सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लेखान्त

Nepal Telecom ad

म सानु छु, आमाको काखमै हराउने चेहेडाको । आँखा पनि चार दिनका चिबे चराका बचेराझैँ चिप्रा लाग्या छन् । अनुहारमा कत्ला र टाउकोमा दुईचारओटा केश कताकता छन् । धुजाधुजा भएको गन्धे गुन्युका थाङ्नामा बेरिएको छु । बोली छैन । आमाका अगाडि टपरीमा एक माना चामलमा बत्ती बालेको छ । म टुलुटुलु हेरेर आमासँग अव्यक्त प्रश्न गर्छु । “यो के गर्न लाग्या आमा ?” आमाको मुखाकृतिबाट उत्तर आउँछ– आज तेरो छैटी हो, भावी आउँछन् भाग्य लेख्न ।

आमाले अलिपर अर्को केटो देखाउँदै भनिन् । ऊ त्यो केटाको पनि भाग्य लेख्ने दिन आजै हो । भावी आएर भाग्य लेख्नेछन् र आजै लेखेजस्तो जीवनभर हुनेछ । त्यसपछि त्यो केटालाई नियालेर हेरेँ । घुमाउने थालमाथि एक पाथी सगबग गर्ने चामल । चामलमाथि झलमल्ल बल्या बत्ती । उसकी आमाको उस्तै फुर्तीफार्ती । केटो काखभरिको घुतुमुन्ने । सुकिला बिस्तारामा सुकला गराएको । देख्दै रहर लाग्दो, रहर पुगुन्जेल हेरिरहुँ जस्तो । एकोहोरो म हेरिरहेको थिएँ । हेर्दाहेर्दै एकै छिनपछि भाग्य लेख्ने भावी आए । मतिर यस्सो हेर्दै नाक थुन्दै, निधार खुम्च्याउँदै भावी सटासट उतै लागे ।

म फेरि सोच्न थालेँ । आफू यस्तो मरन्च्याँसे ज्याम्तो छु । मेरी आमाले सुत्केरीमा समेत खान नपाएर पेटमा पटुका टन्काएकी छन् । पोतोले अनुहार ढाकेर बादलको सोतोझंै बनाएको छ । न कुनै रौनक छ, न कुनै जोसजाँगर छ । उनका खुट्टी हेर्दा रुखा ठाउँका निगालोका सिटाझैँ साना छन् । म हुरुक्क हुरुक्क हुँदै रुँदै छु । आमा बेलाबेला ‘मर् मर् ! तेरा बाउलाई कोइलाखादमा छोइला खाँदै ठिक्क छ’ भन्दै मलिन बोली निकाल्दै छिन् ।

उता भने जान्ने विद्यार्थीले जाँच दिएझैँ भावी त्यो केटाको भाग्य लैख्दै छ । कहिले गम्दै, कहिले गन्दै, कहिले छाँटकाँट गर्दै र दोहो¥याउँदै तीन घन्टामै उसको लेखान्त समाप्त भयो । एकपछि अर्को गर्दै उसका आफन्त, बाबुआमा, हजुरबा, हजुरआमा, मामामाइजु, काकाकाकी, एताका, उताका, नाताका, जातका, थरीथरी र परीपरीका आए र भावीलाई टीका लगाउँदै दक्षिणा दिन थाले । भावीले भाग्य बलियो लेखेकोमा सबैले भावीलाई धन्यवाद दिए । त्यहाँ सबैसबै हाँसीखुसी थिए । म पनि त्यो देखेर हाँस्नै लाग्या थेँ, तर मेरो चाउरी प¥या गालाको छालासम्म चल्मलाएन । यस्सो आमाका अनुहारमा आँखा पार्दा उनी पनि अलिअलि हाँस्दै रहिछन् । आमाले खुसी हुँदै भनिन्– “देखिस् ! हाम्रा मालिकका छोराको भाग्य कस्तो राम्रो लेखे भावीले ?” आमाले मालिकका छोराको भावीले राम्रो भाग्य लेखेकोमा फुर्ती लाउँदा मात्र थाहा पाएँ । म पनि अघिभन्दा अलि बढी नै रमाएँछु ।

आमाले धिपधिप बलिरहेको बत्तीको बाती उकासिन् ! मलाई अलि सजिलो गरी सुताइन् र हातखुट्टा तन्याकतुनुक पारिन् । एकै छिनमा हामीकहाँ भावीको आगमन भयो । खै हेरौँ त भन्दै भावीले त्यो केटाको भाग्य लेख्या कलम बन्द गरे । अर्को मसी सुक्या ट्याक्राे निकालेर मसी टक्टक्याए । आमाले अन्यौलमै “लेखेन भावीज्यू” मात्र के भन्याथिन् । भावीले “लेख्छ, लेख्छ तिमीहरू जस्ताको भाग्य लेख्ने नै यही हो ।” फुल्टिङ बटार्दै मसी छर्कदै भावीले केरकार पारेर नबुझिने भए पनि पन्ध्र प्रतिशत भाग्य लेख्याथे । भावीका मोबाइलमा फोन आयो । फोनमा राम्रो गाँठ आउने छाँट देखेर होला बरा ! निक्कै झ्वाँक देखाए । झ्वाँकिदै मेरो भाग्य लेख्या खप्परको पातो कच्याककुचुक पारेर मैतिर फ्याँकिदिए । त्यो पाताले मेरो टाउकोमा टुटुल्को उठ्ने गरी टक्करी लाग्यो । म च्याँठिएर चिच्याएँछु । के भयो ए च्यान्टे भन्दै आमाले एक चड्कन हानेकी थिइन् म झल्याँस्सै भएँ ।

हाल : काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
हेल्मेट जात्रा

हेल्मेट जात्रा

हरिकला उप्रेती