अनुत्तरित प्रश्न
“बुबा ! त्यो सिंहदरबार, त्यो सर्वोच्च अदालत, त्यो कृषि विकास बैँक …।”
“हँ ?” बूढाले ठूला घरका नाम पहिलोपटक सुने, तुरुन्तै बिर्सिए । बुढयौलीले अनुहारमा मुजा परेका बृद्धलाई कालो इस्टकोट, सेतो कछाड र भादगाउँले टोपीले ‘गाउँले’ हुनुको परिचय दिएको थियो ।
“बुबा ! त्यो बबरमहल, त्यो केशरमहल, त्यो एभरेस्ट होटेल…”
“ए…”, बूढाले पसिना पुछ्दै उत्सुकताविहीन जवाफ दिए ।
“त्यो नौ तले दरबार, त्यो विशाल बजार, त्यो वातानुकूलित भवन, त्यो काठमाडौं प्लाजा … ।”
यसपटक बूढालाई असाध्यै गर्मी भयो र बसको झ्यालतिर टाउको फर्काए । केहीबेरपछि बाग्मती पुलमुनि अभावले छाएका सुकुम्बासीका साना छाप्राहरू देखेर बूढालाई आफ्नो गाउँको सम्झना आयो, घरको अज्ञात नियास्रोले आँखा रसायो ।
“मा…माइला ! त्यो हाम्रो घरजस्तो सानो झुप्रो कसको हो ?”
“हँ ?” छोराको मुखबाट प्रतिध्वनित परावर्तित भयो ।
“त्यो हाम्रो घरजस्तो सानो झुप्रो कसको हो हँ ?”
काठमाडौं