१. परिचय
वि.सं. २००९ वैशाख १५ गते तनहूँ जिल्लाको जामुने गा.वि.स. को वडा नं. १, मानहूँ, गुणादीमा पिता पशुपतिनाथ खनाल र आमा खगमाया खनालको कोखबाट जन्मिएका चूडामणि खनालले त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०३२ सालमा मीमांसा दर्शनमा आचार्य र नेपाली विषयमा वि.सं. २०३३ सालमा स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेका छन् ।

रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा वि.सं. २०३४।१।५ को अस्थायी नियुक्तिसँगै सहायक प्राध्यापकको रूपमा शिक्षण पेशाको सुरुआतसँगै वि.सं. २०३६ भदौ ५ गतेबाट पृथ्वीनारायण क्याम्पस, पोखरामा सोही पदमा सरुवा भई पुनः अस्थायी सेवामा कार्यरत रहँदा रहँदै वि.सं. २०३६ माघ ३ गते त्रि.वि.से. आयोगको परीक्षा उत्तीर्णपश्चात् सहायक प्राध्यापक पदमा स्थायी नियुक्ति भए भने वि.सं. २०३९ माघमा उपप्राध्यापक पदमा पदोन्नति भएका हुन् भने हाल उनी वि.सं. २०६३ वैशाख १२ मा सहप्राध्यापक पदमा पदोन्नति भई यो लेख लेख्दाको अवस्थासम्ममा यसै पृथ्वीनारायण क्याम्पस पोखरामा सहप्राध्यापकका रूपमा कार्यरत रहेका छन् ।

वि.सं. २०२६ जेठ २० गते तनहूँ जिल्लाको खैरेनीटार गा.वि.स. जाम्दीका कृष्णप्रसाद सापकोटाकी ३ वटी छोरीमध्ये कान्छी छोरी मञ्जु सापकोटासँग १७ वर्षको उमेरमा परम्परागत विवाहपश्चात् हाल चूडामणि खनाल दुई पुत्र, एक पुत्रीका पिताका रूपमा मध्यम स्तरीय जीवनयापनका साथ ५९ औं वसन्त टेकिसकेका छन् । विभिन्न साहित्यिक संघसंस्थामा सक्रिय योगदान दिने चूडामणि खनाल वि.सं. २०६७ पुसको अधिवेशनबाट ‘नेपाल गद्यलेखक परिषद्’ कास्कीका कोषाध्यक्षमा पुनः निर्विरोध चयन भएका छन् भने उनले वि.सं. २०३१ माघ ९ गते तनहूँ गुणादीमा स्थापित महेन्द्र मा.वि. का संस्थापक अध्यक्ष र भवन निर्माण समितिको उपाध्यक्ष एवम् अध्यक्ष दुवै पद सम्हालेका थिए । यस्ता आधा दर्जन बढी संघसंस्थामा आबद्ध चूडामणि खनालले विभिन्न संघसंस्थाबाट सम्मानित हुने अवसर पनि पाएका छन् । उनले त्रि.वि. काठमाडौंबाट वि.सं. २०६५ असार २२ मा दीर्घ सेवा पदक, वि.सं. २०२५ भदौ १० गते जनकपुर अञ्चलबाट आयोजित बाल साहित्य सम्मेलनमा बाल साहित्य प्रथम पुरस्कार (कास्य मेडल) प्राप्त गरेका छन् । यसरी नै वि.सं. २०५८ मा ‘भक्तपुर जिल्ला बुद्धिजीवी समूह’ द्वारा अभिनन्दित भएका छन् । वि.सं. २०५९ पृथ्वीनारायण क्याम्पस पोखराबाट आदर पत्र प्राप्त गरेका छन् । त्रि.वि. प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस एकाइबाट वि.सं. २०६४ सालमा सम्मान पत्र, भैरव हास्य व्यङ्ग्य स्मृति प्रतिष्ठान हेटौडा २०६५ बाट सम्मानित भएका छन् । यसरी नै विभिन्न सङ्घसंस्थाबाट सम्मानित भएर जीवन्त व्यक्तित्वको जीवन बिताएका छन् ।

