सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

को शक्तिशाली ?

Nepal Telecom ad

मैले एउटा रमाइलो खोज गरेको छु, अर्थात ‘गाईजात्रे’ खोज । खोज, शोध, अनुसन्धान गर्न म पिएचडीवाला डाक्साब त हैन । हुन त आजकल पिएचडीवाला फालाफाल छन् अरे त्यसैले अरूले खोज गर्ने मौकै पाउँदैनन् । हुन त मेरी श्रीमतीलाई पनि बुढाले पिएचडी गरोस् र डाक्साब बनोस् भन्ने ठूलो इच्छा चाहना थियो । नढाँटी भन्नुपर्दा अरुका सामु डाक्साब श्रीमानसँग हिँड्ने ठूलो रहर थियो । उनका सहेलीहरूले आफ्ना डाक्साब श्रीमानसँग हिँड्दा उनलाई ईर्ष्या हुँदो हो ।

माथिका गफहरूलाई थाँति राखेर ‘गाईजात्रे’ खोजतिर लागौं । मेरो खोजको विषय छ ‘नेपाली वर्णमालामा वा नेपाली लिपिमा सबभन्दा शक्तिशाली अक्षर वा वर्ण कुन हो ? सरल तर कठिन विषय । कुन होला तपाईँको विचारमा ? सोच्दै गर्नुहोला ।

खोजमा केही कुरो पहिल्यै मान्नु पर्छ । मानौ ‘जसले अलमल गर्न सक्छ झुक्याउन सक्छ त्यो नै शक्तिशाली हुन्छ । जस्तै देशको सन्दर्भमा जनतालाई सार्वभौम बनाउँछु भन्छ तर आफै सर्वेसर्वा बन्छ र जनता झुक्याउँछ– नेता शक्तिशाली हुन्छ ।

नेताले गरीबको भोक शोक अभाव हटाउँछु भन्दै अलमल गर्छ र आफ्नो गरिबी भगाउँछ । जनतालाई नेताले कसरी फसाउँछ तलको मुक्तकले पनि भन्छ–
प्रजातन्त्रको नाराले लठ्यायौ जहिले
गणतन्त्रको चाराले लोभ्यायौ कहिले
छिमेकीको पाउमा शिर झुकाउँदै
संविधानको धाराले डुबायौ अहिले ।

हो, यस्ता नेता नै शक्तिशाली हुन्छन् ।

त्यस्तै, घर परिवारमा विवाह अगाडि श्रीमतीजी मेरो राजा, मेरो हिरो भन्ने, विवाह पछाडि हिरो हैन जिरो बनाउने, झुक्याउने श्रीमती नै शक्तिशाली हुन्छ भन्दा कसैको दुईमत नहोला ।

त्यस्तै, नेपाली वर्णमालामा पनि झुक्याउने वर्ण शक्तिशाली हुन्छ । अत नेपाली वर्णमालाको ‘स’, ‘श’अनि ‘ष’ वर्ण झुक्याउने र शक्तिशाली हुन्छ । भन्दा नै पातलो ‘स’, मोटो ‘श’ र पेट चिरेको ‘ष’ भन्नु पर्ने । हुन त अधिकांश नेपालीहरूले तीनै किसिमका ‘स’, ‘श’ र ‘ष’लाई ‘स’ नै उच्चारण गर्छन् तैपनि लेख्दा फरक लेख्ने चलन हुन्छ । यही उच्चारणको लफडाले मलाई इन्डियामा समस्या नै परेको थियो । पसलमा ‘शर्ट’ कमिज किन्न जाँदा ‘सर्ट’ कट्टु भिडाएर हैरान नै बनाए । साँच्चै भन्नुपर्दा मैले माथि लेखेको सर्ट हो कि शर्ट हो अझ थाहा छैन । त्यतिमात्र हो र ? पेट चिरेको ‘ष’को उच्चारण त आजसम्म पनि मलाई थाहा छैन । शायद कसैले बताउने चेष्टा गरे हुन्थ्यो । अर्को कुरा यो ‘ष’ आखिर ‘स’ हो कि ‘ख’ ? यो पनि कहिल्यै जानिएन किनकि कसैको भनाई छ यो षडयन्त्र (सडयन्त्र) लाई कसैले षडयन्त्र (खडयन्त्र) गरी षडयन्त्र बनाए । कोही भन्छन् यो षडयन्त्र (खडयन्त्र) नभएर षडयन्त्र नै हो । वास्तविकता जे भए पनि अलमल चैं पक्कै हो ।

