ज्वाइँलाई आदर सत्कार गर्ने लामो परम्परा छ हामीकहाँ । ज्वाइँलाई खुसी राख्न नखोज्ने सासू ससुरा नेपाली समाजमा फेला पार्नै सकिन्न । ज्वाइँले टेकेर पवित्र पारेको पिँडीमा राडी काम्ला र गलैँचा ओच्छ्याई सासू ससुरा आफ्ना पुज्य ज्वाइँलाई मान–सम्मान गर्न पाउँदा अतीव गौरव गर्छन् । अतः ज्वाइँ हुन पाउनु पनि ठूलै गौरवको विषय हो । समस्त ज्वाइँहरूको खातिरदारी गर्दै ख्यातनामा कमाएका ज्वाइँहरूका नाममा यो सानो प्रशस्ति लेख्न पाउँदा मलाई पनि गौरवानुभूति भइरहेको छ ।

ज्वाइँका विषयमा थुप्रै लेखुवाहरूले लेखिटोपलेका छन् । मलाई लाग्छ अब ती सबै अपूरा र अधुरा बन्न पुगे । नेपाली समाजमा ज्वाइँहरूको उपस्थिति अहिले जे जसरी भइरहेको छ– यो आकलन गरिसाध्यको छैन । ती सबैको नाटीकुटी उहिले उहिले लेखिएका ‘ज्वाइँ पुराण’, ‘ज्वाइँ महात्म्य’ वा ‘ज्वाइँ काव्य’ मा कहाँ परेका छन् र भन्या ? हाम्रो राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा वर्तमान ज्वाइँहरूले पु¥याउँदै आएको योगदानबारे विषद अध्ययन अनुसन्धान र विश्लेषणको जरुरी भइसकेको छ । ‘ज्वाइँ’ शब्दले नै अब नयाँ भाष्य खोजिरहेको बेला पुरानै मत–मान्यतामा अडेर गरिएको कुरो–कन्थोको कुनै औचित्य बाँकी रहेन । ज्वाइँ सम्बन्धी नयाँ भाष्यका लागि यो लघु आयामको गन्थन–मन्थनले केही सहयोग पु¥याउला भन्ने आशा लिएरै लेखनका नाममा कनकान गरिएको हो भनेर आरम्भमै स्पष्टीकरण पेश गरूँ कि !

फेरिएको जुगजमाना अनुसार आजकल ज्वाइँहरू पनि हेर्नाका छन् । कोही ‘ट्वाँट’मा मात्र रमाउने ज्वाइँ भेटिन्छन् भने कोही ‘क्याँट’मा मात्रै नजर लाउन रुचाउँछन् । कुनै चाहिँ छन् कन्या राशिका– ‘केटी’ भनेपछि भुतुक्क हुन्छन् त कोही छन् ‘भेटी’का भुक्तभोगी । कुनै ज्वाइँ खातिरदारीमा सर्वस्व लुटाउँदा पनि चित्त नबुझेर मुद्धा हाल्न तम्सन्छन् त कुनै ज्वाइँ ‘दहेज’ थोरै भयो भन्दै पेट्रोल छर्केर तपाइँकी छोरी पोल्नतिर सक्रिय हुन्छन् । थरिथरिका ज्वाइँ परिपरिका कारनामा ।

राष्ट्रसेवक ज्वाइँहरूको कुरो बेग्लै छ । राष्ट्र निर्माणका विकास आयोजनाहरू बनाउने बेलादेखि नै कमिसनको मिसन बाहेक गिदीमा केही पनि छड्किँदैन उनीहरूको । निर्माण, पुनर्निमाणको ‘कठिन’ कार्यमा आफूले सोचे जस्तो ‘मिसन’ परिचालन गर्ने मेलोमेसो नहुने भएपछि किन जाने त्यता ? मुला सरकारले जा भन्दैमा वरद् ‘राष्ट्रसेवक’ हातमा टोपी बोकेर कहाँ दौडिन्छ र ? आफू बहाल रहेकै ठाउँमा दुई सय प्रतिशतसम्म आमदानी दोब्रिरहेको छ, जाबो सय प्रतिशत प्रोत्साहन भत्ताका निम्ति को जाओस् पुनर्निर्माण प्राधिकरणतिर ? राष्ट्रसेवक ज्वाइँहरूको यो प्रश्न घूस जत्तिकै ओजनदार छैन त !