२. विषयप्रवेश
लेखक चूडामणि खनालद्वारा वि.सं. २०५३ मा प्रकाशित हास्यव्यङ्ग्य कृति ‘अन्तर्राष्ट्रिय पुड्केसम्मेलन’ कृतिको आद्योपान्त अध्ययन गर्दा हास्य व्यङ्ग्य लेखन कलाको पहिलो झुप्राका रूपमा यो कृति प्रस्तुत भएको पाइन्छ । झुप्रोभित्र थुप्रो राम्रा नराम्रा गन्थन मन्थनहरूको भण्डारण गरिएको छ । हामीले बाहिरबाट हेरेर मात्र भित्री खूबीको आँकलन गर्नु ईष्र्याले आँखा तर्नु समान हो । मेरो आफ्नो लाइन पनि हास्यव्यङ्ग्य क्षेत्र नै भएकाले यसभित्रका राम्रा नराम्रा विषयवस्तुको अन्तष्करणले विश्लेषण गर्नु देखेको कुरा सार्वजनिक गर्नु आफ्नो धर्म ठानेको छु ।

चूडामणि खनाल विभिन्न गद्य विधाका सर्जक हुन् । उनका हालसम्म ११ वटा कृति प्रकाशित भइसकेका छन् । हास्यव्यङ्ग्य कृतिहरूमा उनको ‘पोखराज’ पहिलो हास्यव्यङ्ग्य पुस्तिकाको रूपमा प्रकाशित भएको थियो भने ‘अन्तर्राष्ट्रिय पुड्केसम्मेलन’ दोस्रो, ‘खिनौरी सहर पसेपछि’ तेस्रो र ‘प्रमुख अतिथि’ चौथो हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हामीमाझ आइसकेका छन् । उनले हास्य व्यङ्ग्यात्मक शैलीमा हास्यव्यङ्ग्य निबन्ध लेखनको अविच्छिन्न यात्रालाई निरन्तरता दिइरहेका छन् । यस क्षेत्रमा एकोहोरो भएर अग्रसर रहनु हास्यव्यङ्ग्य निबन्ध लेखनको मामलामा सकारात्मक पक्ष हो । सूक्ष्म विषयवस्तुमा भारी चिन्तन÷मननका कोर्रा वर्षाउन खनाल खप्पिस देखिन्छन् । प्रस्तुत लेख लेखाइको अवस्थासम्ममा खनालको व्यङ्ग्य वाण, लेखन क्षमता तथा कुशलताबाट त्यस्तो प्रतीत हुन्छ ।

‘अन्तर्राष्ट्रिय पुड्केसम्मेलन’ मा उनको आफ्नै भनाइको सार यस्तो रहेको छ “यी पौष्टिक आहार, स्याहार, सुसार खोप खान्की नपुगेका भन्ट्याङ भुन्टुङलाई लम्ब्य्राङ लुम्ब्रुङ पार्दै सकी नसकी झ्याइँकुटी पार्दै पहिलो सन्तान प्रस्तुत गरेको छु ।” वास्तवमा उनले खान्की कटाएर, निद्रा कटाएर, पाहुनादेखि समय कटाएर जे जसरी भए पनि हास्यव्यङ्ग्य निबन्ध प्रकाशित गरेका छन् । यो कार्य हुनु आम पाठकका लागि खुसीको कुरा हो ।

साधना÷सृजनामा आफ्नो प्राध्यापकीय पेशाबाट बचेको पूर्ण समय खर्च गरिरहनुमै आनन्द मान्ने खनालको “रातको समयमा जतिखेर आँखा खुल्छ, उठेर लेख्न बसिहाल्ने बानीले मेरो निद्रालाई पनि बर्बाद बनायो” भनेर खनालपत्नी गुनासो पोख्नुहुन्छ । यसो विचार गर्दा चूडामणि खनाललाई साहित्यिक लम्पटका रूपमा चित्रण गर्न मन लाग्छ मलाई । यस उमेरसम्ममा उनको फूर्तिलोपन उस्तै छ, तल–माथि भएको महसूस हुँदैन । ब्रह्ममुहूर्तमा उठेर पोखराको सहरी क्षेत्रको फन्को मारेर ५ बजे घरै पुग्ने जोस जाँगर अद्यावधि ताजै छ । यस अर्थमा उनलाई उमेर, जाँगर र स्वास्थ्यले साथ दिएको मान्नु पर्छ ।

