मन्त्री निवासको प्रत्यक्ष प्रसारण

ललितपुरको पुल्चोकस्थित मन्त्री आवासमाथि उडिरहेको ड्रोन क्यामरा दुर्घटना भएर खस्यो । भताभुङ्ग क्यामराको रेकर्डरचाहिँ बचेछ, त्यसलाई खोल्दा यस्तो वर्णन सुनियो : 
आहा, आकाशबाट हेर्दा कति मनमोहक मन्त्री आवास । लस्करै रूखैरूख, चिल्लो बाटो, घरैघर, छतभरि सुकाएको दामीदामी लुगाफाटा ! लुगामा क्यामरा जुम गरौँ– नयाँ सारी दामी रै’छ, पक्कै मन्त्राणीको हुनुपर्छ । आँगनमा छोराको झिल्के बाइक झन् गजब । जुम गरेर हेरौँ है ! आम्मै, यो बाइकमा ‘फुल ट्याङ्की’ पेट्रोल छ । आँगनमा बिस्कुन सुकाए सरी मोटर छन्, हरेकमा फुल ट्यांकी पेट्रोल ! यो कोलोनीलाई पेट्रोलेश्वर महादेवको आशीर्वाद छ कि क्या हो ?’

उपत्यकामा वरिपरि जता क्यामरा घुमाए पनि अन्धकार, लोडसेडिङ देखिन्छ तर कोलोनी झिलीमिली छ । अब अलि तल आएर निवासमा कसको वास छ हेरौँ । बैठक कोठामा मेला कि आमसभा हो ? तर, मन्त्रीजी खोइ ? बैठकसँग जोडिएको गोप्य कोठामा रैछन्, भीडबाट मान्छे छानीछानी बोलाएर कानेखुसी गर्दैछन् । ओहो, यो केको वास्ना ? हरेक भान्साबाट मगमग वास्ना आइरहेछ । चौरासी व्यञ्जन पाक्दै छ जस्तो छ । अब एउटा भान्सामै क्यामरा जुम गरौँ । यो भान्सा कि गोदाम ? कर्णालीमा हुनुपर्ने खाद्य गोदाम यहाँ रै’छ । लौ, कति धेरै ग्यास सिलिन्डर, रित्तो कि भरि हो ? जुम गरौँ, वाफ रे, घोर आश्चर्य, सबै सिलिन्डर भरि छन् । कुबेरको जस्तो भान्सा देखेर बेहोस भइएलाजस्तो छ । लौ बर्बाद भो, रिंगटा लाग्न थाल्यो । अब स्वास्थ्यमन्त्रीको निवासमा गएर उपचार माग्छु ।
धडाम्म !
(त्यसपछि कुनै आवाज छैन, ड्रोन क्यामरा साँच्चै बेहोस भएछ र स्वास्थ्यमन्त्रीको निवासमा खसेछ ।)

सपनै सपना

सपना १ : ‘चीन जाऊ, तेल ल्याऊ’ भन्ने जनताको माग बोकेर प्रधानमन्त्री केपी ओली चीन गए । फर्कंदा विमानस्थलमा तेल माग्नेको घुइँचो थियो । ओलीले कोटको गोजीबाट फुत्त एउटा सानो बोतल निकालेर भीडमा फाल्दै भने, सम्झौता नगरी तेल ल्याउन मिलेन, त्यसैले गोजीमा हालेर अलिकति तेल ल्याइदेको छु । सवारी साधनमा होइन, सबैले कानमा अलिअलि हालेर चित्त बुझाउनू !

ओलीले फालेको बोतल एक जना मानिसले च्याप्प समात्यो । कानमा तेल हाल्न खोज्दा निद्राबाट झल्यास्स ब्यूँझियो । बिचरोले तेल हाल्नै पाएन !