अर्को एक थरि ज्वाइँको बथान छ हामीकहाँ । राष्ट्रसेवाबाट उमेर र अवधिको हद पूरा गरी अवकाश पाएर पेन्सन पड्काइरहेका पाकाहरू यो बथानमा छन् । चाचाचुको बलमा पहुँच पुगेपछि उनीहरू नै विभिन्न संवैधानिक निकायमा नियुक्त हुन्छन् । रिटायर्ड लाइफमा यस्तो विशिष्ट सेवा प्रदान गर्ने अवसर पाएपछि खुरूखुरू दोहोरो सुविधा समेत लुँड्याउन पाइने । ओ हो, सम्झँदा नै मुख रसाएर आउँछ भन्या । यी ज्वाइँहरूको अकुत आमदानीको स्रोतमाथि ठूलै भुइँचालो ल्यायो यो सरकारले दोहोरो सुविधा कटौतीको निर्णय गरेर । हैन सरकारलाई दशा लागेको कि यी विशिष्टहरूलाई दशा लागेको हँ ? यस्तो फजुल निर्णयका विरूद्ध मुद्धै बोकेर न्यायालय पुगेका छन् केही विशिष्ट ज्वाइँहरू । यसरी खाइपाई आएको सुविधा खोसेर हामीलाई कङ्गाल बनाउन साजिस गर्ने सम्बन्धित मन्त्रीमाथि कार्वाही गरिपाउँ– यस्तै यस्तै व्यहोरा होला रिटमा । दोहोरो सुविधामा उग्राइरहन मन पराउने ज्वाइँहरू– जिन्दावाद, जिन्दावाद !

खाँटी खाँटी ज्वाइँहरूका बारेमा चर्चा गर्दा ‘चिल्ला ज्वाइँ’को कुरो नगर्ने हो भने मनमा शान्ति कहाँ मिल्ला र ? तेलको एकलौटी कारोबार गर्ने एउटा निकाय छ हामीकहाँ । वर्षौंदेखि कालो तेलको सेतो व्यापार गर्दै आएको यस निकायमा केही ज्वाइँहरू छन् । हरदम तेलमै तैरिरहेका हुँदा उनीहरूलाई ‘चिल्ला ज्वाइँ’ भनिदिए कुनै खतबात लाग्दैन । आम ज्वाइँहरूभन्दा यी ज्वाइँहरूको हैसियत र हाँकोडाँको निकै कडा र तगडा छ । तगडा यस अर्थमा कि घोटाला, तस्करी, कमिसन र बेइमानीका हजारौँ आरोप आइलागे पनि कसैले यिनलाई लछार्न सक्दैन, न त पछार्न नै । जाबो एउटै ट्याङ्करमा एक खेप मात्रै यताउता गर्दा करोडसम्मको आमदानी ओइरिने अदृश्य कारोबार ! वा... यस्ता ज्वाइँको ससरालीको घरबार ! नाकाबन्दीका कारण घायल हुन पुगेको हायल कायल निगम अहिले अरबौँ घाटामा छ । तर यताका चिल्ला ज्वाइँहरूलाई बोनस नखाई भएकै छैन । नाकाबन्दी खुलेर आपूर्ति सहज भइसक्दा पनि आयात गरिएको तेल उपभोक्तासम्म नपु¥याई हाहाकार कायम गर्नमा माहिर यी ज्वाइँहरू खातामा करोडौँ आमदानी बाँधेर बोनसतिर लामाहात गरिरहेका छन् । चौतर्फी विरोधको आगो बल्न थालेपछि लाचार भएर बोनस खाने मनसाय स्थगित गरेको नाटक गर्दै फेरि अदालत पुगेका छन् । ‘घिच्न पाउने’ आफ्नो अधिकार दिलाई पाउँ भनी ज्वाइँहरू न्यायालयतिर धाउँदै छन् ।

आपूर्तितिर ज्वाइँकै रज्जगज्ज छ । राजस्वतिर ज्वाइँहरूकै हाली मुहाली छ । भन्सारको संसार पनि ज्वाइँहरूले नै हाँकिरहेका छन् । मन्त्रालय, विभाग र महाशाखा सबैतिर ज्वाइँहरूकै सगबगाहट बाक्लो देखिन्छ । यी ज्वाइँहरूका निम्ति सरकारी निकाय वा अड्डा त ससुराली घर । त्यहाँ उनीहरूका निम्ति नरम र लचकदार कुशन भएका कुर्सी र सोफाहरू छन् तर उनीहरूलाई त्यहाँ बिरलैमात्र भेटिन्छ । काम गर्ने थलोमा ज्वाइँहरूलाई कहाँ भेटिन्छ त ? ससुराली घरमा त ज्वाइँलाई मिठो मसिनो खान दिने पो हो, काम लगाउने हो र ? न त यिनीहरू घरज्वाइँ नै हुन् । यस्ता सुगरकोटेड ज्वाइँहरूकन मेरो कोटिकोटि नमस्कार छ !!