कहिलेकाहीँ राजधानीसम्म जाने कुनै काम प¥यो भने रात्रि बसको यात्रा गर्न रुचाउने र यात्राको क्रममा आफ्नो झोलामा सम्पादन र लेखाइका अधुरा किताबहरूलाई पूर्णता दिने वा खारखुर गर्ने निरन्तर वर्षिने यस्तो जोश जाँगरको एक अंशले मात्र पनि हामी न्यूनतम साहित्यकार बन्न सकिन्छ झैँ लाग्छ । उनका दाँतले उमेरमा स्याहार सुसार नपाएर लगभग मुख खाली जस्तो अवस्थामा छ तापनि मज्जाले पाकेको मांसाहार निकै रुचाउने, कोदो, फापर, मकै र गहँुको आहारमा रमाउने खनालले १ वर्ष बढी भइसक्यो चामलको परिकार नखाएको, सायद सुगरको सन्त्रासले हुनुपर्छ । अहिले त उनी निराभिष भोजन गर्छन् र निरामिष शयन गर्छन् ।

‘अन्तर्राष्ट्रिय पुड्केसम्मेलन’ हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह अठार इन्चीवाले मृत्तिका र लोहाका गारोसमेतको मजबूत झुपडी मान्नु पर्छ । यस झुपडीमा १५ वटा कोठा छन् । छुट्टाछुट्टै कोठामा विचरण गर्दा शब्दरूपी झाँकी र विवेकी आफ्नै पेरिसपेन्टले लगभग असल तुल्याउने परिश्रमको बाहुल्य पाइन्छ । सबै कोठाको कद हदभन्दा साना नभई नाच्न मिल्ने सरदरमा उस्तै उस्तै लाग्छन्, तर प्रत्येक कोठाको सुवास र स्वाद अलग अलग हुनाले कृतिरूपी झुपडीमा सुस्ताउन निस्ताउनु पर्दैन । आफ्नो विवेकी ओज र विषयवस्तुको खोज समयसापेक्ष लाग्छन् ।

निबन्ध सङ्ग्रहको पहिलो निबन्ध ‘नयाँ आविष्कार’ मा लेखकले कामभन्दा दाम खर्च गरेर “मै राम्री, मै पातली” हुँदै विमोचन गर्ने, टोलमा मपाइँत्वको ढोल पिटेर ठूलो भइटोपल्नेहरूलाई खबरदारी गर्ने’ काम भएको पाइन्छ । दोस्रो निबन्ध ‘अन्तर्राष्ट्रिय पुड्केसम्मेलन’ स्वयं पात्र बनेर सानाले पनि विश्वलाई हल्लाउन र चिनाउँछन् भनेका छन् । साना होचाको पनि कदर गर्ने बानी बसाल्नु पर्छ भन्ने आफ्नो भनाइलाई सदर गर्न आह्वान गरिएको पाइन्छ । शायद आफू पुड्को कदको भएर होला कदको हदमा सीमा नतोक्न अह्राएका छन् ।

