शाली नदीको किनारबाट
नदी अझै बगिरहेको छ पानी बोकेर
शिरमाथि रातो गाम्चा ओढेर
नदीलाई गरिएको हो अनुरोध–
बलेका बात्तीको उज्यालो, फूल र श्रद्धा पुर्याउन
र पूरा आयुको आशिष मागिदिन भगवानलाई ।
सय रोटी, सय नैवेद्य, सय थरी फूल छुट्याउँदा
पतिलाई, छोरालाई अथवा मित छोरालाई
गहिरो थियो आस्था ।
ठ्याक्कै प्रार्थनाको ७२ दिनपछि
अर्थात् २०७२साल बैसाख १२ गते मध्यान्ह
धडधडायो धरती ।
छरियो घर आफ्नै आँखाअघि
उछिट्टिएर घरबाट
लडे बाबु र छोरी नदी किनारमा
कान्लामा अडिए सासू र ससुरा
हेर्दाहेर्दै निर्जीव भए प्रियजनहरू
पहिरो भएर लड्यो घर
छ छैन माथ्लो वस्तीका गुरुङ केटासँग
हिमालपारि यार्सा टिप्न गएको छोराको सास !
आफूमात्रै खन्दाखन्दै बारी
एक्लै छुटिगई जमुना ।
साँझपख–
चिच्याइरहेका छिमेकीहरू,
अर्धचेतमा बडबडाइरहेका बृद्धबृद्धाहरू
भोको पेट र निस्ता आँखाले बितिसकेका
अभिभावकका शवका छेऊमा रहेका नानीहरू
धडधड धररर धडधड कामेको धरती
झमझम वर्षिरहेको आकाश
र छियाछिया फाटिरहेको हृदय छ थपेनी जमुनासँग
गोर्खामै थियो राजा पृथ्वीको दरबार जो चर्कियो
देवी मनकामनाको मन्दिर जो ढल्कियो ।
गोरखामै गयो पहिरो
र पहिरोले छोडिगयो ७५ वर्षे गुरुङ सुकमायालाई
वर्षभरिलाई छ एक डालो गहुँ
खोई कता छ मल्हम !
उनको छातीमा गएको छ पहिरो
भोक छैन, तिर्खा छैन
छातीभि…त्र मुटुमा
पहिरोसँगै पुरिएर हराइरहेकी
कान्छी छोरीको मायाको बाढी छ सुकमायासँग ।
हराइरहेछ नेवार बस्ती लुभूमा
सबै गुमाएर एक्लै बाँच्न विवश
दसवर्षे स्नेहा ख्याजुको चोट र
तीन दिन पुरिएर बाँचे पनि छट्पटाइरहेकी
अपाङ्ग चण्डेश्वरी गाइजूको पीडा छ भक्तपुरसँग
बारपाक पहिरो, भोक, हुरी र झरीमा पर्खिरहेछ– स्नेह
नेपाली युवा, सेना, प्रहरी र सशस्त्र बल
भग्नावशेषमा खोज्दा छन् मानिसहरूको जीवन
डरलाग्दो भो तातोपानी, लाप्राक र न्युरोडको साँझ पनि
भत्किएर मानिस पुरिरहेछन्
सिन्धुपाल्चोक, दोलखा र भोताङका भित्ताहरू
आहत् छन् पानीको प्यासले लार्के गाउँ र बगाङ गुम्बा
खस्यो हिमालयन जाभा छेउको सेतो दरबार पनि
चिरिए बाटाहरू आधुनिक प्रेमको दरारजस्तो
डर छ त्रास र करुणा छ सँगै ।
सिंगै मैदानमा सैनिक घरको
बिस्कुन छ प्रियजनका शवहरूको
भयङ्कर भूकम्प पुनरागमनको
निराकार हल्लाकोपछि कहाली जमेको छ
रत्नपार्क, सैनिकमञ्च, च्यासल र खुलामञ्चभरि
जमेका छन् आँखाहरू ।
अझै कहिलेसम्म पर्खिरहन्छन् मानिस
पराकम्पनहरू ? !
खुसी छ कतै कि
राष्ट्रपति पनि पालमा छन्
मन्त्री पनि घरबाहिर छन्
मनोरञ्जन छ कतै कि
आफ्नै महलसँग डराएर सडकमा आएका छन् धनीहरू
तिनको करोडौंको सम्पत्ति जोखिममा छ ।
चर्चा छ जुद्ध समशेरका भाषणको–
पालमा बसेका जनतालाई टुँडिखेलमा हेरेर
टोल्हाइरहेछ दौँडदो कालो घोडाको राणा मन्त्री
बाँकी सबैतिर छ शोकको व्याप्ति
हिँड्दा हिँड्दैको गन्तव्य रोकिएको छ
तर
सग्लै छ स्वयम्भूको लिच्छवीकालीन चैत्य
भक्तपुरको मल्लकालीन न्यायतपोल दरबार
उभिएकै छ कृष्ण मन्दिर
सग्लै छन् पशुपति नाथ र बुढानिलकण्ठ
बसन्तपुरको कुमारीघर
दोलखामा दुरुस्तै छन् भीमसेन मन्दिर ।
नढलेका घर, नबिग्रेका बाटा र नलडेका भीरहरू छन् अझै ।
कुच्चिएका भाँडा सोझ्याउँदै छिन् सि.पा. तिम्बूकी डोल्मा
भोकाहरूलाई पाउरोटी चिया बाँड्दैछिन्
इमाडोलकी चियापसले कमला दिदी
जीवित छन् दुई करोड उनान्सय लाख नब्बेहजार मानिस ।
भूकम्पले बेस्मारी हल्लाउँदा पनि
पश्चिमी दोहोरी भाकाले
चर्लक्कै बिताइदियो चुहुँदो झरी च्यासलको चहुरमा
बरखी बारिसकेर दिवङ्गत आफन्तको–
बर्खा स्याहार्न थाल्दै छन् किसानहरू ।
मुक्ति लिँदै छ देशले ‘सिभियर मायोपेथी’ बाट ।
रोकिएको छैन शालीनदी
थाकेको छैन देशको काँध
अग्लो छँदैछ दृढता
आत्मविश्वास हो हाम्रो धरहरा
फेरि रङ्गाउँदै सेता फूलहरू
उभ्याउन सक्छौँ प्रेमको सगरमाथा ।
00
भोताङ : रसुवा र सिन्धुपाल्चोकको जोड्ती
लार्के : सिन्धुपाल्चोकको लार्के र इन्द्रावती नदीको बीचको सामान्य मनसुनमा समेत सम्पर्क गर्न कठिन हुने गाउँ
बगाङ : सिपाकै गुम्बा
सिभियर मायोपेथी : थिचिएर हलचल गर्न नसक्ने भएको मांशपेशी
विराटनगर