यता आएर राजनीतिक कित्तामा पनि ज्वाइँहरूको उल्लेखनीय उपस्थिति देखिँदै छ । मसिनो गरी छ्यानविचार गर्ने हो भने यस कित्ताका ज्वाइँहरू पनि दुई किसिमका छन् । सीमा जोडिएको छिमेकतिर ग्रामपालिकाका चुनावमा हारेर दिक्क हुँदै जीविका उपार्जन गर्न नेपाल छिरेका ज्वाइँसाबहरूले यता भटाभट सांसद, मन्त्री पड्काई रहेका छन् । सांसद मन्त्री नै भइसकेपछि यी ज्वाइँहरूको नागरिकतामाथि सन्देह गर्नु पनि लाजैको पसारो हुन्छ । ज्वाइँ नै हुन् मानमनितो गर्नै प¥यो, हामी बकाइदा गरिरहेकै छौँ । सरकार चलाउन वा भत्काउन सक्ने हैसियत भएका ठूला राजनीतिक दल उनीहरूका दाहिना भएका हुँदा यी ज्वाइँहरूलाई कसैले छुनै सक्दैन, औँला ठड्याउनै सक्दैन । हरेक मन्त्री मण्डल पुनर्गठनमा मालदार मन्त्रालय उनीहरूकै भागमा पर्ने गर्दछ । ज्वाइँले बढी नै खातिरदारी खोज्छन्– यो नैसर्गिक हकाधिकार नै हो नि, हैन र ?

उपर्युक्त कित्ताका अर्काथरि ज्वाइँहरू अलि बेग्लै खाले छन् । नेपालको सीमा सरहदभित्रै जन्मे पनि, यतैको माटोमा हुर्के बढे पनि यिनीहरूको नशामा रगत चाहिँ उताको बग्ने गरेको छ । छोरीहरूको जन्मघर र कर्मघर फेरिए झैँ यिनीहरूको जन्म यतै भए पनि कर्मघर फेरिएको छ । यी त उताका ज्वाइँ हुन् । इमान जमान र लगाव सबै उतै फर्केको छ । हेर्दा दुरूस्त आफ्नै लागे पनि यिनीहरूको मनमष्तिष्कमा मडारिई रहने चिन्ता चासो, सपना जपना सबै उतैको छ । उतैको स्वार्थका निम्ति, उतैको प्रगतिका लागि, उतैको हात माथि पार्नका लागि यी ज्वाइँहरू निख्रिएर लाग्ने गरेका छन् । आखिर जताका भए पनि ज्वाइँ नै हुन् । ज्वाइँ भनेपछि कुरै खतम् ! हामी छिमेकीका ज्वाइँलाई पनि यथाशक्य खातिरदारी गरिरहेका छौँ । ज्वाइँप्रति नतमस्तक बन्ने हाम्रो संस्कारको जय होस् ।

अर्का एकथरि ज्वाइँहरू समुद्रपारिबाटै साकुरमाकुर गर्दै आएका छन् । विभिन्न नाम र निहुँका संस्थाहरूका पोकापन्तरा बोकेर हाम्रा विकट गाउँघरसम्म बिना रोकतोक पुग्ने गरेका छन् यिनीहरू । यी गोरा गोरा ज्वाइँ मोराहरूको पुनित कार्य बडो गजबका छन् । हेर्दा भिन्न भिन्न देखिए पनि यिनीहरूको ढाँचा ढप एकै खालको छ । लक्ष र उद्देश्य पनि एउटै छ– सबका सब कङ्गाली नेपालीहरूलाई बाइबल पढाउनु छ र मज्जासँग आपसमै लडाउनु छ । यी ज्वाइँहरूलाई समेत आदर र सत्कार गर्दै हामी शनै शनै बाइबल पढ्ने र भाइभाइ बीच आपसमै लड्ने गर्न थालिसकेका छौँ । हाम्रा आचार विचारहरू फेरिन थालेका छन् । ज्वाइँहरूको प्रभावले हाम्रा टुप्पी च्वाइँ पार्न थालेका छन् । यसलाई अधोगति भन्नेहरू आफै अधोगति लाग्दै छन् ।

उपर्युक्त यो छोटो विवरणले मात्रै पनि सिङ्गै नेपाल राष्ट्र अहिले ज्वाइँ पाल्ने अखडा बनेको प्रष्ट हुन्छ । यो त हाम्रो अग्रगति हो, अस्मेलसँग अघि बढी रहेको प्रगति हो । हाम्रो अग्रगति र प्रगतिका नायक उन्नायक ज्वाइँहरूको जय जय होस् । साराका सारा ज्वाइँहरू– जिन्दावाद ! जिन्दावाद !!

मधुपर्क, बैशाख २०७३