मलाई राजनीति कर्मीहरूलाई खेद्न मन छैन, तर राजनीतिक व्यक्तिहरूमा बढ्दै गएको स्वार्थी र अनुत्तरदायी प्रवृतिसँग पूर्ण असहमत छु । हामी जनता चिल्ला कपटी शब्दका निरिह प्रयोगशाला होइनौं । तर हामीले चुनाबमा दिएको एक–एक मत (भोट)को हिसाब किताब जान्ने अपेक्षा राख्दछौं । र अन्ततः त्यो हाम्रै हातमा आइपुग्छ पनि । (कृपया... शान्त रहनुहोस्, पढ्दै जानुहोस्)
मनसान्तोसँग मेरो दुश्मनी छैन, तर म प्राकृतिक खानाको पक्षधर हुँ । मलाई बहुराष्ट्रिय कम्पनीहरू राक्षस जस्तो लाग्दैनन्, तर सकेसम्म स्थानीय उत्पादन र व्यापार प्रबर्धनलाई उकास्नु पर्छ भन्छु । म कर्मचारीतन्त्रलाई सराप्न चाहन्न, तर सेवा नियमसँग मानवीय दायित्व पनि जोडिएको कुरा स्मरण गराउनु परे पछि हट्दिन । मलाई मांशाहारीहरूसँग रिस छैन, तर म आफू शाकाहारी नै रहन रुचाउँछु । म समलिङ्गी विवाहको बिरोधी हैन, तर केटाले केटासँग वा केटीले केटीसँग समेत विवाह गर्नुपर्ने उपयुक्त कारण बुझ्दिन ।
देख्नुभो त ? मैले आफूलाई घृणा लाग्ने चीजलाई कटु आलोचना नगरिकन आफ्नो छनोटलाई अगाडी सारें । घृणा हैन, नम्र र प्रेमिल भावबाट सञ्चालित हुन त्यति गाह्रो काम हैन रहेछ । र यस्तो तरिका मेरो स्वास्थ्यको लागि पनि उन्नत हुनसक्छ । बाबा रामदेवले पनि त फ्वाँ–फ्वाँ सकिएपछि भन्नुहुँदो रे’छ : ‘फ्याँ करने से होता है, ह्याँ....!’
आक्रोशले सही कदम चाल्ने प्रेरणा दिन्छ, भनिन्छ । तर दयाभावले पनि ठिक त्यसै गर्दछ । आक्रोशले प्रायः चीज विशेषको विरोधमा धेरै ताकत खपत गर्छ । फलस्वरूप हाम्रो कदम छिट्टै लडखडाउन पुग्छ । अत्याधिक ऊर्जा संग्लन गराउँदा हामीले वास्तवमा शान्ति खल्बल्याई रहेका हुन्छौं– आफ्नो वरिपरिको मात्र होइन, आफैंभित्रको शान्ति पनि ।
अब, मलाई आरोप लाग्न सक्छ : आत्मकेन्द्रित विश्लेषण भयो, स्वप्रचार गर्यो । तर ‘तपाईं’ वा ‘फलानु’ भन्दा ‘म’ सर्वनाम नै जोखिम रहित लागेकाले आफैंलाई पानीमा भिजाएको हुँ (बढी भन्दा बढी यो प्रकारको मन्तव्य प्रस्तुतिका लागि । अझ भनिन सक्छ– लोभी–पापी र अन्याय–अत्याचारका अगाडि आँखा चिम्लेर बस्यो भनेर । तर वास्तवमा, म आफ्ना एकजोडी चिम्से आँखाहरूलाई खुल्लै छोडेको छु– चाहना छ दुनियाँभरिको सौन्दर्यलाई पनि ऐनमौकामा चुम्बन गर्न सकूँ ।
मदर टेरेसा (वास्तविक नाम : एन्जेज् गोंछे बोजाज्यू) भन्नुहुन्थ्यो- ‘युद्धबिरोधी भेलामा बोलाउने भए, म चैं आउन्न । तर, शान्ति–समर्थक जमघटमा बोलाउनू, लट्ठी टेकेरै भए पनि पक्कै आइपुग्नेछु ।’
धन्यवाद ।

गोरखा