अब गरौं ‘स’, ‘श’ र ‘ष’को शक्तिको कुरा । शक्तिको शुरूवात नै ‘श’बाट हुन्छ । जीवनको अस्तित्व नै ‘सास’ मा अडेको हुन्छ । दुबै अक्षर पहिलो र अन्तिममा ‘स’ । सासमात्र फेरेर मान्छेलाई कहाँ पुग्छ र ? सासपछि मानिसलाई आवश्यक पर्छ ‘गाँस’ । यो पनि ‘स’ मै टुंगिन्छ । गाँससँगै मानिसलाई चाहियो ‘बास’ । यो पनि ‘स’मै अन्त हुन्छ । अनि त्यस्तै चाहियो ‘कपास’ । बिना कपडा नाङ्गै कहाँ बाँच्न सकिन्छ समाजमा ! कपास पनि आखिर ‘स’ मा नै गएर टुंगिन्छ ।

जीवनको मूलभूत आवश्यकताहरू पछि मान्छेलाई अँठ्याउँन थाल्छ ‘आस’ ले । कसैलाई सम्पत्ति, सुनको आस । कसैलाई ‘सुरा’को आस । कसैलाई भने ‘सुन्दरी’को आस आदि इत्यादि । जताततै ‘स’ कै खेल ।

अनि यो आसबाट जन्मिन्छ ‘समस्या’ । यी समस्याहरू सुल्झाउन चाहियो ‘सरकार’ र ‘सत्ता’ । सत्ताले जन्माउँछ नेता । जहाँ पनि ‘स’ कै शासन । नेता दिल्लीको सिल्ली वा विदेशीको दास बनेर ‘घाँस’ खानथाल्यो भने अर्थात ‘जूस’ नखाएर ‘घूस’ खानथाल्यो र जनताको ‘विश्वास’ तोड्न थाल्यो र ‘षड्यन्त्र’ गर्न लाग्यो भने देशको हुन्छ ‘विनाश’ । सबै ‘स’, ‘श’ र ‘ष’ कै चलखेल अनि ‘सक्किगो नि’ !!

अनि तपाईँ जति नै ‘सम्पत्ति’ जोड्नुस्, ‘शान’ दिनोस् तर अन्तमा हुनुपर्नेछ ‘समाप्त’ र बन्नु हुनेछ ‘लास’ । अनि लास उठाउन पनि चाहिन्छ ‘बाँस’ । यहाँ पनि ’स’ कै नाटक ।

कस्तो लाग्यो त मेरो खोजको खेल ? अझ स्पष्ट भन्नुपर्दा कस्तो लाग्यो त म ‘बकम्फूस’ को ‘बकवास’ र ‘बुद्धिविलास’ ? खासकुरो त अझ बाँकि नै छ, मेरी श्रीमतीको नाम पनि ‘श’ बाटै शुरू हुन्छ अनि भन्नु परेन त ‘स’, ’श’ र ’ष’ नै शक्तिशाली हुन्छ भनेर । कि कसो ? अस्तु ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठाेकान

तीन ठाेकान

प्रमोद अमात्य
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
गजबकै हुन्छ

गजबकै हुन्छ

प्रमोद अमात्य
रयाङठ्याङ नमिलेर

रयाङठ्याङ नमिलेर

प्रमोद अमात्य
अब त सर्दिन…

अब त सर्दिन…

प्रमोद अमात्य
तीन दिन बाहिर खान जाने

तीन दिन बाहिर खान...

प्रमोद अमात्य