सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

होलीमा ओलीको बोली

Nepal Telecom ad

होइन, फागुनमा हुनुपर्ने फागुपूर्णिमा (होली) चैतमा कसरी र्पयो हँ ? यस विषयमा नेपाल सरकार निकै गम्भीर भएको छ । प्रतिगामी तत्त्वहरूले चलखेल र्गया हुन् कि ? नेपाली कथानक चलचित्र फागुले भनेजस्तो व्यापार नगर्या भएर षड्यन्त्र गरी चैतमा र्पाया हो कि ? पुर्याउनु नै थियो त चैतमा किन र्पुयाको ? कात्तिकमै पुर्याको भए हुन्थ्यो नि । विषयवस्तु होलीको बनाएर फागुनमै होली छ भनेर रिलिज गरिहालेछन् । विचराहरूलाई दुई दिनपछि पो थाहा भएछ, होली त उछिट्टिएर चैत पुग्या रै’छ । जसरी राजनीतिमा चैतेहरूले षड्यन्त्र गर्छन्, त्यसरी नै फागु युनिटप्रति पनि षड्यन्त्र भएको हुनुपर्छ भन्ने सरकारलाई लागिरा छ । सरकार यो विषयमा गम्भीर हुन्थ्यो, तर प्रोडुसरजी नयाँ शक्तिको होलीमा रमाइरहेकाले हामी पनि तैं चुप मै चुप बलराम सिद्धान्तमा अघि बढेका छौं । विभिन्न षड्यन्त्रलाई मध्यनजर गर्दै नेपाल सरकारले होलीको अवसर पारेर केही महत्वपूर्ण निर्णयहरू गरेको छ ।

अब होलीको अवसरमा जताततै घन्किने (फागुन महिनामा खेलौँ होली) भन्ने गीतको प्रसारणमा रोक लगाउने निर्णय सरकारले गरेको छ । नायक राजेश हमालजी र नायिका कृष्टि मैनालीजीले भैंसीलाई चुर्ना परेजस्तो बुरुकबुरुक उफ्रेर अभिनय गरेको गीत राम्रो हुँदाहुँदै होली चैतमा सरेकाले सरकार नैतिकताका आधारमा भए पनि यो गीतको प्रसारणमा रोक लगाउन बाध्य भएको हो । बेलैमा रोक लगाइएन भने कांग्रेस महाधिवेशनमा मतगणनाको तालजस्तै हुने छाँटकाँट आयो । त्यसैले सम्पूर्ण युट्युब, माइट्युब, गुगल, सुगल, सिआरबिटी, राम्री ठिटी सम्पूर्ण सामाजिक सञ्जाल, झेलिएको जञ्जाल आदि–इत्यादिमा पूरै, एक पित्को केही नरहने गरी ब्यान्ड गरिएको घोषणा गर्छु ।

अब, गीत ब्यान्ड भए पनि चलचित्रकी नायिकाले यो गीतमा उन्मत्त शैलीमा (होलीले रंग्यायो मेरो चोली) बिलौना गाउँदै नायकसमक्ष जवानी सुम्पिन खोजे पनि दृश्यमा नायकले जगल्टालाई मात्र वास्ता गरेर नायिकाको भिजेको चोलीलाई वास्तै नगरेको देखियो । त्यसैले नारीलाई सम्मान गर्नुपर्छ, इज्जत गर्नुपर्छ भन्ने सिद्धान्तलाई पहिलो प्राथमिकतामा राख्दै हाल आएर नेपाल सरकारले ती नानीको भिजेको चोली फेरिदिने निर्णय गरेको छ, तर विशेष सूत्रका अनुसार नायिका स्वदेशमा नरहेको जानकारी हुन आएकाले निजले त्यतिबेला लगाएको चोली कहाँ सिलाइएको हो ? कतिमा सिलाएको हो ? आफ्नो हो वा भाडामा ल्याइएको हो ? कति नम्बर क्षेत्रबाट ल्याइएको हो वा कुन प्रदेशबाट ल्याइएको हो ? तुनावाल थियो कि खिपवाल थियो ? सबै जानकारी संकलन गर्न चलचित्र विकास बोर्डलाई निर्देशन दिइसक्या छु । होलीभित्रमै चोलीको पूरा विवरण आइपुगे सरकारले चलचित्रका सम्पूर्ण युनिटलाई नभिजेको चोलीले सम्मान गर्ने घोषणा गर्छु ।

