‘नेपाल नाम गरेको राज्यमा नगएको धेरै समय बित्यो । स्वामी ! एकपटक त्यहाँको भ्रमण गरेर अवस्था बुझिलिनुस्’, पार्वतीले अनुरोध गरिन् ।
ध्यानमुद्राबाट निस्किएर भोलेनाथले पार्वतीतिर हेर्दै भने, ‘अवश्य, तर संसारभरिमा नेपाल राज्यनै तिमीले सम्झनुको तात्पर्य के होला हिमालयपुत्री ?’
‘हे स्वामी ! एक त त्यस भूमीमा आदिमकालमा तपाईँ र मेरा अनेक किस्साहरू जोडिएको कुरा यहाँलाई विदितै छ । अर्को, त्यहाँका नेपाली मनुष्य तपाईँलाई अत्यन्त श्रदा गर्थे ऊ बेला । त्यसैले आजकाल के छ त्यहाँका मनुष्यहरूको अवस्था ? कुनै विपद, कष्ट आदिमा छन् भने तिनीहरूलाई कल्याण गरि आउनुहोस् प्रभु !’, पावर्तीले शंकर भगवान समक्ष आदरपूण अनुरोध बिसाइन् ।
‘कुन दिन प्रस्थान गरौं त हे प्रिय म नेपाल भूमितिर ?’ भोलेनाथ प्रश्न गर्छन् ।
‘स्वामी तपाईँ आजै त्यसभूमितर्फ प्रस्थान गर्नुभए हुन्छ । त्यहाँ भएका तपाईका हजारौं भक्तहरूसँगको वास्तविक साक्षात्कार गरेर अवस्था बुझिआउनुहोस्’, पार्वतीले भनिन् ।

यो वार्तालाप सुनिरहेका भोलेनाथका वाहन नन्दीले यही बेला विन्ति बिसाए, ‘हे महादेव, मलाई पनि नेपाल नाम गरेको देशमा जान अत्यन्त मन छ । मिल्छ भने मलाई साथमा लैजानुहोस् । तपाईलाई मैले बोकेर नेपाल पुर्याउँछु भगवान ।
‘हे नन्दी, तिम्रो नेपाल जाने त्यति व्यग्र इच्छा छ भने अवश्य मसँग हिँड ।’
त्यसपछि भगवान शिव मनुष्यहरूको भेष बदलेर नन्दिमाथि चढ्छन् । आकाशमार्गबाट शिवजीलाई लिएर खुसी हुँदै नन्दी नेपाल राज्यतिर प्रस्थान गर्छन् ।
उनी जब आकाशमा शैर गर्दै नेपालको राजधानी काठमाडौंको नजिक आइपुग्छन् तब भोलेनाथलाई अस्वस्थ भएझै हुन्छ । त्यति नै बेला पवनदेव प्रकट हुन्छन् र भन्छन्, ‘प्रणाम प्रभु !’
‘प्रणाम पवन देव,के हुँदैछ मलाई ? म जब नेपाल राज्यको राजधानीको आकाशमा प्रवेश गरें, अस्वस्थ कसरी हुन पुगेँ ?’ भोलेनाथ पवनदेवसँग प्रश्न गर्छन् ।
‘प्रभु ! यसको कारण म हुँ !’
‘कसरी ? विस्तार गर्नुस् देव ।’
‘म दुषित भएको छु प्रभु । र तपाईले दुषित वायुलाई श्वासमार्फत भित्र लिँदा तपाई अस्वस्थ हुनुभएको हो प्रभु ।’
‘ए कुरा त्यस्तो पो हो । तपाई कसरी यस्तो दुषित हुनुभयो वायुदेव ?’
‘प्रभु यो सवै मनुष्यहरूको कारण भएको हो । कुनै वेला भानुभक्त भन्ने एक कविले भनेको यो अल्कापुरी नगरि अब त्यस्तो सुन्दर र स्वच्छ रहेन प्रभु ।’
‘कसरी त्यस्तो परिवर्तन भयो पवनदेव ? यहाँका नेपाली मनुष्यहरू त वडो मेहनती र अनुशासित थिए त ।’
‘जमाना धेरै बदलियो प्रभु । यहाँका भएका सुन्दर वृक्षहरू मानिसहरूले नै मासिरहेका छन् । यहीँका मानिसहरूले प्रयोग गर्ने सवारी साधनहरूले यति दुषित वायु उत्पादन गर्छन् कि प्रभु त्यसले म सदा पीडित छु । अझ प्रभु, अनेक कल कारखानाहरूले उस्तै दुर्गन्धित वायु छर्छन् यो वायुमण्डलमा जसले समस्या झन् विकराल बनाएका छन् ।’
‘यति दुष्ट भइसकेछन् यहाँका मनुष्यहरू ।’
‘हो नि प्रभु । यस्तै छ यो भूमि । आधुनिक अनेक यन्त्र आदिको प्रयोग त गर्छन् प्रभु मानिसहरू, तर त्यसले निम्त्याउने प्रदुषणको बारेमा खासै सोच्दैनन् प्रभु । कहिलेकाहीँ यो समस्याको बारेमा कुरा गरिहाले पनि त्यो कुरैमा मात्र सीमित हुन्छ यिनीहरूको । जिम्मेवार छैनन् प्रभु मानिसहरू ।’
‘ठीकै छ पवनदेव म सयौं वर्षपछि यो भूमिमा आएको छु । पावर्तीले यहाँका मानिसहरूको अवस्था बुझेर आउन अनुरोध गरेका कारण म यस भूमिमा नटेकी फर्कन कदाचित मिलेन । म अब तल झर्छु र केही समय बिताएर फर्कन्छु ।’
‘हुन्छ भोलेनाथ । तर सतर्क रहनुहोला मनुष्यहरूको यो भूमिमा ।’