सपना २ : जताततै लिक बन्यो । चिनियाँ रेल आयो । डाँडापाखामा रेल कुद्न थाल्यो सरर, देशमा विकास हुन थाल्यो हरर । तर, अचानक रेल ठप्प भयो, बिग्रियो । किन भनेर पत्ता लाग्यो– रेल चिनियाँ होइन रै’छ, खासाको रै’छ ।

सपना ३ : ‘गिर्यो ! गिर्यो !! गिर्यो !!! धडाम्म गिर्यो । पुर्लुक्कै भयो । अहा, क्या मजा आयो । अब मौका आयो, चौका पर्यो । गजबै भयो । अब झन् मजा आउँछ, जिन्दगीमा बहार छाउँछ । यही दिन पर्खंदै थिएँ, बल्ल आज आयो । गिर्यो !! गिर्यो !! गिर्यो !!! सरकार गिर्यो...।’

यसो भन्दै मध्यरात ओछ्यानमा अचानक चिच्याउनेलाई श्रीमतीले के भयो भन्दै उठाइन् । उसले भन्यो, सपनामा म शेरबहादुर देउवामा परिणत भएछु ।

पीडितलाई क्वाप्प

त्रिपाल र ब्ल्याङ्केटमा मात्र कति खाने ? नयाँनयाँ उपायले खानुपर्छ । जाडो आउँदा भूकम्पपीडितलाई न्यानो बाँड्ने बहानामा खानुपर्छ । गर्मी लाग्दा पातलो लुगा बाँड्ने भन्दै क्वाप्पै खानुपर्छ । त्यसपछि वर्षा आउँछ, छाता बाँड्ने भनेर मजासँग खानुपर्छ । खाएको खायै गर्नुपर्छ । पीडित भोकाए भन्दै खाद्यान्न खानुपर्छ, बिरामी परे भन्दै औषधि खानुपर्छ । अहँ, भूकम्पपीडितका समस्या समाधान गर्नै हुन्न । विभिन्न मौसम आइरहन पर्छ, तिनका दुख देखाएर खाइरहन पर्छ । पीडित कति मरे, कति बाँचेका छन् भनेर अब लगत लिनुपर्छ र यो बहानामा पनि खानुपर्छ । खाने मेलो सकियो कि क्या हो ? अहँ, के सकिन्थ्यो ! मरेकाहरू कतिलाई जलाएर र कतिलाई गाडेर दाहसंस्कार गरियो ? यो तथ्याङ्क
पनि चाहिन्छ, यसका लागि बेग्लै टोली खटाएर खानुपर्छ ।

यसरी कहिलेसम्म क्वाप्प पार्न सकिन्छ ? जहिलेसम्म पीडितलाई यसरी नै बिजोग बनाएर राख्न सकिन्छ !

निजामती मेवा

निजामती सेवा– आहा, नाम नै सेवा ! यो सेवामा मेवा असाध्यै फल्छ भन्ने सुनिन्छ । देशभरिका बोटमा कति मेवा फल्छ भन्ने तथ्याङ्क कृषि मन्त्रालयसँग होला तर निजामती सेवामा कति मेवा फल्छ भन्ने कुनै तथ्याङ्क छैन । तथ्याङ्क नभएपछि अनुमान लाउनुपर्यो । अनुमान पनि बित्थामा गरेर हुन्न, कुनै आधार चाहियो । आधार के हुन सक्छ त ? राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा दोब्बर भत्ता दिँदा पनि कर्मचारी जान नमान्नुलाई मेवा उत्पादन पत्ता लाउने आधार बनाउन सकिन्छ कि ?

कर्मचारीको तलब जति छ, त्यति नै भत्ता अर्थात् दोब्बर तलब । काम दिने र लगाउने सरकार हो, तलब दिने पनि सरकार नै हो, काम गर्नुपर्ने जनताको हो । जहाँ जुन कार्यालयमा बसे पनि तलब त्यति नै हो । तर, प्राधिकरणमा चाहिँ दोब्बर तलब ! दोब्बर पाउँदा पनि अधिकांश कर्मचारी प्राधिकरण जान किन मानेनन् ? यसको अर्थ हो, अहिले काम गरिरहेको थलोमा दोब्बरभन्दा धेरै मेवा उत्पादन भइरहेछ । आममान्छेले लाउने अर्थ यही हो, बाँकी तर्क जनताका लागि व्यर्थ हो । कसैकसैलाई दोब्बर होइन, चौब्बर या त्यसभन्दा धेरै मेवा मिलिरहेको होला, यो बेग्लै कुरा हो । दोब्बर मेवा फलिरहेको चाहिँ गणितले नै देखायो ।

त्यसैले यो मेवा गणितका आधारमा निजामती सेवालाई ‘निजामती मेवा’ भने कसो होला ?

नेपाल, चैत्र १९, २०७२