सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कविता लेखन प्रतियोगिता सम्पन्न

Nepal Telecom ad

ललितपुर, फागुन १६ । तरङ्ग चौतारी र एन प्याब्सन ललितपुरको संयुक्त आयोजनामा काठमाडौं उपत्याकाव्यापी माद्यमिक विद्यालय स्तरीय कविता लेखन प्रतियोगिता सम्पन्न भयो । विभिन्न विद्यालयका ३८ छात्रछात्राको सहभागिता रहेको प्रतियोगितामा पाँच उत्कृष्ट कविता छनोट गरी प्रत्येकलाई नगद रु ५ हजार, प्रमाणपत्र, मेडल र पुस्तकहरू प्रदान गरिएको थियो ।

ललितपुरका सहायक जिल्ला शिक्षा अधिकारी गोकर्णध्वज कार्कीद्वारा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा तरङ्ग चौतारीका तर्फबाट सुस्मिता नेपाल, एन प्याब्सनका तर्फबाट प्रल्हाद दाहाल र ऋतुराज शर्माले शुभकामना मन्तव्य दिनुभएको थियो ।

उद्घाटन सत्रपछि प्रतियोगी छात्रछात्रालाई भुकम्प सम्बन्धी विषय दिई स्थलगत कविता–लेखन गराइएको थियो । निर्धारित समयमा लेखिएका कविताहरू सङ्कलन गरी कोड नं.का आधारमा मूल्याङ्कन कर्तालाई हस्तान्तरण गरियो । कार्यक्रमको दोस्रो सत्रमा वरिष्ठ कवि मञ्जुल, छन्दशिल्पी भुवनहरि सिग्देल, प्राज्ञ नरनाथ लुइँटेल, कवि सुदेश सत्याल लगायतका स्रष्टाहरूले आआफ्ना सिर्जना प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको आयोजनास्थल ललितपुरको आदर्श विद्या सदनका छात्रछात्राले प्रसतुत गरेको नृत्य र मञ्जुलको गीति प्रस्तुति विशेष रोचक रहेको थियो ।

उत्कृष्ट पाँच कविताको कोड नं. का आधारमा कविता मूल्याङ्कन समितिका तर्फबाट प्राज्ञ नरनाथ लुइँटेलले परिणाम घोषणा गर्नु भएपछि क्रमैसँग छनोटमा परेका कविता वाचन गरियो । मूल्याङ्कन समितिमा प्राज्ञ लुइँटेल, तरङ्ग चौतारीका तर्फबाट रजनी ढकाल र कवि भुवनहरि सिग्देल रहनु भएको थियो ।

प्रतियोगितामा रेहान खान (सेन्ट जर्ज इन्टरनेसनल स्कुल, विशालनगर), आयुश पौडेल (गोल्डेन गार्डेन स्कुल, सुकेधारा), कुशुम अधिकारी (धापाखेल इङ्लिस सेकेण्डरी स्कुल), सोनी पोखरेल (सेन्ट जर्ज इन्टरनेसनल स्कुल, विशालनगर) र एलिसा अधिकारी (भिमेश्वर एकेडेमी, काँडाघारी) का कविता उत्कृष्ट पाँचमा छनोट भएका छन् ।

प्रतियोगितामा उत्कृष्ट घोषित छात्रछात्रालाई एन प्याव्सनका अध्यक्ष कर्णबहादुर शाहीद्वारा नगद पुरस्कार, मेडल, एन प्याव्सन ललितपुरका अध्यक्षद्वारा प्रमाणपत्र र प्राज्ञ नरनाथ लुइँटेलद्वारा पुस्तकहरू प्रदान गरी सम्मान गरिएको थियो । सहभागी सबै छात्रछात्रालाई प्रमाणपत्र दिइएको थियो ।

प्रतियोगितामा उत्कृष्ट यी पाँच कविताहरू निकट भविष्यमा प्रकाशित हुन लागेको तरङ्ग चौतारी ग्रन्थमा समावेश गरिने जानकारी रजनी ढकालले दिनु भयो । कार्यक्रम एन प्याब्सनका राजेश महर्जनको अध्यक्षतामा भएको थियो भने आयोजनाको समग्र संयोजन प्रताप थापाले गर्नु भएको थियो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad