नयाँ पात पलाएछन् पालुवाका बोट
जस्तै नवयौवनाका मुस्काएका ओठ
हरियाली पछ्यौरीमा समयको रङ्ग
त्यही रङ्ग हेरी हेरी पर्छन् कोही दङ्ग ।

पधेँरीमा पानी भरिन् यौटी यौवनाले
पानी जस्तै सङ्लो मन उन्कै मुच्र्छन्नाले
गोठाल्नीका गला खुले सुरिलो छ स्वर
मञ्जरीकै छायामुनि लुक्यो दिल–चोर ।

वसन्तको गीत छोपी बैँस हाँसेकी छ
पल्लवमा कोइलीले प्रीत गाँसेकी छ
लेकतिर फुल्यो फेरि चाँप बसाएर
डाँडाडाँडै डाँफे नाच्यो प्वाँख खसाएर ।

नागबेली मेरा नदी, निलो–निलो दह
दह जस्तै बसेको छ मुटुभित्र वह
कौशीमाथि खस्नुपथ्र्यो आकाशको जून
कर्णाली नै अलिनो छ नपाएर नून ।

भूकम्पको थर्कोसँगै पराकम्प कैयौँ
छिमेकीकै दुर्नियति नाकाबन्दी सह्यौँ
दुष्ट कहर, कष्ट खेपी लोलाएछन् आँखा
सुसेलीमा गाऔँ अब निर्माणका भाका ।

विभिन्नता हैन अब एकताको बल
एकतामै गुञ्जिने छ कुलो कलकल
भनिरेछ बैशाख यो नव–तिर्सनाले
देश मेरो सिँगार्नु छ नव–सिर्जनाले ।

बैशाख २०७३, कलङ्की– काठमाडौं