एक दिन मलाई पनि प्रगतिशील साहित्य रचना गर्ने झोक चल्यो । समाजमा पत्रु र अछुत मानिने डुम जातिको एकजना बयोबृद्ध सदस्यलाई समाएँ ।

एक गिलास स्थानीय मदिरा ख्वाएपछि सोधेँ, आफ्नो जीवनको कुनै उदेकलाग्दो घटना सुनाउ न !
उसले बाहुलाले मुख पुछ्दै भन्यो– त्यसो त हामी गरीबको जीवनमा नै कुनै राम्रा घटना हुँदैन, डाँकाहरूमा राम्रो डाँकालाई छान्नु परे झैँ म पनि सबभन्दा अचम्मको एउटा घटना भन्छु ।

विडी सल्काएर वातावरणलाई धुमिल बनाउँदै ऊ चालू भयो, यति लामो जीवनमा मैले भोगेको यो सबभन्दा अचम्मको घटना हो । एक दिन बिहानै मैले आफ्ना घरपालुवा सुँगुरहरूलाई चराउन लैजाउँ भनी खोरबाट झिक्न खोज्दा ती त उठ्नै नमान्ने !

एउटालाई सोधेँ, किन आज चर्न जाने विचार छैन कि कसो ?

मैले जुन चैं बराहलाई सोधेको थिएँ उसले बोल्न नपाउँदै उनीहरूको नाइकेले भन्यो, आज हाम्रो तर्फबाट नेपाल बन्द ! हामी आज बाहिर ननिस्कने, यहीँ बसिराख्ने ! हामी चर्न पनि जान्नौं ! खाँदा पनि खान्नौं !

उसले अर्को गिलास पनि रित्याउँदै भन्यो– मैले वराह अवतारको नेतालाई संझाएँ– किन रिसाएको काम न काजसँग ! के भयो र ? यसरी अनशन गर्ने भए भद्रकालीको पेटीमा गएर बस्, गज्जुबाबु जस्तो !

नेताले गम्भीर अनुहार लाएर भन्यो, नेपालीहरूले सैतालीस सालपछि अनेक निहुँ गरी धेरै पटक नेपाल बन्द गरिसके । हामीले किन गर्न नहुने ? आज हाम्रो तर्फबाट नेपाल बन्द रहन्छ !

डुमले भन्यो– यो खोरमा बसेर तिमीहरूलाई नै दुःख हुन्छ । यसो दिसा पिसाब गर्न पनि त बाहिर जानु पर्छ नि ! आफ्नै घर फोहोर पार्ने ?

तर जति सम्झाए पनि उनीहरू मानेनन् । भन्थे, हाम्रो पार्टीको निर्णय भइसकेको छ । हाइकमानको आदेश छ ।
हाइकमानले के का लागि यस्तो आदेश गरे त भनी सोध्दा बराहकुल कमल दिवाकरले भन्यो– त्यो त हामीलाई के था ?

काठमाडौं