तेस्रो निबन्ध ‘यहाँ धूमपान निषेध छ’ भित्र मान्छेलाई ‘जे नगर भन्यो, त्यही गर्न’ ऊ उद्यत हुन्छ । ‘जे पाइँदैन, त्यसको प्राप्ति प्रमुख’ बन्न पुग्छ । व्यापार तथा सेवाको नाममा ठगी गर्नेहरूले समाजलाई सताएको कुरा बताइएको छ । ‘धर्म सभा’ निबन्धले मन निचोरेर आँसु चुहाउन खोज्छ, यस्तालाई के हास्यव्यङ्ग्य भन्ने । ‘हास्य शून्य, व्यङ्ग्य प्रधान’ रहेको यस निबन्धले धर्मको नाममा हर क्षेत्रमा कुकृत्य हावी रहेको कुरा दावीका साथ इंगित गरेको छ । ‘रेडियो र पुड्के’ निबन्धमा लेखकले हास्यव्यङ्ग्य दुवै नौकालाई सन्तुलित रूपमा अगाडि बढाएर आफ्नो लेखन कौशल देखाएका छन् । स्वयं पात्रबाट विषय वस्तुको तानाबाना बुन्दै अस्थायी साधन र स्रोतको आँखा छलेर भए पनि सन्तानोत्पत्तिलाई रेडियोबाट बजाइने छेकवारको विज्ञापनले कुनै असर नपरी नपरी जनचासो तीव्र गतिमा अगाडि बढेको वस्तु तथ्यलाई इंगित गरिएको छ ।

‘वाद र मार्का’ देखि विमुक्त रहेका ‘महा’ कवि निबन्धमा लेखकको दृष्टिकोण मपाइँत्वले ग्रस्त कविको कथावस्तु कथ्यअनुसारको विषयवस्तु नमिल्दो भए तापनि निबन्ध ज्ञानवद्र्धक बन्न पुगेको छ । ‘मोतीराम भट्टराईलाई चिठी’ यस कृति भित्रको अर्काे निबन्ध हो । यसमा प्राज्ञ भनाउँदाहरूबाट नेपाल खण्डमा व्याप्त विकृति विसङ्गतिले भैरव अर्यालजस्ता पाखा लाग्नु पर्ने र निम्न स्तरका भुइँफुट्टाहरूले सम्मान पाउने, उचित मूल्याङकनको अभावमा माया नपाएर छायामा परेको गुनासो गर्दै वर्तमान विसङ्गतिप्रति कसिलो एवम् रसिलो गुलेली ठोकिएको छ ।

‘उडुस एक अन्तरङ्ग विश्लेषण’ निबन्धभित्र लेखकका दृष्टिमा नेता गिरी गरेर जीविका चलाउने नेतृत्व वर्गहरू मौका मिल्नासाथ दायाँ बायाँ लम्किएर चुस्न थालिहाल्ने निशाचर उडुसझैँ प्रतीत हुन्छन् । लेखकले यस निबन्धभित्र ज्यादै ठूलो बाघ र सारै सानो रक्तपिपासु उडुसलाई सानो र ठूलाको मिलन विन्दुलाई ‘कार्ल माक्र्सको साम्यवादी दर्शनको सफल परीक्षण’ भन्न रुचाएको पाइन्छ ।

‘धन महिमा’ निबन्ध हास्यभन्दा व्यङ्ग्यप्रधान रहेको छ । यसभित्र पढाइको खोस्टाले भन्दा धनधान्यले नै सर्वमान्य बन्न सकिने तर्क अगाडि सारिएको छ । आआफ्ना ठाउँमा सबै विद्वान् हुन्छन् भने प्राज्ञ भइयो भन्दैमा मख्ख पर्नु मुख्र्याइँ हो भन्नेतर्फ लेखकले आफ्नो बोली बुलन्द पारेका छन् । अर्काे निबन्ध ‘आफ्नै स्वर, आफ्नै अभिव्यक्ति’ निबन्धमा लेखकले साहित्य पनि राजनीति जस्तै चाकरी र चाप्लुसीको घुरान भइसक्यो । यसले साहित्य सर्जकको मान मर्दन भएको तर्फ सचेत गराइएको पाइन्छ । ‘गुरुः एक शब्दचित्र’ निबन्धमा लेखक खनालले गुरु भनेका घोडा÷गदाजस्ता होइन कि खच्चडजस्तो हुनुपर्छ भनेका छन् । घर व्यवहारले आक्रान्त निम्सरो न्यास्रो अभावग्रस्त जिन्दगी जिउदै, सन्तानोत्पत्ति गर्नुभन्दा खच्चडजस्तो थारो जिन्दगी शिक्षकको लागि सारै उपयुक्त छ भन्दै उच्छृङखल विद्यार्थीलाई नफरतको पर्रा बसाइएको छ ।

