मन
“बाबु मलाई पनि एकपटक कुरा गराइदेऊन तिम्रो फोनाँ” –पशुपति बृद्धाश्रमको प्राङ्गणमा मोबाइलमा कसैसँग कुरा गरिरहेका बेला एउटी बृद्धाले अनुरोध गरिन् ।
बृद्धातिर फर्किएर हेरेँ, अनुरोध गर्ने बृद्धालाई मैले कहिल्यै देखेभेटेजस्तो लागेन तर अपरिचित मान्छेको फोन मागेकामा र संसारैले माया मारेर त्यागेजस्ती यी बुढिआमै कसलाई फोन गर्न चाहँदी हुन् भनेर आश्चर्य नलाग्ने कुरै थिएन । साथै मैला लुगा, जिङ्ग्रिङ्ग परेको कपाल, बृद्धावस्थालाले लग्लग् कामेर थिग्र्याउन मुस्किल परिरहेको शरीर र कारुणिक स्वरले भने मलाइ द्रबिभूत गरि छोड्यो ।
अनि मैले सकेसम्म नरम स्वर बनाएर उनले फोन गर्न चाहेको मानिसको जानकारी लिने उद्देश्यले सोधे– “कसलाई फोन गर्न खोज्नु भएको र ! आमा ?”
“मेरो छोरो दयानिधि शर्मालाई” –उनले खोजेको मानिसको नाम बताइन् ।
“तपाईंसँग फोननम्बर छ त आमा ?” –मलाई उनीसँग फोननम्बर भएकामा शंका लाग्यो ।
“लम्बर–सम्बर त छैन बा मसँग, अमेरीका गएदेखि नभेटेकै सात बर्ष भै सक्यो काँ’बाट दिनु लम्बर ?” –बुढीआमैले बाध्यता ओकलिन् उसै गरेर कामी रहेको स्वरमा मेरो शंका निवारण गरिदिँदै ।
“अनि फोननम्बर नै नभै त कहाँ फोन गर्नु र आमा ?” –मैले पनि आफ्नो बाध्यता बताएँ ।
“दयानिधि शर्मा भनेर फोनमा भन्दा हुँदैन र ! लम्बरै चाहियो बाबु ?” –बुड्यामैले अझै आशा छोडिनन् ।
“हुन्न आमा हुन्न” –मैले यथार्थ बताइ दिएँ । साथै बृद्धाश्रममा आफूलाई फ्याँकेर हिँड्ने छोरालाई किन फोन गर्न मन लागेको होला भन्ने उत्सुकता पनि मनमा रहिरहेकाले उत्सुकता मेटाउने धेयले प्रश्न पनि थपेँ– “फोन चैं किन गर्न खोज्नु भएको र ! आमा ?”
“आज आमाको मुख हेर्ने दिन भएर नि बाबु, आमाको मुख हेर्न नपाए नि बोलीसम्म सुन्न पाए त कस्तो हुन्थ्यो भन्ने भै’रा होला बिचारालाई” –बुढीआमैको कथन् थियो ।
गौरादह– १२, झापा