दोस्रो निर्णयचाहिँ, होलीमा नागाहरूको ध्यान विशेष गरी चोलीमै हुने भएकाले महिला दिदीबहिनीहरूलाई एकदमै सर्तक रहन अपिल पनि गर्छु । उच्छृंखल गतिविधि हुने भएकाले केही भैपरी आए हाम्री रामप्यारी नायिकाको नेतृत्वमा देखाउने एन्ड फुकाउने उच्चस्तरीय छानबिन समिति बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । उनी एक्लैलाई छानबिन गर्न गाह्रो होला कि भनेर समितिमा सामाजिक सञ्जालहरूको रायसल्लाहअनुसार अर्चना, तिर्सना, ज्योति, जतासुकै मेकअप पोती लगायतलाई मनोनीत सदस्य नियुक्त गरिएको छ । अब यत्रो निर्णय गर्दा पनि चोलीको संरक्षण हुन नसके त्यसको सम्पूर्ण दोष नायिका सुष्माजीको हुनेछ । उहाँसँग त हाम्रो पार्टीको भावनात्मक सम्बन्ध पनि भएकाले यो निर्णय गरिएको हो । हाम्रो पार्टीलाई माया गरेर चुनावचिह्न छातीमा टाँसेर हिँडिरहँदा पनि हामीले यस्तो निर्णय गरेनौँ भने त्यसै त प्रतिगामीहरू सरकार ढाल्ने हल्ला गर्दै हिँड्या छन्, यो निर्णयले चाहिँ दुई वर्ष ढुक्कले सरकार टिक्छ ।

यस्तै, हेलो सरकारमार्फत धेरैले होली, दिल खोली मनाउन वर्षौंदेखि नपाएको गुनासो गरिरहेको हुनाले लोलालाई साक्षी राखी संविधानको पानी नआउने धारा ६०१ को उपधारा टुटीबमोजिम यसपालि होली मनाउन सरकारले होली एन्ड खोली विभागअन्र्तगत निम्न निर्णय गरेको छ :

१. कांग्रेस महाधिवेशन र अनेरास्ववियु चुनावमा अबिरको अत्यधिक प्रयोग भै होलीमा अबिरको सर्टेज भएकाले सरकारले अबिरको सट्टा अँगारको प्रयोगलाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ । यसो गर्दा राष्ट्रिय भावना पनि वृद्धि हुने हाम्रो ठम्याइ छ ।

२. होलीको दिन अत्यधिक पानी खपत हुने भएकाले खानेपानी तथा ढल निकास विभागअन्तर्गत लेदो परियोजना सुरु गरी घरघरमा पाइपलाइनमार्फत लेदो पठाइनेछ ।

३. होलीको खुसीयालीमा बालुवाटारमा जनता हँसाउने लाफिङ थेरापी कार्यक्रम गर्ने निर्णय भएकाले यसको संयोजनको जिम्मा नयाँ शक्तिका डा. बाबुराम भट्टराईलाई दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । (हत्तपत्त नहाँस्ने भएकाले डा. भट्टराईलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।)
४. मदिराका पारखी महानुभावहरूको खुट्टा भुइँमा नटेकिने भएकाले सरकारले उहाँहरूको सुरक्षामा गम्भीर हुँदै त्यसका लागि सम्पूर्ण सुरक्षा संयन्त्र खटाउने निर्णय गरेको छ ।

५. लोलाले कसैको ज्यान तलमाथि भए उहाँहरूलाई लोला सहिद घोषणा गरी सम्मानका लागि खोलैखोला कुदाइनेछ ।

साप्ताहिक, चैत्र ७, २०७२

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad