सङ्कीर्णता
मान्छेको मनभित्र छन् कुटिलता ईर्ष्या र शङ्का बढी
पाए लाउन सक्छ बाहुद्वयमा ऊ द्वेषको हत्कडी ।
ज्ञानी, शिक्षित,शान्त, सज्जन, गुणी भन्छन् विवेकी तर
मान्छेभित्र छ सक्कली पशुपना देखेर लाग्ने डर ।।
औडाहा कतिसम्म गर्छ मनुवा बस्थे छिमेकी दुई
गर्थे आह्रिस उच्च उन्नति भए तानी खसाल्थे भुइँ ।
हुन्थ्यो घोर सुषुप्त युद्ध मनमा झन् द्वेष जागीकन
देखी उन्नति जल्दथे दनदनी आगो नलागीकन ।।
जे माग्छौ सब पाउँछौ तर उताको पाउला दोब्बर
भन्दा ईश्वरले छली मनुजले मागेछ यस्तो वर ।
“मेरो लोचन फोर एक उसका फुट्लान् दुईटै जब
कानो भै पनि हेरुँला म उसका अन्धान्त पीडा सब” ।।
यस्तो लाग्छ अचेल भुल्दछ नदी टाढा पुगेमा कुलो
मान्छेभित्र रहेछ जीवित सधैकक सङ्कीर्ण घेरा ठुलो ।
आफू पीडित हुन्छ मानिस भने खुट्टा कमाईकन
बस्छन्, पीडित भो कुनै जन भने हेर्छन् रमाईकन ।।
छिर्के थाप्छ लडाउने नियतले राम्रो गरे तापनि
फेरी रूप सहानुभूति अझ ऊ देला हितैषी बनी ।
आफैकक जित्न प्रयास गर्छ पथमा जो बस्छ खाल्डो खनी
छेपारो र मनुष्य भिन्न कसरी उस्तै छ बानी पनि ।।
सुर्खेत