सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सुत्ने बेलामा रिन, खाने बेलामा घिन

Nepal Telecom ad

बेकामे नेपालीहरूलाई दिनभरि कामले फुर्सद हुँदैन । ननिदाउन्जेलमात्र फुर्सद हुन्छ । त्यसै बेला साहुको रिनले पोल्न थाल्छ । एकातिर पेटभरि सफा सुग्घर मिस्कटरहित शुद्ध खाने कुरा खान नपाएर कुपोषणले सताउँछ भने अर्काेतर्फ रिनको सम्झनाले निदाउन पनि सकिँदैन । उहिले नेपाल सुहाउँदो उखान हो यो सुत्ने बेलामा रिन खाने बेलामा घिन, तर आज उखान सुहाउदो नेपाल भएको छ । घिन मानेर खुराक खानाले शरीरमा लाग्न पाउँदैन र रिनको चिन्ता गरेर सुत्नाले निदाउन सकिदैन । हुनत आज जोडदार विकास भएको छ । साहुको रिनले निद्रा नलागे पकेट मारेर चुक्ता गरे भयो, ठगे भयो, लुटे भयो, यी कुनै उपाय अपनाउन नसके निद्रा लाग्ने औषधि सेवन गरेर पनि निदाउन सकिन्छ ।

राष्ट्रसेवक सांसद कर्मचारीहरूले विभिन्न बाहनामा खानेले महिनाको हजारौँ हजार खान्छन् । जनताहरू शर्माउने गरी घूस खान्छन् तर ‘हग्नेलाई भन्दा देख्नेलाई लाज !’ भनेझै खाने राष्ट्रसेवकहरू पटक्कै घिनाउँदैनन् । यसरी नघिनाई खाए पछि शरीर आचीको मूला सप्रेझैं सप्रिन्छ । यिनको निम्ति शरीर सप्रिनु नै देश सप्रिनु हो । राष्ट्रलाई सन्चो नभए यिनको हड्डी हाँस्छ । शरीर सप्रेन भने यी सोझै नेपालको विकास दुब्लाएझैँ दुब्लाउँछन् ।

हाम्रो देश औधी धनी छ । बैधानिक रूपले कर्मचारीको तलब बढाउनु हपराध ठानिन्छ तर अवैध रूपले करोडौं घूस खान दिनु नेपाल सरकारको नियति हो । राहतका नाममा जनतालाई आहत पार्नु सरकारको बन्द शेसनको बन्दोबस्त हो । धनी हुनु कसैको कर पनि छैन र जनताको रहर पनि हैन । तर नेपाललाई काकताली परेरै छोड्यो । दैवसंयोग नेपाल सरकारले धनी–धनी राष्ट्रको पयर समाएर सर्वत्र शयर गर्न पाएको छ । त्यसैले यहाँ विदेशमा पाइने हर कुरा उपलब्ध छ । सम्पन्नशाली देशले अनेकानेक मानवीय उपयोगका सामग्रीहरू दात्री राष्ट्रबाट आयात गर्छ । आयात नगरे निरीह जनताहरू अलपत्रमा पर्छन् । भोकभोकै ठहरै मर्छन् । त्यसैले देशलाई रिन लागेको छ र बिचरा रिन पनि किन नलागोस् ? परिवार नियोजनका साधनदेखि नेपाली भजन कीर्तनसमेत विदेशबाट झिकाउनु पर्छ । नाली, कुलेसा, कुलो बनाए पनि राष्ट्रकै थाप्लामा, पुल, बाटो, साँघु बनाए पनि राष्ट्रै अगि सर्नुपर्छ । साइकल, सनाइ, सलाई, रिक्सा, रेडियो, बस, जहाज, हेलिकप्टर, हिटर, बिजुलीको मिटर, सबै राष्ट्रले नै उपलव्ध गराइदिनुपर्छ । दुलहीलाई चाहिने सिंदूर, पोते, लेखकलाई चाहिने कापी, मसी, कलम, विरामीलाई चाहिने मलम आदि मानवीय आधारभूत साधनदेखि विलासिताका साधन पनि छिमेकी मुलुकबाट झिकाउनु पर्छ भने राष्ट्रलाई रिन नलागेर के दीन लाग्छ त ?

