पकाउन भनेर प्रेसर कुकरमा दाल ठिक पारेर पकाएको निस्किँदा कोइला निस्कियो । डडेको प्रेसर कुकर माँझ्दा मेरो पसिना निस्कियो । हे भगवान के दशा यस्तो ? ग्याँस पाए पनि त अलि सजिलो हुनेथ्यो कि । डिलरलाई सम्पर्क गर्दा खालि सिलिण्डर सहित लाईन लाग्नु पर्छ अनि कुपन पाइन्छ, कुपन पाएको झण्डै महिना दिनमा ग्याँस पाइन्छ भन्छ । आफ्नो लाईनमा बस्ने कोही भए पो बस्नु । बाईकमा पेट्रोल सकिएर एकदिन महालक्ष्मी पेट्रोलपम्प सामाखुसीमा बिहान १० बजेदेखि लाईनमा बसेको अपरान्ह ४ः४५ मा बल्ल तेल हाल्न पाइयो । खानसम्मको गोता खाइयो । दिनभर सु सु गर्न नपाएर झण्डै बिजोक नै भएको बल्लबल्ल पेट्रोलपम्पभित्र टोइलेट भएको थाहा पाएर सु सु गर्नसम्म पाइयो ।

बाबा कति गाह्रो प¥यो दैनिकी चलाउन । कति साह्रो प¥यो घर चलाउन र अफिस भ्याउन । धन्न बुढी तिमीले धान्या रहिछौ घर । त्यसमा अलिकति त थियो मेरो भर । अहिले त यता नि आफै उता नि आफै । बल्ल पो बुझेँ त मैले बुढीले गयाबाट किन आई लभ यु बुढा भनिन् भनेर त्यसका बाजे । कम्तिमा हप्तामा एकपल्ट त बुढीलाई आई लभ यु बुढी भन्नैपर्ने रहेछ । यतैबाट भन्छु आई लभ यु बुढी ।

काठमाडौं