“एक जना भए दिक्क, दुई जना भए ठिक्क, तीन जना भए तानातान, चार जना भए हानाहान ।” यो आलोपालो प्रणाली यानेकी “सिन्डिकेट सिस्टम”ले देशलाई नहसनहस पा¥योे । जनतालाई गुमराहमा राखेर युगलाई सताब्दीऔं पछाडि धकेल्यो । विकासको बहानामा सबै भान्से महोदयहरूले भूडी दमाहा भन्दा ठूला पारे । कोही विरामी हुँदा सिटामोल खान नपाएर अकाल मृत्यु भोग्न विवश छन् । कसैलाई चौरासी व्यञ्जन पनि रूच्दैन । लोकत्रन्त्र कस्तो होला भनेर बस्ने आम नेपालीलाई चार दलले लोकतन्त्रको स्वाद मज्जाले चखाईदिए । लोकतन्त्रमा सबैको समान अधिकार हुन्छ कोही पनि सानो ठूलो हुँदैन भन्ने कुरालाई प्रमाणित गरेर देखाए । हिमालय पर्वत खण्डको काखमा अवस्थित यस सुन्दर नेपाल भूमि चार दलले पाएका दाइजो हो । अरू सबै त केवल यस भूमिका आपेपासे मात्र हुन् । चार दल भन्दा बाहेकका भुरे टाकुरे दलले अवसर पाउनु भनेको आकासको तारा टिप्नु जतिकै हो । त्यसैले अन्य दलले जतिसुकै विरोधका कार्यक्रमहरू गरे पनि, जतिसुकै धारे हात लगाउँदै सत्तोसराप गरे पनि, अनशन बसेर प्राण पखेरू नै उडाए पनि केही हुनेवाला छैन । केवल चार दलका हस्तीहरूको आयु मात्र लम्बिएला तर कुनै टसको मस हुनेवाला छैन ।

बहालवाला प्रधानन्यायाधीशलाई सत्ताको बागडोर जिम्मा लगाए । त्यसको रिमोट कन्ट्रोल हाम्रो हातमा छ भनेर सधै रिमोट चलाउन खोज्छन् । उता आकासको फल पाए भन्दा पनि बढी भएको छ रेग्मी सरकारलाई । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले बढी राजनीति गरे भन्दै शिक्षकहरूलाई कुनै पनि दलहरूको सदस्य लिन नपाउने भनेर अंकुश लगाउँदै छ । कुनै न कुुनै बहानामा आज शिक्षकमाथि थोपरेको लान्छना भोलि गएर निजामति कर्मचारी, स्वास्थ्यकर्मी, सेना, प्रहरी हुँदै पार्टी माथिको प्रतिवन्ध लगाउन पनि बेर छैन । अरूलाई खाने बाघले आफूलाई नखाला भन्ने कुनै भरपर्दो आधार होला र ? के कसरी सत्ताको बागडोर सम्हाल्न पुगेको हो । अगाडिको पृष्ठभूमि केही पनि नहेरी सोडाले फुलेको पाउरोटीको अवस्था नहोला भन्न सकिन्न । भान्से बन्ने होडबाजीमा केवल हानाथाप मात्र गर्न थाले । झुुटा योजनाहरू ल्याएर कसरी हुन्छ आफ्नो पालो छिटो भन्दा छिटो आओस् भन्नेमा मात्र ध्यान केन्द्रित गर्न थाले ।

