दुईवटा फुच्चे
फोहरमा सामान खेर्दैथे
ओल्टाइ पल्टाइ हेर्दैथे
एउटा भन्यो
हेर त यो जुत्ता !
चँुडिएको छ फित्ता
खिएर भएको बित्ता
यो लाउने पक्कै गैंडा हुनुपर्छ
तुना कस्सिएको छ
सोल धस्सिएको छ
कति लोभी रहेछ बजिया
थोत्रो होउन्जेल लाको छ
हेर त जुत्ताको हालत कस्तो भाको छ ।

अर्कोले भन्यो
हेर त यो चप्पल पनि
पक्कै महिलाको होला
यसलाई त जिन्दगी भरी
गरिवीले नै खायो होला
गाँसेको छ, टाँसेको छ
ठाउँ ठाउँमा कसरी नासेको छ
नयाँ फित्ता हाल्न नसकेर
कति पटक सिएको छ
पुच्छरतिर पनि हेर्न
कसरी खिएको छ
बन्ने भए अझै लाउँथी होला
सिलाउन सकेको भए
फाल्न के भ्याउँथी होला ।

फेरि आर्कोले भन्यो
ल हेर त यो माछाको क्यान
कस्तो लोभी रहेछ चाटी चाटी खाको छ
ढक्कन पनि हेर त
कसरी काटी काटी खाको छ
खुत्रुक्क भएपछि मात्र हामी कहाँ आको छ
यहाँ मान्छेले के फाल्थे
भने जस्तो पाउने भए
तिनीहरूले पनि यै काम थाल्थे ।

अर्कोले भन्यो
हेर त यो बोटल थोपो पनि छोडेको छैन
दुई चार घुटको पनि यसो तान्न पाइन्थ्यो
बजियालाई के माया
यो हामीलाई पनि चाहिन्थ्यो
अर्कोले भन्यो
ओई ?
हामी त विदेशमा जन्मनु पथ्र्याे है
त्यहाँ त फोहरमा
नयाँ नयाँ लुगा फाल्छन् रे
खानेकुरा पनि टन्न हाल्छन् रे
तर जान पाइँदैन खोई ?

दाङ, हाल काठमाडौं