कविहरूको देशमा
कविहरूको देशमा
हृदयको हावा चल्छ
पसीनाको पानी पर्छ
घाम लाग्छ चेतनाको
सौन्दर्य साधनामा सहभागी यहाँका
जङ्गली पूmल जस्ता मान्छेहरूले
सम्वेदनाको सास फेर्छन्
नवरसको भोजन गर्छन्
पोशाक लगाउँछन् इन्द्रेणिको
बाह्रैमास वसन्त लहराउने
कविताका बिम्ब जस्ता बस्तिहरूमा
माहुरीहरूले श्रमको सङ्गीत सिर्जना गर्छन्
पुतलीहरूले समानताको सितार बजाउँछन्
निर्माणको गीत गाउँछन् चराहरू
आत्माको अक्सिजन दिएर यहाँ
सजीव बनाइन्छ राष्ट्रको संविधान
मोक्ष प्राप्तिको लक्ष्य बोकेका दलहरू
मुटुको मसिले लेख्छन्
जीवनको घोषणा पत्र
रसाएका आँखाहरूको अदालतबाट
रसिला मनहरूको मन्त्रिमण्डललाई
आइरहन्छ आँसुको अन्तरिम आदेश
रेशमी फेटा बाँधेको दुलाहा जस्ता हिमालहरू
बैँसले उन्मत्त तरुनी जस्ता पहाडहरू
र आमाको छाती जस्ता मैदानहरू मात्रै छैनन्
पार्वतीले प्रीति रोपेको फुलबारीमा
जनकले जोगाएको ज्ञान
अरनिकोले आर्जेको सीप
र बुद्धले बाँडेको विचार पनि छ
समयको समुद्र सयर गर्दै
पर्यटक भएर आएका प्लेटो पनि
अहो ! कविता लेख्न थालेछन्
कविहरूको देशमा ।।
थलारा, बझाङ