“गाउँको बास बाँच्ने आस सहरको बास सत्यनास” भन्ने उक्ति कुन जुक्तिवाल जीवले जुरायो होला । आज ती त्रिकालदर्शी महर्षिसँग साक्षात्कार भए, म सहरको रहर कालत्र नलाग्ने गरी गाउँ फर्कने उपाय सोध्ने थिएँ । खै ! कुन जुनीका पापले हो जिउँदै सहरको बास भयो । 
“मरेपछि नर्ककै बास होस् तँ असतीको” भन्दै अमलेकी आमै आफ्नै बुहारीलाई धारेहात पारेर सराप्थिन् । उ बेला बुढीलाई सहरका आम्दानीको खण्डहर, महँगीको जहर र बेथितीका तरको हेक्का थिएन । नत्र त्यो नाथे नर्क सर्कबाट सर्लक्क फर्केर कालले बोलाउनु अघि एक पटक सहरको बास भएरै छाडोस् भन्दि हुन् ।
उ बेला ती पुराना कुरा पङ्गु भैहाले । अहिले सम्झँदा सरम लाग्छ । बाले बेलैमा ए बले ? शहर पस्न बल नगर बाबै ! भलोहुँदैन । तँ त मेरो छोरो पो त, जोरीपारीको सेखी झार्ने । मेलाको गिँडो र कुलको बिँडो थाम्ने । काँधीकाठ गरेर वैतरणी तार्ने भन्या थे । मेरा बाउ बिचरा ! लामपाते सुर्तीका पारखी र दमका सारथी । त्यही बोली बोल्दा बोल्दै, लहरे खोकीले बालाई झन्डै बोलायो । धुम्बे धामीले धुपध्वाँर गरेर धुमधामसँग मसान मुन्साएपछि दोहोरो सास फेरेर आश देखाए । म भने, सहरको रहरले बुल्केको बले के रोक्न सक्थे र, बिचरा बाले । बाउका बिन्तीको गन्ती नै नगरी, “भदौको डिगँे” झँ बुकुर्सी मार्दै म पुगेँ सहरमा । पुगे पनि के भन्नु ? अन्धाधुन्द अनमरिएँछु र अहिले खन्मरिएँ सहरको रातो तातो ताप्केमा ।
हुन त सहरमा सग्ला पक्षहरू पनि नभएका होइनन् । उ बेला आउनासाथै सहरको चिनारी र मेरो सहरीपनको किनारी काइदाले कोल्टो फिर्यो । बुच्चो कानमा मुन्द्रो चड्यो, कपाल बढ्यो र पाइन्ट झर्यो । शरीरमा सर्लक्कै आधुनिकता सर्यो र मुखमा कोद्रस पर्यो । बाउ बितेको खबर पाउनेबित्तिकै, घर जाने घनघोर आपत्तिलाई क्यान्सिल गरियो । किरियालाई पनि सेन्सर गरेर, एक दिन सुद्ध ममको फलाहार बसेर फत्तै गरियो । बुद्धि र विवेकको चौतर्फी विकास भयो ।
उतै हुँदा पनि चुस्ने र डस्नेसँग राम्रै चिनारी थियो । उडुस, उपियाँ, लामखुट्टे, गोमन र भुसुनाहरूसँग । तर सहरी दाँजोमा ती नाथे त “नौमतीका अगाडि सारङ्गीको र्यार्इं र्याईं” न ठहरे । यहाँ त कामदेखि दामसम्म, रामदेखि हरामसम्म, नेतादेखि नातासम्म र मतीदेखि श्रीमतीसम्म सबै चुस्ने र डस्ने मात्र ।
तीन मैनाअघि ग्याँसका सिलिन्डर साहुलाई सुम्पिएँ । उनले अहिलेसम्म आफन्तकै अड्को फुकाएँ । आज तीन मैनापछि दुईवटै रित्ता सिलिन्डर इमानदारसाथ आफ्नै हात लाएँ । चार दिनदेखि चिउरा र दालमोठको भरमा ओठ सुकाउँदै मेरी सात दिनकी सुत्केरी श्रीमती सुँक्कसुँक्क गर्दैछ । म मोरो अभागी आठ घण्टादेखि रित्तो ग्यालेन हल्लाउँदै हल्लनपुरी भएर मट्टितेलको लाइनमा लामबद्ध छु । खाउँ खाने कुरा छैन । जाउँ जाने बाटै छैन । साँच्चै भन्या हामी सहरबासीको त एकैचोटि सामुहिक निधन हुने भयो ।
हे ईश्वर ! किन यत्रो पक्षपात गर्यौ हँ ? किन ? पहाड र मधेसमा जन्मायौ ? किन ? कालो, गोरो, नेप्टो, चेप्टो र चुच्चे बनायौ ? किन ? बाल, युवा, वृद्ध, महिला पुरुष र जातजातको बनायौ ? हे पापिष्ट सृष्टिकर्ता ? तिम्रो पापको परिणाम हामीले किन र कहिलेसम्म बेहोर्नु हँ ?
हाल, काठमाडौं