नछोड् भैरे नछोड्
शेरबहादुर देउवाले अचानक मलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दा एकछिन त म जिल्ल परेँ । सपना हो कि विपना जस् तो पनि लाग्यो । हौसिएर उत्तिखेरै हुन्छ भनिहाल्न पनि भएन, खबर गरौँला भनि राखेर हावाका गतिमा हिँडेको बाटो काटेको पनि पत्तो नपाई निवासमा आइपुगेँछु । वास्तवमै यो ओली सरकार त लामै समय चलिसकेछ । यसलाई टिकाइराख्नु पर्ने मलाई के को वाध्यता छ र ! सात महिनासम्म एउटै सरकार, एउटै प्रधानमन्त्री, एउटै मन्त्री । जनतालाई पनि अब त वाक्क लाग्न थाल्यो होला । पार्टीका साथीहरूले निकै भइसक्यो, ओली सरकार छाडौँ भनेको । तर, मलाई त्यो पटक्कै उचित लागेको थिएन, छाडेर डुकुलन्ठु किन हुनु, केही साथीहरू मन्त्री भएका छन्, कति कार्यकर्ताले काम पाएका छन् भन्ने लाग्थ्यो ।
कांग्रेस पार्टीले यसरी फ्याट्ट प्रधानमन्त्री बन्ने प्रस्ताव गर्ला भन्ने त सोचेको पनि थिइनँ । लौ भैरे अब फेरि तेरो दिन फर्के जस्तो छ । भगवान्कै इच्छा पो हो कि के हो, नत्र घुमाइघुमाइ मलाई यस्तो प्रस्ताव किन आउँछ ? हुन त हाम्रो गठबन्धन फुटाउन र आफ्नो दुनो सोझ्याउन कांग्रेसले यो प्रस्ताव गरेको हो, तर पछिको कुरा जे होला नि, मुखमा आएको प्रधानमन्त्री पद छाड्ने त कुरै आएन नि भैरे ! प्रधानमन्त्री खान्छस् भनेर सोध्दा खान्न भन्ने मूर्ख यो संसारमा को हुँदो हो ?
अचम्म त के भने, हामीले त्यत्रो टक्कर दिएको भारत हामीसँग रिसाएको होला भनेको त ऊ पनि मलाई नै प्रधानमन्त्रीमा देख्न राजी रहेछ, ल हेर त ! भारतलाई त्यसै महान् भारत भनिएको होइन रहेछ, हामीले नै कुरा नबुझेका रहेछौँ कि क्या । भारतसँग सरकारको सम्बन्ध नबिग्रिएको भए नाकाबन्दी हुने थिएन । भारतले संसारभरि हाम्रो बदख्वाइँ गर्दै हिँड्ने थिएन । हामीले चीनसँग सम्झौता गरिराख्नु पर्ने टेन्सन हुने थिएन । हामीलाई धेरै सहज हुन्थ्यो । भारतका दुईचारवटा साधारण इच्छाहरू पूरा गरिदिएको भए हुने रहेछ कि जस्तो पो लाग्दैछ अहिले ।
कांग्रेस पनि अब पक्कै पहिला जस्तो छैन होला । कोइराला परिवारबाट नेतृत्व अन्तै गइसक्यो । देउवा पनि पहिलाभन्दा फरक भइसके । ओली जस्ता छुसीसँग त मिलेर बसियो भने देउवासँग मिल्न के गाह्रो । फेरि सरकारको साँचो आफ्नै हातमा हुने हो क्यारे । अब त ताल्चै हातमा आउने । नछोड् भैरे नछोड् ।
साथीहरूका गाली कति खाइयो नि ! अब खुसी हुने भए सबै । सात–सात महिनादेखि ओली सरकार टिकाएर आफ्ना खुट्टामा आफैँले बन्चरो हान्ने काम गरिस् भनेर कम्ती हो । ओली सरकारलाई बजेट ल्याउन दियो भने मनमोहनको भन्दा लोकप्रिय ल्याएर हामीलाई ध्वस्त पार्छ भन्थे साथीहरू, कांग्रेसले अहिले त्यही भन्यो । कुरा त हो नि ।
ठीकै छ, अब सबैको मन राख्छु । साथीहरूको मन राख्छु । देउवाजीले मैले नसोचेको प्रस्ताव ल्याउनुभयो, उहाँको मन राख्छु । मोदीजीको पनि मन राखिदिऊँला । भारतसँग टक्कर गरेर कहिलेसम्म टिकिन्छ र ! यतिसम्म देखाइ हालियो, भैगो नि ! अब खुरुक्क देउवाजीलाई ओके भन्नुको काम छ । रात रहे अग्राख पलाउँछ भन्छन् । नछोड् भैरे नछोड् !
नेपाल, वैशाख २९, २०७३