‘चकार महिमा’ यस निबन्धमा चाप्लुसीका बडा गुरुजीहरूले यसैमा आफ्नो जिन्दगी र सर्वस्व फुलेको फक्रिएको देख्नुलाई मुख्र्याइँ ठम्याइएको छ । यो नितान्त निम्सरो विवेकको रूपमा लेखकले लिएका छन् । ‘इज्जत’ निबन्धले नराम्रो काम गरेर भए पनि मान्छे इज्जतिलो ठाँटबाँटसँग चल्ःने गरेका छन् । मान्छेले मान्छे बस्ने देशको सीमा तोक्नु पनि मान्छेको इज्जतमा प्रश्न उठाउनु हो । यस लेखमा लेखक सीमारहित ब्रह्माण्डको अपेक्षा गर्छन् । ‘लामखुट्टे र झूल’ यस निबन्धमा अभावग्रस्त गरीब तथा दुःखीको हालत र देशका तल्लो वर्गका जनताको वस्तुस्थितिको चित्रण गरिएको छ ।

‘वन, वानप्रस्थाश्रम र वनकाली’ मा लेखकले राजधानी नजीकको वन हरियो देखेपछि अरूतिरका वन÷वन्यजन्तु पनि त्यस्तै असलै राम्रै होलान् भनी ठान्नु गलत हो भनेका छन् । वृक्षारोपण र सोको संरक्षणका नाममा राष्ट्रिय ढुकुटीलाई सुकुटी बनाई लुछाचुँडी गर्दै सिध्याउन अग्रसर तथा कथित देशभक्तहरूप्रति छेडखान गरेको पाइन्छ । ‘वृक्षारोपण’ शब्द अशुद्ध हो ‘वृक्षरोपण’ लेख्नुपर्छ भन्ने कुरामा लेखकले जोड दिएका छन् । मानव बचाइको अन्त्यावस्थामा वनवास जाने पुरानो चलन चल्यो भने हरियाली वन कता खोज्ने भन्ने चिन्तनले पिरोलिएका खनालको राष्ट्रवादी चिन्तन यस निबन्धमा टड्कारो रूपमा अगाडि आएको छ ।

३. विषय विस्तार÷प्रवृत्ति विश्लेषण
‘अन्तर्राष्ट्रिय पुड्केसम्मेलन’ हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहका चूडामणि खनालका रचनाहरूलाई आयामका दृष्टिले ३ किसिममा राखेर अध्ययन गर्न सकिन्छ । लामा, मझौला र छोटा । खास गरी नेपाली भाषा÷साहित्यका विविध विधाका ज्ञाता र स्रष्टा भए तापनि हास्यव्यङ्ग्य निबन्ध साहित्यलाई अन्य साहित्य सिर्जनाको तुलनामा धेरै समय दिए तापनि प्राध्यापकीय पेशालाई आफ्नो मुख्य कर्मको रूपमा अँगाल्दै आएका छन् । साहित्य सिर्जना गर्दा नवीनताको गहिराइसम्म पुगेर पाठकीय चारो टिप्दै प्रस्तुत हुने चूडामणि खनाल परिमाणात्मक, गुणात्मक र ऐतिहासिक दृष्टिकोणले समेत साहित्यिक शिखरका श्रीखण्ड हुन् भन्नमा कन्जुस्याइँ गर्नु पर्दैन । यस सन्दर्भमा यहाँ ‘अन्तर्राष्ट्रिय पुड्केसम्मेलन’ मा चूडामणि खनालको प्रवृत्तिगत विशेषता विश्लेषण प्रस्तुत गर्नु वाञ्छनीय हुन्छ ।

