पुलिसले चोर समात्यो, यो प्रमुख समाचार होइन । डाका पक्राउ गर्यो, यो पनि हाइलाइट गर्ने न्यूज मानिँदैन । तस्करलाई कब्जामा लिने, गुन्डालाई गोली ताक्ने, अपहरणकारीलाई अदालत पर्र्याउने, हत्यालाई जेल हाल्नेजस्ता कार्यहरू प्रहरीको दायित्वभित्र पर्ने सामान्य कर्तव्य हुन् । समाचारको प्राथमिकतामा उपरोक्त कुराहरू नपर्न पनि सक्छन् भन्ने गजुरीयल बुझाइ छ ।

तर जब प्रहरी यी सामान्य दायित्वभन्दा माथि उठेर काम गर्न थाल्छ, त्यतिबेला समाचार मात्र होइन, उसलाई सहयोग, हौसला र धन्यवाद पनि दिनुपर्छ भन्ने गजुरियल ठम्याइ छ । ‘प्रहरीद्वारा नेताको भेषमा हिँड्ने डन पक्राउ परेको’ कुरा समाचार बन्नुपर्छ । ‘कर्मचारीको भेषमा हिँड्ने तस्कर समातेको’ कुरा न्यूजमा आउनुपर्छ । ‘खेलाडीको आवरणमा दौडने सट्टेबाज समातेको’ कुरा ब्रेकिङ न्यूज बन्नुपर्छ । ‘वरिष्ठ समाजसेवी’ को मुकुन्डो लगाएर जनता ठग्ने ठगलाई ठेगान लगाएको’ विषयलाई सार्वजानिक रूपमा स्वागत गरिनुपर्छ भन्ने गजुरियल विचार छ ।

कुनै बेला रमेश खरेलको नाम आउँथ्यो, अहिले सर्वेन्द्र खनालको नाम चर्चामा छ । फुटबलमा फिक्सिङ गर्ने खेलाडी पक्राउको घटना होस् वा विभिन्न हत्या र अपरहरण काण्डका नायकहरूलाई सर्वाङ्ग गराउने योजना होस्, अपराधका यस्ता थुप्रै जालो चुँडाउने प्रहरीको कर्तव्यको प्रशंसा गर्न कञ्जुस्याइँ गर्नु हुँदैन भन्ने गजुरियल ठम्याइ छ ।

तर सर्वेन्द्र खनालहरूको मात्र नाम लिइरहँदा अपराध नियन्त्रणको योजना बनाउने प्रहरीको केन्द्रीय संगठनलाई नजर अन्दाज गर्नुहुँदैन । त्यसैगरी, ज्यानको बाजी लगाएर फिल्डमा खटिने जुनियर अधिकृत तथा सिपाहीहरूलाई मन खोलेर धन्यवाद दिँदा चाकडी ठहरिंदैन, गाली र तालीको सिद्धान्तअनुसार नै हुन जान्छ ।

सर्वेन्द्रहरूलाई पनि भ्रष्टको निवासमा खानतलासी गर्न जाँदा ‘बढुवा गराई दिने’ आस देखाइन्छ होला † डनका ‘केन्द्रीय कार्यालय’मा छापा मार्न जाँदा पनि ‘जागिर खाइदिने’ त्रास देखाइन्छ होला ! अपहरणकारीका महलहरूमा रेड हान्दा ‘परिवार सिध्याइदिने’ धम्की दिइन्छ होला ! यस्तो अवस्थामा पनि ज्यान, लोभ, डरको विषाक्त ग्रन्थिलाई कर्तव्य योगले शमन गर्ने राष्ट्रसेवकहरूलाई साधुवाद दिन किन आइतबार कुर्नु !

अपराध नियन्त्रणमा प्रहरीको सक्रियता जे–जति हुँदैछ त्यो ‘जागिरमात्र खाने’हरूबाट भएको होइन र सम्भव पनि छैन । राजनैतिक आवरणमा हुने अपराधहरूको आतंकसँग त्यो मात्र भिड्न सक्छ जसले गुन्डागर्दीको पीडा आफैंले भोगेको छ, तस्करीको जालो आफ्नै आँखाले देखेको छ । अपराधको आतंक आफैं अनुभव गरेको छ । जसले अपहरण र हत्याले पीडितको दर्दनाक कथा हेरेको छ अनि पीडितको व्यथा सुन्न नसकेर कसैले नदेख्ने गरी तरक्क आँसु चुहाएको छ, त्यही राष्ट्रसेवकले मात्र अपराधको आगो निभाउन सक्छ भन्ने गजुरियल ठम्याइ छ ।

प्रहरीहरू न्याय दूत हुन्, उनीहरूबाट अन्याय हुनै सक्दैन भन्ने गजुरियल विश्लेषण पटक्कै होइन । बर्दीको आडमा कानुनको ढाड सेक्ने, जनताको हाड घोट्ने ‘प्रहरीयल शैली’ प्रति गजुरीयल बाजा अर्को अध्यायमा बज्ने नै छ । अहिले भने हत्या, अपहरण, भ्रष्टाचारको हाँगा काटिरहेका ‘सर्वेन्द्रहरू’लाई अपराधको जरै उखेल्ने उत्प्रेरणाका लागि गजुरियल शैलीमा रियल शुभकामना दिनैपर्छ ।

साप्ताहिक, वैशाख ३१, २०७३