त्यसैले पाठकबृन्द रिन जतिसुकै थोपरिए पनि मैले जस्तो देशभक्त बनेर सुत्ने बेलामा नसम्झिनु होला । हामीलाई रिनले मात्र पेलेको भए पनि त्यति टाउको दुख्ने थिएन । तर यहाँ त ठूलो अनर्थ भइराखेको छ । देशमा विभिन्न बाहानामा पर्यटकहरू हाम्रो कन्तविजोक हेर्न आउँछन् । घिनाउँछन् कुरा काट्छन, छिनाउँछन् र विदेश लगेर चिनाउँछन् । अन्ततः सधैँ छिः छिः दूरदूर गर्ने, थर्काउने, थुक्ने, हकार्ने, डकार्ने मैलो शरीर नुहाउने, लुगा धुवाउने, कट्टुदेखि लिएर रुमालसमेत धोएर फोहोर गर्ने गरेको दिन दहाडै देखेको छु । अझ यिनले खाएको अन्न पानी कसरी निकाल्छन् ? कहाँ फ्याँक्छन् ? जल, झोल, मदिराको निकासा कुन हिसाबले गरेका छन् ? कता जमेको छ, कता थुप्रेको छ भन्दा एउटै उत्तर आउँछ नेपालमा । अरू राष्ट्रमा पर्यटकहरू जान्थे भने त्यहाँ पनि अवश्य फोहोर हुने थियो तर पर्यटक नेपालमा कपाल दुखाउन आउछन् । छिमेकीको फोहोर मैला र आफ्नो फोहोरमैलाको गोदाममा निष्काम हामी विराजमान छौं । घना शहरवासीहरूले गन्ध मात्र होइन दुर्गन्धै पचाइसके क्यार ? बाँकी नेपालीहरू ज्यादै घिनाएका छन् । कुपोषणले ज्यान छिनाएका छन् । हुन त रिन र घिन पाठक वृन्दको प्राण रहुन्जेल रहने हुनाले कृपया सुत्ने बेलामा रिन र खाने बेलामा घिन नसम्झिनु भए देशको र शेष जिन्दगीको कल्याण हुनेछ ।

काँधैभरि रिन र मस्तिष्कभरि घिन भएपछि यमानका भुँडे सांसदहरू दुब्लाउन सक्छन् । चिन्ताले चितामा पु¥याउँछ । यस्तो भयो भने बंगुरको पनि कंकालमात्र शेष रहन्छ । तर हाम्रा सांसदको रिन र घिन नै पोषक तŒव हो । रिन र घिनबाट नेपालका राजनीतिज्ञहरूले अथाह, अक्षय, ऊर्जा समेटेका पुर्जाहरू पत्रपत्रिकामा देख्न पढ्न पाइन्छ । नेताको कारण नेपालीको भाग्य बदलिन बेर छैन । यो नेपालीको सौभाग्यको कुरा हो । चाहेर पनि जो कसैले प्राप्त गर्न सक्दैनन् । विश्वमा रिन र घिनको लालच नेपालबाहेक अन्यत्र सर्वसुलभ छैन । प्राथमिकता र अवसर नेपालीले मात्र पाएको हुनाले सुत्ने बेलामा रिन र खाने बेलामा घिनको कारण किन सित्तैमा चिन्ता र चिताको शरण पर्ने ?

रिन र घिनको कारण उत्पादन भएको शक्तिशाली विद्युत् (रिस) ले हरप्राणीलाई ज्यादै जर्जर अवस्थामा पु¥याउँछ । थरथर कमाउँछ । नाजुक अवस्थामा पुगेपछि कसैसँग झुक्नु पर्ने खाँचो ठानिँदैन फलतः ठा–ठाडै कुस्ता कुस्ती पर्न सक्छ । त्यसैले हुनेले रिन दिनु पनि बेकार, नहुनेले रिन लिनु पनि धिक्कार । जसले सुत्ने बेलामा साहू, रिनी दुवैलाई चिन्तित तुल्याउँछ । देश गरीब भए पछि बाँचुन्जेल हामी पो किन धनी हुनु प¥या छ र ? आफ्नो बेतनले खाम्न सक्ने ढिडो, रोटो, मीठो–नमीठो, खस्रो–मसिनु, खैला–मैला, खाद्य–कुखाद्य, पकाऊँ र खाने बेलामा आँखा चिम्लिएर घिन नमानी खाने गरौं । यसो गर्दा डाक्टरको आवश्यकता र रिन खोज्नु पर्दैन ।

