आजकाल मलाई मेरा यी दुईखुट्टाको अति माया लाग्न थालेको छ । यो सिङ्गो शरीरलाई जहाँ भन्यो त्यहीँ पुर्याउने जिम्मा यिनै दुई खुट्टालाई छ । उकालो होस् कि ओरोलो, दिनमा होस् कि रातमा यिनलाई फुर्सद छैन । झरी बादल, चीसो तातो घाम पानी, दिन रात केही भन्न पाउँदैनन् । काँडो बिझोस् कि घाउ लागोस् शरीर बोक्ने जिम्मा लिएका यी दुई खुट्टाले शरीर बोक्न छोडेका छैनन् ।

हरेक शनिबार कर्मचारीलाई बिदा हुन्छ तर उसको खुट्टोलाई बिदा हुन्न । जाडो गर्मीको बिदा मान्छेले पाउँछ रत मान्छेकै खुट्टाले पाउँदैन । सडकमा टायर बल्छ, फायर हुन्छ, आकस्मिक बिदा हुन्छ तर खुट्टालाई सुबिधा छैन । झनै बढेमानका भुँडीवाल हाकिमलाई बोकेर हिड्नु पर्छ त्यही खुट्टाले । खै कुन खुट्टेले खुट्टाको समस्या बुझ्यो ? जोत्ने किसानको खुट्टो, हाकिमको भुँडीको भार सधैँ बोकेर हिड्ने खुट्टाका समस्या समान छन् । आफ्नै खुट्टाका अवस्थाबारे त केही नसोच्नेले देशको समस्या के सोच्ला ! सकोस् नसकोस् गन्तव्यको लक्ष्य भने टाउकाले राख्छ तर हिड्नुपर्छ सकीनसकी त्यही खुट्टाले । शोषित पीडितका समस्या म हेर्छु भन्ने नेताले आफ्नै भार बोकेर रातदिन हिड्ने खुट्टाको सकस्या बुझेका छैनन् । बोल्दा टाउकाले टेकेर पनि आउनेछु भन्छ तर हिड्नु पर्ने भने त्यही निर्दोष खुट्टाले ।

खुट्टाका कथा र व्यथा बेग्लै छन् । फटाहाको दिमाग चोर्नमा जोसिन्छ अनि भाग्नुपर्दा डाँडो र काँडो नभनी दौडनु पर्छ त्यही खुट्टाले । चोरले पनि खुट्टालाई दुःख हुन्छ भन्ने ठानेको भए खुट्टाको चित्त किन यसरी दुख्थ्यो । त्यही निर्दोष खुट्टाले चोर भगाउनु पर्ने । शत्रुले ताक्छ त्यही खुट्टो, छिर्केनी मार्छन् त्यही खुट्टालाई । अर्काले तान्ने, बान्ने, हान्ने पनि त्यही खुट्टो भएपछि कसरी सहोस् खुट्टाले ? समाज जतिसुकै सभ्य र शिष्ट बनोस् उसले खुट्टाको समस्या देखेन । जिउभरी पोशाक पहिरिएर ती दुईखुट्टा नाङ्गै बनाएर तिघ्रा देखाई हिड्ने युवतीले त नबुझेको खुट्टाको समस्या अरु कसले बुझोस् । अझ खुट्टालाई सकस पारेर हाइहील लगाई जाडोमा पनि तिघ्रा देखाएर हिड्ने युवतीको बिपती त खुट्टाले सहनु परेको छ ।

आजको लोकतन्त्रमा बरु पाले, पियन, पुलिसले माथिकाले हामीलाई थिचे, मिचे, अधिकार खोसे भनेर बोलेका कुराको सुनुवाइ हुन्छ । खै शरीरले थिचेका खुट्टाका समस्याको सम्बोधन भइको ? बत्तीमुनिको अँध्यारो भने झैँ खुट्टाको मर्का कसले बुझ्यो ? खुट्टाको न त कुनै गठन छ न त कुनै संगठन । बिचरा यी दुई खुट्टाले सय दिनको बालकदेखि सयवर्षको वृद्धसम्मलाई आनेकाने नगरी सकीनसकी नमरुन्जेल बोकेर हिड्नु परेको छ ।

दुनियामा कति अस्पताल बने । आँखा, नाक, कान, घाँटी, नाडी, नसासम्मका छुट्टाछुट्टै डाक्टर भए पशुपक्षीकासमेत डाक्टर र सुविधा भैसके । खै यो निर्मोही मान्छेका सिङ्गो शरीरलाई सधैँ बोकेर देशविदेश डुलाई हिड्ने खुट्टाका खुट्टे डाक्टर ? खै अनुसन्धान ? खै उपचार ?

त्यत्रो जनआन्दोलन सफल पार्दा कति खुट्टा भाँचिए, कति प्रतिगामी खुट्टाले अनुगामी खुट्टालाई टेके । प्रतिकारमा कतिका टाउकामाथि यी स्वाभिमानी खुट्टा पुगे । यस्ता सफल खुट्टालाई आजसम्म धन्यबादमात्र दिने धन्य व्यक्ति भेटिएन ! अरु विषयमा कति वाद र विवाद चले । खुट्टाका हरण र मरणमा बहस त के हसमात्र भन्ने कोही भएन । यसको वियोग र बिछोडमा एक थोपा आँसु र एक मिनेट मौन धारण गर्ने नेतासम्म भेटिएन । आज तीन करोड जनता मेरा हुन् भन्ने नेताले छ करोड खुट्टालाई आफ्नै बडेमानको भुँडीले ओझेलमा पारेका छन् ।

होस राखे है कतै यी करोडौँ खुट्टाहरू मनमनै मिलेर सडकमा गाडी, चक्का जाम भएझैँ कतै नजाम भनेर खुट्टा जाम भैदियो भने कसले कसरी कहाँ जाम भन्दोरहेछ भन्नेतिर पनि अब त सबै खुट्टे सचेत हुनैपर्ने देखिन्छ ।

कीर्तिपुर