अन्धा स्वयम्भु ?!
स्वयम्भु नाथ !
तिम्रा आँखा कता बरालिए कता ?!
बेखबर छन्
आफ्नै अगल बगलमा बसेका मोक्षदा र वरुधा
कतै नागार्जुनले छेकिए कतै फुलचोकीले
ओझेल परेका छन्
लमतन्न सुतेका बुढानिलकण्ठ
पर पशुपति छोपिएका छन्
जय बागेश्वरीको छायाँमा ।
के देख्दा हौ
आर्यघाटको कतै कुनामा
कायर भएर लुकेका विरुपाक्ष ?!
के नजर पर्दो हो
विवश अन्नपूर्णका आँसुमा ?
पाथिभरा आजित भ’कि छिन्
उद्दार गरी नसक्नु छ
र नै साउती गर्न थालेकी छिन्
भ्याई न भ्याई
मानभरा कि कन्चनजङ्घा ।
कतै त तिमी तल हेर
जन जनको आर्तनाद सुन र
देख्दैनौ
हर झुपडीमा डाँका डालेर
पर राजमहलको खाँबो गाडेको ?!
कतै हिमाल हाँसेको हेर
रातमा पनि जून हाँसेको त हेर
चारैतिर हेर
सक्छौ अँध्यारो गल्लीमा आशाका किरण छर ।
काठमाडौं