स्थान विशेषको सवारी साधनमा सबैले मौका पाउन् भन्नाका खातिर पनि आलोपालो प्रणाली रे । “कहीँ नभएको जात्रा हाडी गाउँमा ।” किन चाहियो यस किसिमको प्रणाली सके सबैले चलाए भैहाल्यो नि । प्रतिस्पर्धाको जवानामा पनि प्रतिस्पर्धा गर्न नसक्ने हुत्तीहाराहरूलाई सधै सत्ता चाहिएको छ । यदि नारीमा दम र मष्तिस्तमा आँट, साहस र हिम्मत छ भने आँटी छोरालाई बाघले पनि खाँदैन भने झै किन जँघार तर्न लाग्दा गोडा कमाउने ? गोर्खाली वीरका सन्तान हामी भित्र हिम्मत आँट र साहस बाँकी छ । “हिङ् नभए पनि हिङ् बाधेको टालो” त छ नि । तर नेपाली राजनीतिमा हेर्ने हो भने स्वार्थीहरूको अखडाको रूपमा हेर्न सकिन्छ । जो बालुवाटारमा गमन गर्दछ उसका विचारहरू पनि बालुवा जस्तै वन्जर, सुख्खा, रूखो र सबैलाई तड्पाउने किसिमले पो अगाडि बड्दो रहेछ । आदर्शका ठूला ठूला गफ गर्ने र आम नेपाली जनताले अपेक्षा राखेका बाबुराम सरकार पनि हेरियो । वाणीमा जति आदर्श फलाके त्यति नै मात्रामा देशलाई झन् वर्वादीको दलदल धापमा धकेले ।

देशले कसरी उन्नतिको शिखरमा उक्लेर आम नेपालीजनताले दुःखको भव सागरबाट उन्मुत्ति पाउलान् भनेर कुनै पनि नेता महोदयले अहिलेसम्म लिएको पाइदैन । सर्वहारा वर्गको नेतृत्व गरेका हुन् भनेर कुम उचाली उचाली सभा सम्मेलनहरूमा भाषण ठोक्ने नेता महोदयको चाला देखिरहनु भएको छ नि । आम गरीव जनताको जीवनस्तरमा के कस्ता भोगाइहरू छन् । गरीवी हुनुको पीडा केवल भुक्तभोगीलाई थाहा छ । नून किन्नु भन्दा सुन किन्न सजिलो भन्ने भनाईमा कतिको सार्थकता पाउनु भएको छ । सुुदुर नेपालका पिछडिएका क्षेत्रका मानिसहरू नून खान नपाएर हप्तौ दिनसम्मको यात्रामा नुून लिन जान बाध्य छन् । उनीहरूको नूनको सहज उपलब्धतालाई ध्यान दिएर उनीहरूलाई निर्धक्कसँग नूनको व्यवस्था मिलाइदिन सके उनीहरूको आत्माले कति आशिर्वाद दिने थिए । उनीहरूको दैनिक जीवन गुजारा के कसरी चलिरहेको छ । त्यहि अनुरूपमा नेता महोदय बस्नु पर्ने होइन र ? नपाउन्जेल म सर्वहारा वर्गको नेता हो भन्यो ? वर्तमान समयमा आएर अति विलासी जीवन तर्फ उन्मुख भएको पाइन्छ । होइन भने किन चाहियो र डेड लाख पर्ने पलङ ? किन चाहियो एक करोड पर्ने ल्याण्ड क्रुजर पजेरो ? यस्ता यस्ता कुराहरूको लोभलालचमा फसेर कसरी हुन्छ । सत्ताको सेरोफेरोमा बसिरहन पाए हुन्थ्यो भन्ने मनोकांक्षा मात्र देखिन्छ । संविधानसभाको निर्वाचन भएको यतिका वर्ष भइसक्यो चार दल भन्दा अन्य दलले खै सत्ताको स्वाद कस्तो हुन्छ भनेर चाख्न पाएका ? जति उफ्रिए पनि कुवाको भ्यागुतो कुवामा नै भने जस्तो भएको छ । चार दल बाहेकका अन्य तीसौं पार्टीका नेता महोदयहरूको चाँही राजनीति गर्ने उद्देश्य के होला त ? के उनीहरूलाई चाँही सत्ता गमनको आशा नहोला ? सत्ताको स्वाद लिएर मुख मिठ्याउने अभिलाषा नहोला ?

अनेकानेक गरेर समीकरण मिलायो सत्तागमन ग¥यो, आनन्दले बस्यो । क्या काइदा ! क्या फाइदा !!

मन्थली– २, रामेछाप