आज सबैको मुखमा जातले पकाएको भात अनिवार्यझैं भएको छ । अनिवार्य त्यसकारणले भयो यहाँ एक अर्कामा विश्वासको सङ्कट छ, त्यसैले समयसँग मिल्दै जातले पकाएको भात निल्दै समयसापेक्ष बन्न सिक्नु प¥या छ । एउटा पार्टीका कार्यकर्ताले अर्को पार्टीको हर्ताकर्ताको पानी बाराबार गरेपछि मारा मार हुन के बेर भनेर अब नेपाल सरकारले नै घोषणा गर्न लागिसकेको छ, ‘जातले पकाएको भात अनिवार्य’ भनेर । आज भोलि रातारात वंशाणुगत जात हरायो । बाहुन, क्षत्री, वैश्य, आर्य, अनार्य, शुद्र सबै एउटै ड्याङ्का मूला भए सबैसँग सबै ठूला भए । सानु हरायो । अब त चार जात छत्तीस वर्णका पार्टीहरू पो जातको रूपमा अगाडि आए । अब एक पार्टीले पकाएको अर्को पार्टीले नखाने, एक पार्टीको सन्तानले अर्को पार्टीसँग सन्तानोत्पत्ति खातिर अङ्गालो हाल्नै नहुने भयो । हाल्यो कि ढाल्यो को स्थितिमा कसरी अँगालो हाल्ने ? आदि कारणले समय सङ्कुचनतर्फ अग्रसर भएको देखिन्छ । समय सङ्कुचनको अर्थ मानव मनहरू साँगुरिदै गए । एक अर्कामा यावत बाहनामा मानवहरू अटाउन छोडिसके । मानवमनमा राक्षसगणले साम्राज्य कायम गरिसकेको छ । त्यसैले पार्टीगत जात, सिद्धान्त र शैली मिल्नै पर्छ । पार्टीगत जात नमिलाई भात हसुर्दै हास्यो भने त्यो नास्यो भनेर जाने हुन्छ ।

जातले पकाएको जात जीवात्मालाई मात्रै होइन मृतकलाई पनि अनिवार्य मानिन्छ । सगोत्रीले दिएको पिण्ड पानीमात्र पित्रीले स्वीकार्नुको कारणै त्यही हो । पित्रीहरूमा मातामह, पितामह, प्रपितामह, वा पितृस्वसा नै किन नहुन् आफ्नै जातले दिएको भात वा खिरीमाम वा गच्छेअनुसारका खुराक खान पाए हुन्थ्यो भनेर स्वर्गमा आँऽऽ गरिराखेका हुन्छन् । त्यस ठाउँमा हामी पनि पुगिन्छ, तर नमरेसम्म स्वर्गको आसै नगरौँ । नमरी स्वर्ग देखिदैन भन्ने उखान शिरोपर गर्नै पर्छ । बाँच्न पट्यार लागे पनि बाँच्नै पर्छ, नाच्न पट्यार लागे पनि नाच्नै पर्छ । ‘जातले पकाएको भात खाऊँ सबैसँग रमाऊँ’ यस समयले सिर्जेको नारा हो, आधुनिक युगको देन हो । समयानुसार पार्टीगत जात मिल्नै पर्ने ग्रहगोचर प्रबल देखिन्छ । हामी स्वाँठ सिल्ली जे भए पनि बाँचुन्जेल मिल्ने र मरेपछि स्वर्गको ढोका खोल्ने ध्याउन्नका साथ जातले पकाएको भात नटुटाई एकले अर्काको टाउको नफुटाई उग्राउनुमा नै जात र जगतको कल्याण हुनेछ ।

अहिले विश्वमा दुई थरीका मानवहरूको अस्तित्व देख्न पाइन्छ । दुबैथरी मानवै हुन् तर एकले अर्काको अस्तित्वलाई ठाडै नफरत गर्छन् । ती हुन आस्तिक र नास्तिक । नास्तिकले पकाएको भातमा आस्तिकको वक्रदृष्टि परेको हुन्छ । शाकाहारी र मांशाहारी यिनीहरूकै जमातमा पर्छन् । यिनले पनि एकले अर्काको खुराकमा आजीवन वक्रदृष्टि गरी गरी इहलीला समाप्त गरेका हुन्छन् । जातले पकाएको भात यी वर्गलाई पनि प्यारो थियो र आजको पुस्तामा यो झन् टड्कारो रूपमा अगाडि आएको छ । चोखीनीतिको कारणले भन्दा पनि राजनीतिक सिद्धान्त र शैलीको कारण यसले क्षुद्ररूप लिएको छ । शाकाहारीले मांसाहारीलाई निचोर्ने मांसाहारीले शाकाहारीलाई चिर्थोने । आस्तिकले नास्तिकको खुट्टा तान्छ, नास्तिकले आस्तिकको खुट्टा तान्छ । यी विविध धर्मिताका मानवहरूलाई मिलाउने सरल रेखा भनेकै ‘जातले पकाएको भात’ हो । स्वजातले पकाएको भात भन्दा ठूलो केही छैन । तर जात छुट्याउन जान्नुपर्छ । जात छुट्याउन जानिएन भने जात गहतको झोलमा पर्न सक्छ । जात छुट्याउन नजानेर जातमा हलो अड्कियो भने त्यहाँ महाभारत सुरु हुन्छ । यस भन्दा अगाडि नै हामीले मांसाहारी शाहाकारीको कित्ताकाट गरिसक्नुपर्छ । यी जातहरू झन् भयानक हुन्छन् । एकले अर्काको अस्तित्वलाई पृथ्वीबाट पल्टा ख्वाउने ध्याउन्नमा लीन हुन्छन् । यिनलाई साम्य पार्ने भनेकै जातले पकाएको भातले हो । जातले पकाएको भात सभ्य समाज र सज्जन मानवका लागि भरपर्दो कडीका रूपमा शिरोपर गर्न सकिन्छ । भेडा भेडाकै हुलमा हिँड्छन्, बाख्रा बाख्राकै हुलमा हिँड्छन् । पशु र प्रकृतिले पनि आफ्नो हुल छोड्दैन भने मान्छेले के छोडोस् ।

