सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खित्कै खित्का– ९

Nepal Telecom ad

ह्याप्पी वर्थ डे भूकम्प !
यो एक वर्ष तिमीले सिर्फ खाएर बितायौ । जन्मनासाथ ठूलठूला बिल्डिङ खायौ, गरिबका थोत्रा घर पनि खायौ । हजारौँ मान्छे खायौ । कतिको चाहिँ हातखुट्टा मात्र खायौ । त्यसपछि तिमीलाई त्रिपाल र कम्बल खुवाइयो । चाउचाउ र बिस्कुट त कति हो कति खुवाइयो । दाल, चामल, चिनी खुवाइयो । विदेशबाट जेटमा ल्याएर खुवाइयो, बजेट खुवाइयो । योजना र कार्यक्रम खुवाइयो । तिमी साह्रै खन्चुवा रै’छौ । जिन्सी–नगद केही बाँकी राखेनौ । त्यतिले नपुगेर तिमीलाई खुवाउन पुनर्निर्माण प्राधिकरण बनाइयो । यसले पनि खुवाउँदैछ । तिम्रो भुँडी ठूलो, मुख सानो रै’छ । त्यसैले खुवाउँदा तिम्रो मुखमा थोरै, खुवाउनेको हातमा धेरै टाँसिने गरेको छ । मह काढ्नेले हात चाट्छ भन्ने बुझेकै छौ ।

तिमीलाई पछ्याउँदै परकम्प आए । जति परकम्प आउँछ, त्यति खुसी हुनेहरू पनि भए । परकम्प होइन तिम्रो दाजु भूकम्प नै आओस् भनेर पनि कामना गरे होलान् कतिले । जसले तिम्लाई खुवाउने र हात चाट्ने काम गर्दैछन्, तिनलाई तिम्रो दाजु चाहिएको छ । जति खुवाउने बहाना मिल्छ, त्यति हात चाट्ने मौका मिल्छ । त्यसैले काढ्नेभन्दा चाट्ने काम धेरै भइरहेछ ।
प्रिय भूकम्प !
दशकौँसम्म पनि तिम्ले खाने र हाम्ले चाट्ने काम भइरहनु पर्छ । तिमी सधैँ मुख आँ… गरेर बस, हामी मुखमा हालिरहन्छौँ अनि हात चाटिरहन्छौँ ।

पाठ
भूकम्पले हामीलाई धेरै पाठ पढाएको छ, तीमध्येका केही पाठ ः
–राहत बाँड्न एनजीओ चाहिन्छ । एनजीओलाई आईएनजीओले सहयोग दिन्छ । त्यसरी आएको सहयोगमा मजासँग तलबभत्ता खाएर मोज गर्दै राहत वितरण गर्न सकिन्छ भन्ने तत्वज्ञान पाएका छौँ । यसलाई पाठ मात्र भनेर पुग्दैन, महापाठ भन्न सकिन्छ ।

–महिनासम्म सुपर हिट थेगो थियो ‘भूकम्पबाट पाठ सिकियो’ भन्ने । यदाकदा अहिले पनि यो थेगो सुनिन्छ । खासमा भूकम्पबाट के पाठ सिकियो त ? पाठसाठ त्यस्तै हो, नयाँ थेगोचाहिँ सिकियो ः

०उद्दार तत्काल गरे पनि राहत चाहिँ ढिलो दिनुपर्छ । चाँडै राहत र पुनर्निर्माण गरेमा भूकम्प रिसाउँछ र पुन ठूलो भूकम्प आउँछ भन्ने पाठ पढियो । राहत र पुनर्निर्माणमा ढिलाइ गरेको हुनाले नै ठूलो भूकम्प नआएर परकम्प मात्र आएको हो । पाठकै कमाल हो यो ।
०धेरै ‘आयो आयो’ भनेर चिच्याइन्छ, त्यति चाँडो भूकम्प भाग्छ । हाम्ले त्यसरी नचिच्याएको भए बारम्बार आएको भूकम्प सजिलै जाने थिएन, हामी चिच्याउँछौँ अनि भूकम्प भाग्छ । यो ठूलो पाठ हो ।

०जानासाथ यति रेक्टरको हो भनेर हामी सहजै भन्न सक्छौँ । प्रविधिले नापेर केही मिनेटपछि भन्ने हो, हामीचाहिँ ‘आयो आयो’ भनेर भाग्दै गर्दा यति रेक्टरको भनिदिन सक्छौँ । यो चानचुने पाठ हो त ?