वास्तवमा नेपाल पो दुर्गन्धमय छ त । यहाँका नेता, सांसदहरू त सुगन्धमय नै छन्, नी नेपाल पो गरीब छ, नेपालीहरू कहाँ गरीब छन् र ? बरू यिनले आफ्नो जीवित देहलाई घूस खाएर सडाएका छन्, बढाएका छन् । त्यस्तो दुर्गन्धबाट मुक्तार्थ अत्तर लिन विभिन्न बाहनामा विदेश जान्छन् । राष्ट्रिय पोशाकमा विदेशी अत्तर सिंचन गरेपछि नेपाली जनताको बृहत्तर हितका कुरा त्यसै फुर्छन । तर भोलिका दिनमा पर्यटकको आगमनमा प्रमुख पर्यटक शहर÷बजारमा हेलिकप्टरद्वारा अत्तरको फोहोरा फ्याँकेर भए पनि नगरको दुर्गन्धलाई सखाप, सत्यानास र स्वाहा पार्ने क्षमता नेपालसँग मौजुदा छ । त्यसैले रिन र घिनको चिन्ता लिनु बेकार छ र अन्य समयमा रिन र घिनको झझल्कोले सताए पनि खाने र सुत्ने बेलामा विशेष सतर्क भए सारा समस्याबाट स्वतः पार पाउन सकिन्छ । नेपाली वीरहरूले विश्वमा कुनै न कुनै नामले कीर्ति फैलाएका छन् । अरू राष्ट्रको तुलनामा अत्यधिक रिनको भार बोक्न सक्ने भएर पनि नेपालले आफ्नो इज्जत प्रतिष्ठालाई उच्चासनमा आसीन गराएको छ । यसैमा हामी नतमस्तक भएर गर्व गर्छौँ ।

नेपालका पालुवा पशुलाई रिनको कुनै प्रवाह छैन । तर प्रत्येक मानवलाई रिन र घिनको चिन्ता छ । पाठेघरबाट निस्किएका प्रत्येक जीवित शिशुहरू रिनको त्राहि त्राहिले जन्मनासाथ च्याँहार च्याँहार गरेर कहालिने गर्छन् । तपाइँ पनि कहालिनु भएको थियो र म पनि कहालिएको छु । तर अबोध डाक्टर, नर्सहरू भन्ने गर्छन् शिशुले घोक्रो खोलेको । के को घोक्रो खोल्नु । शिशु जति ठूलो हुँदै जान्छन् उति नै रिन र घिनमा स्वास प्रस्वास गर्न खप्पिस हुन्छन् अतः रिन र घिन पचाउन थाल्छन् । बानी पर्छन् र रुन छोड्छन् । कालान्तरमा प्रलयकारी नेता, सांसद र साहित्यकार भएपछि आ–आफ्ना किलामा गएर डुक्रिन्छन् । पार्टीगत हिसाबले टुक्रिन्छन् । यो नेपालीको विशेष विशेषता हो ।

बँचाइको अन्तिम उमेरमा पनि मान्छेलाई रिनले छोड्दैन । नयाँ गर्भ बसे पनि रिनमै बस्छ पुरानो गर्भ रहेको भए पनि जन्मिदाको दिन देखि नेपाली नागरिक हो भनि खातामा नाम दर्ता गर्छन् । मानौ कपाली तमसुक गरेका । जति लामो डोरीबाटे पनि गाँठो एउटै हो । बलीको बोको भएर राष्ट्रको रिन स्वीकार्नु पर्छ । मँहगो दाल, चामल, पिठो, बिजुली, पानी दूध, दही, चिया, बिस्कुट, मदिरा, माछा, मासु, गलैचा कार्पेट, बेबी फूडदेखि लिएर हेवी फूड लगायत गाजर, गाजल, मादल, आदिको करको दरबाट अप्रत्यक्ष रूपमा गरीब धनी सबैले होस्टेमा हैंसे गरेर राष्ट्रको रिन तिरिराखेका हुन्छौं । तर कहिल्यै चुक्ता हुँदैन । झन् झन् दिन प्रतिदिन आफ्नो तौल बढ्दै गएझैं रिन पनि बढ्दै जान्छ । हामी मरे हाम्रा छोराछोरीले तिर्छन् । छोराछोरीको शेष पछि नाति–नातिनाले निसासिदै तिर्छन् । यो जगत रहुन्जेल रिन रहन्छ । त्यसैले रिन र घिनको प्रवाह नगरी अघि बढ्नु । रिन गरेर ल्याएको खाद्य अखाद्य जेजस्तो भए पनि खाने बेलामा घिन नमानी सपासप खानु र कुम्भकर्णे शैलीमा घुर्रघुर्र घुर्दै सजिलै सुत्न सके सुस्वास्थ्यका साथै सुमार्गमा हेलिने सम्भावना प्रबल हुनुका अतिरिक्त ‘सुत्ने बेलामा रिन र खाने बेलामा घिन’ उखानले पनि सार्थकता पाउने थियो ।

‘जातले पकाएको भात’ सङ्ग्रहबाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म्वाई महात्म्य

म्वाई महात्म्य

शेषराज भट्टराई
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
साँढे स्वास्नी

साँढे स्वास्नी

शेषराज भट्टराई
किन चाउरिस् मरीच ? आफ्नै रागले !

किन चाउरिस् मरीच ?...

शेषराज भट्टराई
घाँटी 

घाँटी 

शेषराज भट्टराई