कि जातले पकाएर कि आफ्नै हातले पकाएर खान पाए हुन्थ्यो भन्ने मानवहरू पृथ्वीलोकमा छ्याप्छ्याप्ती पाइन्छन् । जातको पगरी गुतीराख्नेहरूले अरू जातको हातलाई हातै मान्दैनन् । आफ्नै हात र भात प्यारो ठान्छन् । प्याराले गरेको काम त्यसै पनि प्यारो हुन्छ । त्यसैले प्यारोले पकाएको भात झनै प्यारो हुन्छ । तथापी खान पाइयो भन्दैमा जसले दिएको पनि खानु राम्रो होइन । हन्तकाली स्वभाव स्वयंमा राम्रो फापसिद्ध हुँदैन । खानेले खान्छन् आफ्नो कर्तव्य पथबाट मानवहरू विचलित हुन्छन्, तर पशुहरू आफ्नो कर्तव्य पथबाट कहिल्यै विचलित हुँदैनन् । आजीवन पशुजन्य स्वभावका साथ पशुहरूले प्राण त्याग्छन् । तर मानवहरू आफ्नो कर्तव्यपथमा पशुभन्दा निचो मानिने गरी धर्म छोडिराखेका छन् । आफ्नो कर्तव्यपथ र वंशाणुगत स्वभावबाट पशुहरू डगमगाउँदैनन् । मान्छेहरू अधिक बाठो भएर होला चतुर कागले झै छिः छिः ज्यूनार गर्छन् । कुतिको बाटो काशी पुग्छन् र आफूलाई पृथक् अस्तित्वको देखाउन ‘जात भात सबै लात’ भन्दै टुपीलाई पैतालामा उमार्न खोज्छन् र प्राकृतिक स्वभावको खिलाफमा रत्तिन रमाउँछन् । तिमी, हामी, ऊ, त्यो, हरपक्ष हर व्यवहारमा जातले पकाएको भातको धङधङी दूधमा घ्यू लुकेझै लुकेर छुपेर रहेको हुन्छ र यसलाई कसैले पनि ठाडो शैलीमा गर्जनका साथ नफ्रत गर्दैनन् । कारण सरकारले सुईको पायो भने कोर्रा बर्साउँछ । अतः नवदुलहीलेझैं त्यो घर व्यवहार सरकार, संस्कार र समाजलाई पचोस् वा नपचोस् सहज रूपले स्वीकार्छन् । शायद जातले पकाएको जात वाध्यात्मक स्थितिमा अझ प्यारो र स्वादिष्ट हुन्छ कि ?

आज कामकर्तव्यको कसौटीमा जात घोटेर छुट्याउने दिन गए । समयको प्रवाहसँगै जातको तरेली मलिन हुँदै गएको छ । टड्कारो जातको रूपमा माओवादी, कांगे्रस, एमाले यस्तै दलगत जातिहरूको रबैया र हवैया चलेको छ । प्रजातन्त्रलाई संरक्षण गर्ने वा विनाश गर्ने जस्ता जातहरू विश्वव्यापी रूपमा हैजाझैं फैलिएका छन् र त्यसैको सेरोफेरोमा रहेर मान्छेलाई मान्छेले हेला गर्ने, माया गर्ने, लड्ने, जुध्ने, कुट्ने, फुट्ने, भुट्नेजस्ता झगडाका बेर्नाहरू खोकिलामा मौलाई राखेका हुन्छन् । यसैको रागले मानवहरू बौलाइराखेका हुन्छन् अतः जातले पकाएको भात अप्ठ्यारो स्थितिमा अस्त्रको रूपमा प्रक्षेपण गर्छन् ।

आज नेपालमा संविधानसभाका ६०१ जना सभासद्ले संविधान चुलामा बसालेको २ वर्ष भईसक्यो तर संविधान पाक्ने वा तयारी हुने स्थिति छैन । संविधान पाक्ने छाँटकाट छैन । एउटै जातले पकाएको भए पाक्थ्यो भनेर एकले अर्काे दलरूपी जातलाई ‘अल्झो सैतान’ भन्दै सरापी राखेका छन् । “म खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरूँ” भन्ने सङ्कीर्ण सोचाइ हावी भएको छ । अर्कैले गर्दा पाक्न पाएन मलाई मात्र देउ पकाएर देखाउछु भनेर माओवादी गर्जिन्छ अर्काे तर्सिन्छ । गर्दा धन्दा जातले पकाएको भात खान पाइएला जस्तो छैन । अब भात पकाउन विदेशबाट के कस्ता जात झिकाउने हुन देशभक्त नेताहरूलाई थाहा छैन ।

जातले पकाएको भात यस जमानामा अपरिहार्य जस्तै भएको छ । एउटा पार्टीले तयार गरेको खुराक अर्काेले नखाने, आस्तिकले पकाएको नास्तिकले स्वीकार्दैन । नास्तिकले पकाएको भात आस्तिकले हसुर्दैन । कस्तो अप्ठ्यारो समय आयो । आतङ्ककारीले ‘म पकाएर दिन्छु’ भन्छ अर्काेले ‘म खान्न’ भन्छ । भातमात्र नखाए त हुन्थ्यो नि ? कुरो पनि खादैनन् र पो मा¥यो त । खाँदैनन्, हेर्दैनन्, छुँदैछँुदैनन् घर, व्यवहार, ऐँचो, पैँचो केही गर्दैनन्, नखानुमै यिनीहरूले आफूलाई बुद्धिमानी ठान्छन । जात भनेकै स्वजात हो । स्वजातले पकाएको भात ढुक्क, निर्धक्क शंकारहीत आनन्दपूर्वक उदरस्थ त्येतिखेर हुन्छ जतिखेर जातले पकाएको भात पाइन्छ । आफ्नो जातभन्दा नजिक र विश्वासिलो अरू प्राणी हुँदैन । तर एउटै घरमा बसेपछि खाली चुलाको सङ्ख्या बढाएरमात्र हुँदैन । भान्सेको हातको डाडु पन्यौलाई सबैले विश्वास गर्दै जाउलो रूपी संविधान ज्यूनार गर्ने तत्परता देखाउनु पर्छ । विश्वास र भरोसाले ओतप्रोत भएका छसय एक जना भान्सेका हातहरू जब गुन्द्रुक, ढिँडो, सिदो, पीठो आफ्नो देश र जनता सुहाउँदो खुराकहरू बेलैमा दिन तम्सन्छन् तब मुख त्यसै रसाउँछ, घर भान्सा त्यसै बसाउँछ । निलू निलू चापी राखूँ वा थाल थापी राखु जस्तो लाग्छ । हित्त, चित्त मिलेपछि जातले पकाएको भातलाई मीठो सितन चाहिँदैन । त्यसै पनि भित्र पस्छ, छिर्छ । तर जब जातमा मूर्खले औँला ठड्याउछ तब शङ्काको टोनेडो चल्न थाल्छ । शङ्काको घेरामा परेपछि मै हँु भन्ने भालेको पनि सिउर निहुरिन्छ । विश्वास घात गर्नु हुँदैन ।

भान्सेहरू हो हत्केलामा हाल्दै चाख्दै गरेर नजुठ्याऊ । हातमा नखेलाऊ बरू भन के सर्दाम सितन पुगेन र संविधानरूपी भात तयार गरेनौ । मालिक मालिक झगडा गर्ने अनि जनतारूपी सन्तानलाई भोकै राख्ने ? शङ्का लाग्ने कुनै पनि बाहना सन्तानलाई स्वीकार्य छैन । शङ्का लागेपछि पक्षीहरू वर्डफ्ल्यूको आशङ्कामा नासिन्छन्, मासिन्छन् र पृथ्वीमुनि भासिन्छन् । यस्तै हुन सबै जातरूपी प्राणीहरू, शङ्का लागे पछि रसातलमा पुग्छन् । नलाग्नु शङ्का लागेपछि जातले जात हेर्दैन, मायालु अँगालोले बेर्दैन, एकले अर्कोलाई टेर्दैन । टेरिन, हेरिन र माया जालमा बेरिन आनन्ददायक जीवन यापनको लागि मृतक सहिद तथा चतुर भतुवा मानवहरू आज पल प्रतिपल जातले पकाएको संविधानरूपी भातको व्याग्र प्रतीक्षामा ६०१ सभासद्तिर फर्र्किएर उँघिराखेका छन् । जे होस्, हामी सन्तानरूपी जनताले घाट कुरे मसान पाइन्छ, भान्साकुरे भात पाइन्छ । कुर्न नछोडौँ ।

फुलबारी, पोखरा
२०६७÷१÷१५