जता गयो त्यतै मिल्छन् तला मात्र निरन्तर
कतै नै चढ्न पाइन्न भर्याङ बन्छु आखिर ।
तलामाथि कहाँ कस्तो दिव्यता लुक्छ के भनूँ
चढ्नेहरू सधैँ चढ्छन् आफू भर्याङ नै बनूँ ।।

खुबीको खेल हो जस्तो कला चातुर्य नै बल
अरुलाई बनाएर भर्याङ चढ्नु केवल ।
बुद्धिमानी कहाँ जान्छ बनिन्छु मूर्खझैँ सदा
अरूकै साध्यका निम्ति आफू साधन सर्वदा ।।

विकास पहिलेभन्दा निकै नै देख्छु दोब्बर
तलाविना कुनै त्यस्तो विकास छैन झैँ घर ।
चढ्छन् मालिक नै माथि बस्छन् ढुक्क बनी बनी
सफा भर्याङको कैले हुन्छ त्यो उच्च जीवनी ! ।।

उच्चताको पराकाष्ठा ढल्दा धरहरा पनि
अरूकै बुइमा चढ्दै नाच्छन् चातुर्यका धनी ।
लक्ष्य हो जसरी चढ्ने माथि नै पुग्न आतुर
नपाए सजिलो बाटो बाँस भाटो बराबर ।।

साम दाम सके भेद दण्ड अन्तिम साथ छ
तलामाथि जसै पुग्ने लक्ष्यका साथ माथ छ ।
हुन्छ विकास नै पुग्दा तलामाथि जसै पनि
तर भाग्य कहाँ आफ्नो भर्याङ मात्र जीवनी ! ।।

यहाँ मात्र हुँदै हैन त्यहाँ नै पनि यो कुरा
आफू भर्याङ मात्रै हो लामो छोटो कतै पुरा ।
बुझेँ भर्याङ चढ्ने नै पुग्छ त्यो उच्च टाकुरा
आफ्नो भर्याङको पीडा आफैमा लुक्छ है बरा ! ।।

काठमाडौं