हामी बितेको वर्ष २०७२ का उपलब्धिहरूको लेखाजोखा गर्दैछौँ । हामीले गएको वर्ष संसारमा नाम चलाउने धेरै काम गर्न सकेनौँ तैपनि लाजै हुने गरी केही गर्न नसकेको भने होइन । त्यस्तै एउटा महत्त्वपूर्ण उपलब्धिमध्ये हाम्रो राजधानी सहरलाई संसारकै उत्कृष्ट प्रदूषित सहर बनाउन हामी सफल भएका छौँ । संसारका मानिसहरूलाई जिज्ञासा लाग्दो हो– वनजंगल, खोलानाला, हिमाल, पहाड र हरियाली नै हरियालीले भरिभराउ यस्तो सुन्दर देशको राजधानी सहरलाई कसरी संसारकै प्रदूषित सहर बनाउन सफल भए होलान् यी वीर गोर्खालीहरू ! हुन पनि यो त्यति सजिलो काम होइन । हामीले लामो समयदेखि कडा परिश्रम र लगानी गरेर नै ०७२ को अन्त्यसम्ममा यो सफलता हात पारेका हौँ ।

हाम्रो सफलताको मुख्य कडीमा यहाँको धूलो, धूवाँ, सवारीको भीड, खेतहरूमा उम्रेका भवन, ढल बग्ने खोला, फोहोरका पहाड आदि नै होलान् । हुन पनि धूवाँ र धूलोले आकाश मात्रै ढाकेको छैन, हाम्रा घरका कोठा, चोटा, पसल, खानेकुरा, लगाउने लुगा, हाम्रो फोक्सो, कलेजो, घाँटी, कान, नाक सबैतिर ढपक्कै ढाकेको छ । हाम्रा सडक छन् सदा धुलाम्मे वा हिलाम्मे । कच्ची मात्रै होइन, पिच सडकलाई पनि हामी धूलो, हिलो, बालुवा, गिट्टी, प्लास्टिक, फलफूल वा तरकारीका बोक्रा, कोदाको छोक्रा, कुखुराका भुत्ला, खसीका भुँडी, राँगाका खुट्टा तथा विविध दुर्गन्धहरूले निरन्तर भरिभराउ बनाइराख्छौँ । लँगौटी जत्रा सडकमा हामी हात्तीजत्रा गाडी गुडाउँछौँ अटेसमटेस । ती पनि कालो धूवाँको मुस्लो फ्याँकेर सडकै अन्धकार बनाउन सक्ने बराजुका पालाका । त्यस्ता गाडी हामीले कति मिहिनेतले गुडाइरहेका छौँ, हाम्रो सही मूल्यांकन होस् । नम्बर सच्याइयोस् ।

‘पब्लिक प्राइभेट पार्टनरसिप’ अर्थात् पीपीपी मोडल अन्तर्गत हामी अगाडि बढिरहेका छौँ । हाम्रा सरकारी निकायहरूको योगदान अतुलनीय छ । वर्षौंवर्ष धूलो, हिलो, खाडल हुँदै आहालमा परिणत भएका सडक कहिलेकाहीँ झुक्किएर पिच पनि हुन्छन् । हामी चिन्तित हुन्छौँ, प्रदूषणको प्रतिस्पर्धामा हामी हार्छौं कि भनेर । तर, हाम्रो चिन्ता केही क्षणमै दूर भइहाल्छ । सडक पिच भएको साँझदेखि नै खानेपानी वा ढलका कामदारहरू गैँती बोकेर निस्कन्छन् र नयाँ पिच खनेर माटो थुपार्छन्, सडकका माझमा भ्वाङ पार्छन् र जान्छन् ।

सहरबाट अलिकति वरपर जानुहोस्, खेतीयोग्य जमिनमा टनाटन इँट्टा फलाएका छौँ, कंक्रिटको लहलह खेती गरेका छौँ । हरियाली त देख्नै हुँदैन, अलिअलि हुर्किन खोजेका बोट–बिरुवा उखेलेर हामी आकाशतिर उचाल्दै जिन्दावाद र मुर्दावाद गर्न थालिहाल्छौँ । मरेका जनावरहरू खोलामा खसाउँछौँ । पुराना भएका सिरक, डस्ना, राडीपाखी फाल्ने पनि खोलामा हो । बाँचुन्जेल त ढल हाल्छौँ, मल हाल्छौँ, मरेपछि लासले लगाएका गन्जी–कट्टु पनि फुकालेर खोलैमा फाल्छौँ । लास बालेर सकेपछि खरानी, अँगार, बाँस र दाउरा पनि खोलैमा झार्छौं । यसरी जन्मेदेखि खरानी हुन्जेलको हाम्रो अथक् प्रयासले हामीले हाम्रो राजधानीलाई यहाँसम्म ल्याइपुर्याएका हौँ । हामीले अरू कुनै सहरभन्दा पछि पर्नुपर्ने कारणै छैन । सानो मुलुक भनेर हामीलाई हेपेर तेस्रो पारिएको हो । हामी नै पहिलो हो भन्ने कुरा हामी ०७३ सालमा प्रमाणित गरेरै छाड्ने चुनौती दिन्छौँ । जज तथा प्रतिस्पर्धी सहरहरूलाई चेतना भया !!

नेपाल, वैशाख ८, २०७३