चूडामणि खनाल वि.सं. २०४७ सालदेखि औपचारिक रूपमा सिर्जनाको क्षेत्रमा ‘पोखराज’ नामक हास्यव्यङ्ग्य निबन्ध पुस्तिकालाई लिएर प्रवेश गरेको पाइन्छ । वि.सं. २०४७ देखि २०५३ सालसम्म लेखिएका कुनै कुनै अझै पुरानासमेत आफ्ना केही हास्यव्यङ्ग्य निबन्धहरूलाई ‘अन्तर्राष्ट्रिय पुड्केसम्मेलन’ मा समावेश गरेर प्रकाशित गरेका छन् । उनको यो पहिलो प्राप्य निबन्ध सङ्ग्रह हो । यस भित्र १५ वटा निबन्ध सङ्कलित छन् । यस कृतिको विषयमा भूमिका लेख्दै वासुदेव त्रिपाठीले भनेका छन् “यो कृति वयरको पोथ्रो पनि होइन र आम्रवृक्षका रूपमा लिन पनि सकिँदैन” ( अन्तर्राष्ट्रिय पुड्केसम्मेलन, मन्तव्य, वासुदेव त्रिपाठी, पृष्ठ ग ।) हास्यव्यङ्ग्यात्मक आधारभूत प्रतिभा चूडामणि खनालज्यूसँग प्रर्याप्त छ, तर यसलाई अरू लोक पर्यवेक्षण एवम् हास्यव्यङ्ग्य साहित्य र शास्त्रका व्यापक व्युत्पत्तिबाट खार्दै कथ्यको आविष्कार, विनियोजन र कथन पद्धति तथा भाषा शैलीका चुड्किला सीप कौशलका सहकारिताबाट उजेल्ने र चहकिलो तुल्याउने अभ्यास साधनाको परिपाकतर्फ भने उहाँले अझै कठोर यात्रा गर्न बाँकी नै छ ।” (अन्तर्राष्ट्रिय पुड्केसम्मेलन, मन्तव्य, वासुदेव त्रिपाठी, पृष्ठ घ ।) त्यसकारण लेखकले तत्कालीन समयमा सृजना गरेका निबन्ध समग्र विश्व द्रष्टा बन्न सकेको छैन बन्ने कुरा पनि भएन तथापि लेखकको चेतनापुञ्जले ओतप्रोत तुल्याउने प्रयास तथा लेखकीय प्रवृति शैलीको वैशिष्ट्य पनि आफ्नै प्रकारको रहेको पाइन्छ ।

भाषाशैली, उखान टुक्काको सार्थक प्रयोग र अनुकरणात्मक शब्दको प्रयोगले कलात्मक लाग्छन् । संस्कृत भाषाका छोटा, मीठा, सरल र संवेद्य भाषाको प्रयोग भएको छ । निबन्ध सङ्ग्रहभित्र शैलीको एकरूपता छैन । विवरणात्मक, संवादात्मक, प्रतीकात्मक, पत्रात्मक, संस्मरणात्मक, आदि स्वयं पात्र र प्रतीकस्वरूप प्रस्तुत भएर सिर्जना गरिएको यस कृतिभित्र नयाँ स्वाद, शैली, अलग, किसिमको मनोरञ्जनात्मक शब्द शिल्पताका कारण विकृति र विसङ्गति सहज रूपले पाठकलाई बोध हुन्छ ।

नेपाली समाजमा व्याप्त विकृति, विसङ्गति, धर्म, शिक्षा, संस्कृति, साहित्य, अर्थतन्त्र, प्रशासनयन्त्र, राजनीति, सामान्य एवम् मानवीय कमी कमजोरीजस्ता विविध पाटाहरू समेटिएको छ भने वस्तुको गुण, दोष मुख्य तŒवलाई ओझेलमा पार्दै विज्ञापनको वैशाखी टेकेर बजार विस्तार गर्ने, उडन्ते, पुङमाङे अन्धभक्त प्रशासकीय क्षमता, गरीबी अभाव, अशिक्षा, घात÷प्रतिघात, आदि विषय वस्तुको उठान र वैठान रहेको यस निबन्ध सङ्ग्रहमा वाद र मार्कादेखि अलग रहेर विशुद्ध मानव सेवामा तल्लीन र लीन हुन आग्रह गरिएको पाइन्छ । भाषिक प्रयोगका दृष्टिले मूल्याङ्कन गर्दा झर्राे नेपाली शब्दमा र संस्कृतमा रमाउँदै अङ्ग्रेजी भाषाका शब्दलाई भने यथासम्भव कृतिभित्र टिक्न दिएका छैनन् या भिञ्याएनन्, यसबाट नेपाली र संस्कृतमा राम्रो पकड र क्षमतावान् व्यक्तित्वको रूपमा लेखकलाई लिन सकिन्छ भने हास्यव्यङ्ग्यधाराका कुशल व्यक्तित्वको रूपमा स्वीकार्न सकिन्छ ।