त्यसपछि भोलनाथ सुरुमा कहाँ झरौं भन्ने सोचमा पर्छन् । मेरो सवैभन्दा भक्तिगान हुने देवस्थल भनेको पशुपतिनाथ मन्दिर हो त्यसैले म यही ठाउँमा जान्छु भनेर उनी पशुपतिनाथ मन्दिरको परिसरभित्र झर्छन् । उनी त्यहाँ पुग्दा केही थाकेका हुन्छन् र तिर्खा लाग्छ । छेउमै रहेको वागमति नदीको जल पिउने भनी जब उनी नदीको नजिक जान्छन् तब त्यहाँ भएको दुषित जल देखेर छक्क पर्छन् । तत्क्षणमै वागमती देवी प्रकट हुन्छिन् र भन्छिन्–
‘प्रणाम् भोलेनाथ ।’
‘प्रणाम् देवी ।’
‘प्रभु तपाई मेरो जल ग्रहण नगर्नुहोस्, मानिसहरूले मलाई अत्यन्त फोहोर गरेका छन् त्यसैले म पिउनयोग्य छैन प्रभु ।’
‘ए अवस्था त्यस्तो छ देवी । कति दुष्ट भएछन् त मनुष्यहरू ।’
‘हो प्रभु, वागमती सफा अभियान भनेर केही सुधार त अवश्य भएको हो प्रभु तर पूर्ण रुपमा म स्वच्छ भइसकेकी छैन । त्यसैले यहाँले मेरो जल ग्रहण नगरी अन्यत्रैको जल लिनुहोला ।’
‘हुन्छ देवी ।’

उनी पशुपतिनाथ परिसरका विभिन्न मूर्तिआदिहरूको अवलोकन गर्छु भनेर नन्दीलाई त्यहीँ आराम गर्न आज्ञा गर्छन् । नन्दी साँढे पनि त्यति टाढाबाट आएको हुनाले थाकेकाले एकछिन् आराम गर्न भनी त्यही पाशुपत क्षेत्रको एउटा कुनामा बस्छन् ।
तिर्खाएका शिवजी पाशुपत क्षेत्रका विभन्न स्थलहरू अवलोकन गर्न लाग्छन् । केही भक्तहरू त्यहाँ भएका अनेक मूर्तिहरूको दर्शन गर्दै विभिन्न मनोकामना पूरा गर्न भनी वर माग्दै गरेको देख्छन् । यसै क्रममा घुम्दैजाँदा केही समयपछि उनी एक दृश्य देख्छन् ।
एकजना पैतिस चालिस वर्षको व्यक्ति आफ्नो मोटरसाइकलमा पछाडि एकजना वृद्धलाई लिएर आउँछ अनि पशुपति क्षेत्रको एक कुटीभित्र लैजान्छ । ती वृद्धलाई त्यही छोडेर ऊ निस्कन्छ । त्यस कुटीको रेखदेख गर्नेसँग कुरा बुझ्दा शिवजीले थाहा पाउँछन् कि, त्यो कुटी वृद्धाश्रम हो । त्यस व्यक्तिसँग पानी मागेर आफ्नो प्यास पनि मेटाउँछन् ।
कुरा बुझ्दै जाँदा त्यो व्यक्तिले आफ्नो काम गर्ने समयमा आमालाई हेर्न नभ्याउने भएकाले त्यो कुटीमा छोडेर जाँदो रहेछ । महिनाको एकदिन लिन आउँदो रहेछ र अर्को दिन त्यही वृद्धाश्रममा छोडेर जानेरहेछ ।
‘जन्म दिने आमालाई हेर्न नभ्याउने कस्तो मुर्ख मनुष्य रहेछ !’ शिवजी चिन्तित हुन्छन् । कस्तो काम गर्दो रहेछ भनेर उनले आँखा चिम्लेर दिव्यदृष्टिले हेर्दा त ऊ मस्त एक डिस्को वारमा केही तरुनीहरूसँग नाच्दै गरेको ।
‘हाय कलियुग !’ शिवजी निराश हुन्छन् ।
‘आदिम कालमा आफ्ना दुवै आँखा नदेख्ने माता पितालाई बोकेर संसार डुलाउने श्रवणकुमार तिमीलाई कोटी कोटी प्रणाम् ।’ शिवजी श्रवणकुमारलाई सम्झेर नतमस्तक हुन्छन् ।