०निमुखालाई भूकम्प दशा हो, जान्नेलाई चाहिँ नयाँ दिशा हो, मौका हो, चौका हो । भूकम्पका लाभ अनेक छन् । जसले लाभ लिएका छन्, तिनले गजब पाठ पढेका छन् ।

ओली तथ्य
प्रधानमन्त्री केपी शर्मा ओलीको बोली तित्राको जस्तो तिरिरी छ तर समयचाहिँ कछुवाको जस्तो लस्याङ्ग्रे छ । त्यसैले उनी कहीँ पनि निर्धारित समयमा पुग्दैनन् । विदेश जाँदा पनि समयमा पुग्दैनन्, स्वदेशको त कुरै भएन । पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि अढाइ घन्टा ढिलो पुगेछन् । अर्थात्, हजारौँ विद्यार्थी र अभिभावकले अढाइ घन्टा समय ओलीका नाममा अर्पण गरे ।

कुनै एउटा कार्यक्रममा ओली समयमै पुगेका थिए रे ! त्यहाँ उपस्थित सबैले आ–आफ्नो घडी हेरेछन् । एउटाले अर्काेलाई समय सोध्ने, अर्काेले अर्काेलाई सोध्ने ! विचित्र अवस्था भएछ । यो कुरा थाहा पाएर ओलीले भाषणमा भनेछन्– ‘एउटा उखान सोच्दै थिएँ, त्यसैले आउन ढिलो भयो ।’ श्रोताले सोधेछन्– ‘त्यो उखान भन्नुस् न !’ ओलीले यसो भने अरे– ‘आउन ढिलो भएकाले बाटैमा बिर्सिएँ !’ त्यसपछि दर्शकले के गरे थाहा छ ? हाँसे !

ओलीले हँसाउँछन्, यो तथ्य हो । उनका बारे अन्य तथ्य पनि छन् ः

– ओलीले बेढंगको कुरा बोल्दा कोही हाँसेन भने ऊ नेपाली भाषा नै नबुझ्ने मानिस हुन सक्छ ।
– कुनै कार्यक्रममा ओली समयमै पुगे भने घडी बिग्रेछ भनी जाने हुन्छ ।
– ओलीको बोली चल्छ, हात चल्दैन । हात किन चल्दैन ? किनभने, हातले कहिले पनि बोल्न पर्दैन । त्यसैले बोल्नुपर्ने अङ्ग मात्र चल्छ उनको ।
– ओलीको बोलीले पाँच रेक्टरसम्मको कम्पन ल्याउने एक अध्ययनले देखाएको छ । कम्पनका कारण उनी हिँड्न सक्दैनन्, त्यसैले कहीँ पनि समयमै पुग्दैनन् !

भागबन्डा
पहिले प्रजातन्त्र भन्थे, अचेल लोकतन्त्र भन्छन् । बोक्रा उस्तै हुन्छ तैपनि किन प्रजातन्त्र र लोकतन्त्र दुईथरी नाम ? यी दुईमा के फरक छ ? गुदी फरक छ । लोकतन्त्रमा भागबन्डा हुन्छ । प्रजातन्त्रमा केही नेता मिलेर खुसुक्क खान्थे, त्यसैले त्यसबेला ‘भागशान्ति जय नेपाल’ भन्थे । लोकतन्त्रमा खुसुक्क केही पनि हुन्न, भागशान्ति पनि हुन्न, ठाडै भागबन्डा हुन्छ । त्यसैले लोकतन्त्रलाई भागबन्डातन्त्र पनि भन्न सकिन्छ । भागबन्डातन्त्रमा जुनसुकै लाभको भागबन्डा गरिन्छ । भागबन्डा पनि लरतरो हो र ? समानुपातिक गरिन्छ । फलाना पार्टीलाई यति भाग, ढिस्काना पार्टीलाई यति भाग । पार्टीले भाग पाएपछि पार्टीभित्र पुन भागबन्डा हुन्छ । फलाना नेतालाई यति भाग, चिलाना नेतालाई उति भाग गरिन्छ । ठूला ठेक्कापट्टा होस् या राजदूत पद, झ्याप्पै पारेर बाँडिन्छ । भूकम्पपीडितको राहत होस् या विदेश भ्रमणको अवसर, जे पनि भागबन्डा गरिन्छ । किनभने, लोकतन्त्र जोगाउनु परेको छ । बाँड्ने काम यति व्यवस्थित हुन्छ कि भागबन्डा मिलाउन वर्षाैं लाग्न पनि सक्छ । जस्तो कि, राजदूत पद । भागबन्डा मिलाउनै चार वर्ष लाग्यो ।

कतिपयले अंशबन्डाकै अर्काे रूप भागबन्डा हो भन्छन् तर त्यसो होइन । अंशबन्डा गर्दा बाआमाको भागमा जिउनी छाडिन्छ । अंशबन्डा गरेपछि परिवार छुट्टिभिन्न हुन्छ तर भागबन्डा गर्नेहरू झन् मिलेर बस्छन् । अंशबन्डा विभाजन हो, भागबन्डा एकता हो । बरू गमले टाँसेको कागज उप्किएला तर भागबन्डाले टाँसिएका पार्टीहरू सितिमिति छुट्दैनन् । एकता नै बल हो भन्छन् तर लोकतन्त्रमा भागबन्डा नै बल हो ।

यस्तो उपयोगी भागबन्डा चलिरहोस्, भागबन्डासँग चित्त नबुझ्नेहरूको मन जलिरहोस् !

नेपाल, वैशाख १६, २०७३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad