सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नबुझ्नेलाई खुर्पाको बिँड…

Nepal Telecom ad

अत्यन्त विनम्र स्वभावका मेरा काका आज अत्यन्त क्रोधित भएको देखेर मेरो मनमा विभिन्न शङ्का उपशङ्का उत्पन्न हुन थाल्यो । यसरी एकाएक कुन चाहिँ भुइँचालोले काकालाई हलचल गरायो भन्ने तर्कले ममा निक्कै खुल्दुली बढ्यो । उता काकाले राता राता आँखा पल्टाउँदै मलाई झम्टिन लाग्दा काकाको धोती खुस्किएर चाउरिएका सिथिल खुट्टी कमाउँदै मतिर दौडिँदा म अक्क न बक्क भएँ । लामा लामा दाह्री हल्लाउँदै काकाले गाली बर्साउन पनि बाँकी राख्नुभएन— “नालायक ! मैले तँलाई शुद्ध पण्डित खोजेर ल्या है भन्या होइन ? बजिया ! तैले त यो …!” भनेर पण्डितजीतिर आँखा तर्नुभयो । म लुगलुगी काँप्दै विनम्र भएर उत्तर दिन थालेँ– “काका ! हजुरले नै मलाई सबैभन्दा जान्ने सबै कुरा बुझेको पण्डित ल्याउनु भनेर भन्नुभएको होइन ?” काकाले झनै रौद्ररूप धारण गरेर मेरो सातो बुकाउन थाल्नुभयो, “हैन ए काइँला ! तँ अझै मेरो कुरालाई ठट्टामा उडाउँदै छस् ! तेरा गाला चड्काइदिऊँ ?”

यसो भन्दै काका मतिर झम्टिएपछि अब मसँग केही विकल्प थिएन । मैले के बोल्ने, के नबोल्ने, के गर्ने, के नगर्ने, छुट्याउनै सकिनँ । सर्वज्ञानी महापण्डित जसले रेस्टुरेन्टको राँगाको सुकुटीदेखि स्थानीय कोदोसम्म चिनेका, सबैको अपुताली र काट्टो हसुरेर दमाहा झैँ भुँडी बनाएका नेताका गल्लीदेखि रेस्टुरेन्टका डल्लीसम्म चहार्न पछि नपरेका, न्वारानदेखि श्राद्धसम्म गर्न सिपालु पण्डित खोजेर ल्याएँ । मेरो लाटो बुद्धिले यिनैलाई सर्वज्ञानी महापण्डित ठह¥यायो तर के पो गर्नु र ! यहाँ त आफू ताक्छ मुढो, बन्चरो ताक्छ घुँडो भने झैँ भयो । काकाले स्याबासी दिनुहोला भनेको त उल्टै सातो बुकाइदिनुभयो । गाँठी कुरो चाहिँ के परेछ भने पण्डितजीले काकाको छोराको न्वारान गर्दा नाम चाहिँ ‘जोकर’ राखिदिनुभएछ । काका आफैँ नाम चलेको पण्डित भएको हुनाले छोराको नाम ‘कर्तव्य’ जुराउनु भएको रहेछ तर काकाको इच्छा विपरीत ‘जोकर’ नाम पाएपछि काका रिसाउनु स्वाभाविकै जस्तो लाग्छ । त्यही पनि ‘छोटी मुह, बडी बात’ भन्ने उखान झैँ मैले काकालाई सम्झाउने प्रयत्न गरेँ ।

काका यो नाम पनि मलाई त राम्रै पो लाग्यो है । यसले आफ्नो कला प्रर्दशनी गरेर कि त समाज सुधार गर्ला, नत्र तिखो व्यङ्ग्य प्रहार गरेर भए पनि फटाहालाई झ्यामझ्यामी सिस्नोपानी लगाउला मात्र के भनेको थिएँ काकाले थुइक्क बजिया ! तेरो बुद्धि तैँले त … च्याउ खाओस् न स्वाद पाओस् भने जस्तो कुरा पो गरिस् त । तँलाई हास्यव्यङ्ग्य के हो भन्ने के थाहा ? त्यसपछि कुमारजीले अगस्त्यमुनिलाई स्वस्थानी सुनाए झैँ व्यङ्ग्य महात्म्य सुनाउन थाल्नुभयो, “हे मेरा डुकुलठ्ठक भतिज ! तेरो गिदीभित्र गुदी छ भने कानेगुजी कोट्याएर मेरो कुरा राम्ररी सुन् । जुन व्यक्ति खुल्ला हृदयले हाँस्नसम्म सक्दैन, सधैँ मनमा कुण्ठा साँचेर राख्छ, त्यो मानिसले राष्ट्र, समाजको भलो त परै जाओस्, आफ्नै भलोसमेत गर्न सक्दैन ।”
मैले काकालाई विनम्रतापूर्वक सोधेँ– “त्यसो भए रातदिन गाँस न बास भएर आँसु बगाइरहेको मान्छे कसरी हाँस्न सक्छ त ?” काकाले फेरि इति वृतान्त सुनाउन थाल्नुभयो, “तँलाई हाँसोका परिकारसम्म पनि थाहा रहेनछ, हे डुकुलठ्ठक ! लौ सुन्, एकाग्र चित्त लगाएर बिच बिचमा बकबक गरिस् भने तेरो जगल्टासमेत छरुँला !” यसो भन्दै महात्म्य सुरु गर्नुभयो । जुन महात्म्य यस्तो छ—
“संसारमा हाँस्न सक्ने प्राणी मानिस मात्र हो । साहित्यका नौवटै रसको उपयोग मानिसले मात्र गर्न सक्छ । मानवेतर कसैले पनि साहित्यका अरू रसको चेष्टा प्रकट गरे पनि हाँसो प्रकट गर्न सक्दैन । त्यसैले हाँसो मानिसको मात्र पेवा भएर होला मानिसले विभिन्न प्रकारको हाँसो प्रकट गर्छ । सबैभन्दा आत्मिक भावना प्रकट गर्ने हृदयको स्पन्दन साटेर एकल र आत्मिक हाँसो प्रकट गर्ने माध्यम मुस्कान हो । केही काम बिगारेर वा गल्ती गरेर अरूको अगाडि अपराधी जस्तो भएर उभिई लाचारी प्रकट गर्नु ङिच्च दाँत देखाएर हाँस्नु हो । भित्रैदेखि खुसी भएर सामूहिक रूपमा खित्का छाडेर हाँसिन्छ । यो हाँसो समूहमा हाँसे खुसी प्रकट गरेको र एक्लै हाँसे पागल भएको संज्ञा पाइन्छ । स्वार्थमा निर्लिप्त भएर आफैँ मात्र ठुलो ठान्ने अहंवादी हरेक व्यक्तिले हाँस्ने हाँसो अट्टहास हो । अट्टहासलाई राक्षस हाँसो पनि भनिन्छ । यो हाँसोभित्र हिंसा, दमन, शोषण, त्रास, अन्याय लुकेको हुन्छ । साहित्यमा हास्यव्यङ्ग्यको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । जसरी राम्ररी पकाएर नुनतेल मरमसला मिलाएको भोजन मिठो हुन्छ, त्यसरी नै साहित्यलाई पठनीय एवं रोचक बनाउन पनि हास्यव्यङ्ग्यको सम्मिश्रण महत्त्वपूर्ण हुन्छ । मेरो विचारमा हास्यव्यङ्ग्य विनाको साहित्य नुनतेल विनाको तरकारी जस्तो स्वाद विहीन, केवल स्वरूप मात्र हो जस्तो लाग्छ । सबै पाठकलाई मेरै विचारसँग सहमत हुनुपर्छ भन्ने गलत सोचाइ भने मेरो अवश्य पनि छैन ।”

त्यसपछि के भो काका ! म जिज्ञासा प्रकट गर्दै गएँ । काकाले बेलीबिस्तार लाइरहनुभयो । भनिन्छ, जुन मानिस आनन्दसँग हाँस्न सक्छ, त्यसलाई हत्तपत्त कुनै रोगले छुँदैन रे । दीर्घ जीवनका निम्ति हाँस्नसम्म नसक्नु कतिसम्मको दरिद्रता हो ? पाठक स्वयंले मूल्याङ्कन गर्नुपर्ने कुरा हो । समाजमा व्याप्त विकृति र विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गर्दै समाजलाई सुधारात्मक बाटोमा हिँडाउन हास्यव्यङ्ग्य साहित्यले अहं भूमिका निर्वाह गरेको हुन्छ । एकातिर पेट मिची मिची हँसाएर मानिसलाई स्फूर्ति दिन्छ भने अर्कातिर मानिसको स्वभावलाई परिवर्तन गर्न व्यङ्ग्य साहित्यले विशेष भूमिका खेल्दछ । आजको अत्यन्त व्यस्त संसारमा कसैलाई अर्ती पनि पच्दैन र गाली पनि पच्दैन । यस्तो अवस्थामा तपाईं जोसुकैले हास्यव्यङ्ग्य साहित्यको सहारा लिनुपर्ने हुन्छ ।

मानिसले आफैँलाई ईश्वर ठान्दै पैसाले सबै थोक किन्न पाइन्छ भन्ने ठान्दछ तर पैसा त हातको मैला हो । यसले भौतिक सुख दिए पनि शान्ति दिन सक्दैन । देखावटी साथी पाइए पनि असल मित्र पाइँदैन, पुस्तक पाइएला तर विद्या पाइँदैन, शिक्षक पाइएला तर सदाचार सिकाउने सद्गुरु पाइँदैन अनि औषधी पाइए पनि आयु कदापि पाइँदैन । अतः वास्तविकताको नजिक पुग्ने प्रयत्न गर्न आजभोलि हरेक कार्यक्रममा केही न केही हास्यव्यङ्ग्यको सम्मिश्रण भएन भने दर्शकहरू कि त उठेर घरतिर लाग्छन् कि त ढुसुढुसु उँगिरहेका हुन्छन् । त्यसैले प्रत्येक घर आँगन, गाउँ गोठ, घाँस दाउरा, पानी पँधेरादेखि उच्च शिक्षाका गेटसम्म, सारङ्गी झैँ चाउरिएकादेखि दमाहा झैँ ढाडिएका पेटसम्म, तराईका फाँटदेखि हिमाली भेकसम्म, सोलुका लेकदेखि सिंहदरबारका गेटसम्म, मेचीदेखि कालीसम्म, चाउरिएका गालादेखि षोडसी ओठका लालीसम्म सबैलाई पेट मिची मिची हँसाउने सामथ्र्य बोकेको हास्यव्यङ्ग्य जमातलाई एक जना सिजनल साहित्यकारले जोकरको संज्ञा दिएर एउटा दैनिक पत्रिकामार्फत ह्वात्त बमन गरेको देख्दा यो टिप्पणीकारलाई केही लेखौँ जस्तो लाग्यो । पहिलो कुरा त मानिसले आफूसँग जे छ, त्यही मात्र दिन सक्छु भन्ने यथार्थ यहाँ ठ्याक्क मिल्न पुगेको छ किनकि कागतीको बोटमा स्याउ फल्नै सक्दैन ।

अर्को कुरा आफूभित्रको कुण्ठा र विकृतिलाई साहित्यको संज्ञा दिँदै साहित्यमाथि अन्याय गरिरहनु हुँदैन भन्ने मेरो निजी धारणा हो । साहित्यकार बन्ने क्रममा नारी अस्तित्वभित्र लुकी लुकी उनीहरूको अस्मितालाई चियोचर्चो गर्दै काल्पनिक यथार्थमा सत्यताको पगरी गुथाएर विशिष्टताको घोषणा स्वयं गरेर वरिष्ठ साहित्यकार बनिन्छ या परिभाषा नै यस्तै हुन्छ भने त्यसमा बहस नगरौँ । नत्र भने समाजमा व्याप्त विकृति र विसङ्गतिलाई शिष्ट भाषामा प्रकट गरेर एकातिर सामाजिक न्यायमा कटिबद्ध रहँदै अर्कातिर दर्शकलाई स्वच्छ आनन्द दिने व्यक्ति यदि जोकर हो भने अब यहाँ हाम्रा साहित्यकारज्यूले लोकलमा भोकल मिलाउँदै भोलि बाँसुरी, सारङ्गी र मादलुको धुनलाई पनि कुनै आयातित नाम नदिनुहोला भन्न सकिँदैन । कोठे साहित्यमा निकै सक्रिय कति साहित्यकारहरू ओठेभक्तिमै काव्य सिर्जना गरेर गुजारा गर्नुलाई ठुलो साहित्यिक योगदान सम्झन्छन् । यस्तै एक जना बिचरा साहित्यकारले आफ्नो साहित्यिक विश्लेषणलाई अध्ययनको गहिराइमा डुबाएर कसी लाउनुभन्दा बसी बसी ईष्र्या ओकलेर कलम बिटुल्याउनु श्रेयस्कर ठान्छ भने त्यो दरिद्रतालाई स्वच्छ संसारमा विचरण गर्ने फुर्सदै पो कहाँ होला र ?

त्यसैले हास्यव्ङ्ग्य साहित्य बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड झैँ भएकाले यहाँ कसैले के भन्यो, के लेख्यो भन्नुभन्दा पनि के बुझ्यो भन्ने यथार्थ पत्ता लाग्नुपर्छ ।

झापा, हाल : काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खोपडी

खोपडी

देवीप्रसाद घिमिरे
औँलो

औँलो

देवीप्रसाद घिमिरे
पुच्छरमा झुन्डिएको ‘टर’

पुच्छरमा झुन्डिएको ‘टर’

देवीप्रसाद घिमिरे
सुन खानेहरूको कन्तबिजोग

सुन खानेहरूको कन्तबिजोग

देवीप्रसाद घिमिरे
थुतुनु

थुतुनु

देवीप्रसाद घिमिरे