त्यसपछि उनी पशुपति क्षेत्रबाट अन्य स्थानको पनि भ्रमण गर्न भनि त्यहाँबाट निस्कन्छन् । अत्यन्त धुलाम्य र दुषित सडकका विचमा पैदल हिँड्दै उनी रत्नपार्क क्षेत्रमा पुग्छन् । एक त त्यस स्थानमा आहोरदोहोर गर्ने मानिसहरूको भिड देखेर छक्क पर्छन् ।
‘मानिसहरूको जनसंख्या अनुचित ढंगले बढेछ ।’
त्यहाँ फुटपाथमा भएका केही दृश्यहरूले उनको ध्यान खिच्छ ।
कसैका आँखा नभएका, कसैका खुट्टा अनि कसैका शरीरका अङ्गहरू काम नलाग्ने भएका । यी अपाङ्गहरूले माग्न बसेको दुरावस्था देखेर भोलेनाथ निकै चिन्तित हुन्छन् । तिनै अपाङ्गहरूको अगाडिबाट कुनै मानिस अत्याधुनिक साधनमा भ्रमण गरेका छन् त कोही निस्फीक्रि हिँडिरहेका छन् ।
‘मानिसहरूले समान जीवन जिउन नपाउने यस्तो अवस्था कसरी सृजना भयो ? हाय कलियुग !’ शिवजी थप निराश हुन्छन् ।

यसरी घुम्दै जाँदा त्यो दिन यत्तिकै बित्छ । अर्को दिन उनी फर्कने ध्याउन्नले पुनः पाशुपत क्षेत्रमा आउँछन् तर नन्दी भेटिदैनन् । नन्दी नन्दी भनेर बोलाउँछन् तर नन्दीको आवाज सुनिँदैन । भोलेनाथ आफ्नो प्रिय वाहन आफूलाई नसोधी कता गए भनेर चिन्तित हुन्छन् । त्यही क्षेत्रमा कतै छन् कि भनेर खोज्न थाल्छन् । तर अहँ कहि भेट्दैनन् ।
केही उपाय नलागेपछि उनी अन्ततः आफ्नो दिव्यदृश्टि लगाएर नन्दी कहाँ छन् भनेर चिन्तनशील हुन्छन् । नन्दीको अवस्था थाहा पाउन उनले आँखा चिम्लेर ध्यानमा बस्दा त थाहा हुन्छ कि नन्दीलाई त केही मानिसहरूले एउटा गाडीमा हालेर भैँसीहरूको वधशालातिर पो लाँदै गरेका रहेछन् ।
अनेक समस्या आदिले ग्रस्त काठमाडौ भूमि देखेका शिवजी यसै पनि चिन्तित मुद्रामा थिए । नेपालराज्यका मनुष्यहरूको कष्टआदि दूर गर्न भनी पार्वतीको आग्रहमा नेपाल छिरेका महादेव त आफ्नै कल्याण कसले गरोस् भन्ने अवस्थामा पुगे । मनुष्यको भेषमा रहेका शिवजी पुनः आफ्नै भेषमा बदलिएर हातमा भएको त्रिशुललाई भुइँमा बेसरी गाड्दै क्रोधित हुँदै भने, ‘घोर कलियुग !’