नेपाली कांग्रेस पार्टीको तेह्रौं महाधिवेशन रमाइलो चरणमा प्रवेश गरेको छ । अब सभापति, महामन्त्री, कोषाध्यक्ष आदिका पदेन प्रतिस्पर्धा हुनेछ । यसका निम्ति एकसेएक कांग्रेसीजन फुर्तीका साथ अघि बढेका छन् ।

एकातिर स्वर्गीय बीपी कोइरालाका कनिष्ठ पुत्र सशांक कोइराला महामन्त्री पदको सशक्त दाबेदार छन् भने अर्कोतिर स्वर्गीय गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह भने प्रकाशमा देखिएका छैनन् । यसको गाँठी कारण के हो भने उनी रंगमञ्चको नेपथ्यबाटै ‘वेटिङ उपसभापति’को रूपमा प्रतिक्षित छन् भनी कांग्रेसी मित्रहरू सुनाउने गर्छन् ।

कुन्नि स्वर्गीय गिरिजाप्रसाद कोइरालाका एकमात्र सुपुत्री सुजाता कोइरालाले सभापतिमा लड्ने जोशिलो घोषणा गरेर पनि किन दृश्यपटलबाट अलप हुनुपरेको हो ! यस्तोमा मलाई भने किसुनजी (स्वर्गीय कृष्णप्रसाद भट्टराई) को बलात् स्मरण भइरहेको छ । उनको पनि कुनै एक पुत्र या पुत्री भएको भए यो महाधिवेशनीय कांग्रेसी लडाइँमा अझ क्या खासा रमाइलो थपिने थियो !

यस्तो प्रतीत हुन्छ, नेपालको एक पुरानो पार्टी नेपाली कांग्रेसको मूल विचारधारा अरु केही नभएर परिवारवाद हो । तर खासमा यस्तो होइन । वास्तवमा नेपाली कांग्रेस एक विशुद्ध समाजवादी पार्टी हो । किनभने यस्तो भनिने गरिन्छ ।

यो पहिलेदेखि प्रस्टसँगै भनिँदै आएको पनि हो । बीपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई आदिका समयदेखि । अब यस्तै नै भनिएको छ भने हामीले बढ्ता जान्ने भएर अर्थोक किन सुन्ने ? कम्तीमा मलाई भने नेपाली कांग्रेस एक समाजवादी पार्टी हो भन्ने कुरामा कुनै अविश्वास छैन ।

मेरो यो जब्बर विश्वासको आधार के हो भने नेपाली कांग्रेस समाजवादी पार्टी होइन भने अरु के हो त ? सबै पार्टीसँग एक–एकवटा ‘वाद’ रहेको हुन्छ । जस्तै नेकपा एमालेको ‘माक्र्सवाद’ तथा एनेकपा माओवादीको ‘माओवाद’।

यसमा राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘प्रजातन्त्रवाद’लाई पनि मजैले थप्न सकिन्छ । यस्तै भरपुर चलन रहेको छ । अत नेपाली कांग्रेस पार्टीसँग पनि एकथान आफ्नै वादजस्तो केही अर्थात कांग्रेसी ढाँचाकाँचाको मौलिक समाजवाद हुनुमा के आश्चर्य छ ?

नेपाली कांग्रेस पार्टीको चलायमान तेह्रौं महाधिवेशनमा एक परिचित समाजवादी नेता रामचन्द्र पौडेल सभापतिको उम्मेदवार भएका छन् । उनलाई समाजवादी कांग्रेसी नेता किन भनिएको हो भने पौडेल मौखिक तवरले भए पनि नेपाली कांग्रेस पार्टीमा समाजवादको प्रसङ्ग बेलाबखत ल्याइरहन्छन् ।
अहिले उनलाई आफ्नो समाजवादमा उतिसारो भरोसा नभएको भान हुन्छ । सायद यही कारणले उनले सभापतिमा उठ्दा समाजवादको साटो कांग्रेसको बहुचर्चित वंशवादको न्यानो सहारा लिन खोजेका छन् । अर्थात बीपीपुत्र शशांक कोइरालाको ।

यसो ता स्वर्गीय बीपी कोइरालाको नामले नै नेपाली कांग्रेस पार्टीको सिरिखुरी समाजवादलाई धानिरहेको हो । उनी नै कांग्रेसी समाजवादको एकल ‘ट्रेडमार्क’ रहेकोमा कुनै शंका छैन । तसर्थ बीपीपुत्र शशांकको वंशवाद र पौडेलको मौखिक समाजवादमा त्यति अन्तर नहुन पनि सक्छ ।

यसको अर्काे कारण के पनि हो भने उनको तेह्रौं महाधिवेशनमा हुने सभापति पदमा जोसँग कडा टक्कर हुन गइरहेको छ, ती कांग्रेसी नेता पनि कुनै कम्ता समाजवादी होइनन् । मेरो भनाइको तात्पर्य सभापतिका अर्का बलिष्ठ उम्मेदवार गैरसंस्थापतीय नेता शेरबहादुर देउवासँग हो ।

तनहुँ जिल्लाका समाजवादी रामचन्द्र पौडेल केही फैलावट लिएर राष्ट्रिय समाजवादी हुन् भने उनको सभापतीय प्रतिद्वन्द्वी शेरबहादुर देउवा विलकुलै अन्तर्राष्ट्रिय समाजवादी हुन् । यद्यपि उनलाई नेपालमा एक समाजवादी नेताको रूपमा त्यति गम्भीर प्रकारले लिने गरिँदैन ।

तर राष्ट्रको सिमाना नाघेर देउवा अन्तर्राष्ट्रिय स्तरका समाजवादी नेताको रूपमा स्थापित भइसकेका छन् । यसको सुदृढ प्रमाणका लागि सोसलिष्ट इन्टरनेसनललाई प्रस्तुत गर्न सकिन्छ । यो अन्तर्राष्ट्रिय समाजवादीहरूका सुप्रसिद्ध संगठनमा शेरबहादुर देउवा उपाध्यक्षका रूपमा लामो समयदेखि कार्यरत छन् । अब उनको अन्तर्राष्ट्रिय समाजवादी छविको योभन्दा ठूलो सबुत अरु के हुनसक्छ ?

अन्त्यमा,
राष्ट्रिय–अन्तर्राष्ट्रिय समाजवादको जति बखान गरिए पनि नेपाली कांग्रेस पार्टीको तेह्रौं महाधिवेशनको सतहमा खाँट्टी ‘परिवारवाद’ नै देखापरेको छ । यसको वर्तमान मोडल भएर महामन्त्री पदमा उठेका ज्वाइँ–ससुरा देखापरेका छन् ।

यसले के पनि सावित भएको छ भने परिवारवादका लागि पुत्र–पुत्रीहरू पर्याप्त छैनन् । यसरी तेह्रौं महाधिवेशनमा आएर ससुरा अर्जुननरसिंह केसी र उनका छोरी(ज्वाइँ गगन थापाले कांग्रेसी परिवारवादमा रोचक आयाम थपेकोमा साधुवाद !

कान्तिपुर, फागुन २२, २०७२