उपसंहार
समकालीन नेपाली हास्यव्यङ्ग्य निबन्ध साहित्यको फाँटमा चूडामणि खनाललाई आवश्यक तथा अनिवार्य व्यक्तित्वको रूपमा स्वीकार्नु पर्छ । खनालका हास्यव्यङ्ग्य निबन्धमा पूर्ववर्ती मानक हास्यव्यङ्ग्य निबन्ध लेखकहरूको चहक महक पढ्न पाइन्छ । भाषा साहित्यलाई आफ्नै प्रकारले खेलाएर तातो होस् या सेलाएर पाठकसामु पस्किन सक्ने विशिष्ट कला पनि छ । यसो भए तापनि पार्थक्यताका वरणबाट ती असम्पृक्त छैनन् । नेपाली समाजको रुग्ण संस्कार, बेथिति, मानवका दुच्छर मनोवृत्ति, असंगति आदि प्रति पनि खनाल सचेत छन् । आत्म प्रकटीकरण सत्यतथ्य प्रस्तुति झीनामसिना विषयलाई लिएर पनि त्यसलाई खेलाएर इच्छानुसार तन्क्याएर स्वाभाविकता दिन सक्ने कला निबन्धकार खनालमा छ । धेरै निबन्धहरूलाई तत्कालीन समय र विषयवस्तुका साक्षीका रूपमा स्वीकार्न सकिन्छ ।

केही हास्यव्यङ्ग्य निबन्धहरू फितला र कमजोर प्रतीत भए तापनि अधिकांश हास्यव्यङ्ग्य निबन्धहरूले समकालीन नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा प्रतिनिधिमूलक हुने क्षमता राख्छन् । हास्यव्यङ्ग्य निबन्धलाई कसिलो, पोटिलो र चोटिलोको दाउन हाल्दै पाठकलाई मख्ख पार्ने जुन प्रयास छ, त्यसलाई सार्थक र सापेक्षताको देउरालीमा माथ निहुराएर पाती चढाउनै पर्छ । ‘अन्तर्राष्ट्रिय पुड्केसम्मेलन’ भित्रका हास्यव्यङ्ग्य निबन्धहरू युग, जीवन र जगत् एवम् मानव– मनका अन्तस्करणका आरोह–अवरोह, राग–अनुराग मान्छेका सम्वेदना, चेतनाको खडेरीका कारण भोग्नु पर्ने पीडा आदि सूक्ष्मतम सत्य तथ्यहरूको यथातथ्य प्रकटीकरणका रूपमा कृति सफल छ । यस सङ्ग्रहमा र अन्य कृतिमा समेत एउटै उखान र उस्तै भनाइलाई पुनः दोहो¥याउने र दोहो¥याई राख्ने कमजोरी पनि नभएका होइनन्, तथापि भाषिक प्रवाहमा खोट लगाउने ठाउँ छैन भन्दा नि विज्ञहरूले उत्खनन गरे भने पक्कै केही अनावश्यक तŒवहरू पनि खोट्याउलान्, कोट्याउलान्, तर म यत्ति भन्छु कि लेखक चूडामणि खनालको हास्यव्यङ्ग्य कृति ‘अन्तर्राष्ट्रिय पुड्केसम्मेलन’ ले आफ्नो कद र लेखाइको शिखरमा शब्दशिल्पीको हद सुपाच्य, रुचिकर अनि मानवमनका उकुसमुकुस गाँठाहरूलाई हास्यव्यङ्ग्य चेतबाट फुकाउने क्षमता र तरान आफूमा सुरक्षित राख्छ ।

फूलबारी–११, पोखरा, कास्की