सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राम्रो लेखन

Nepal Telecom ad

अचेल म राम्रो लेखिरहेको छैन भन्ने मेरा केही साहित्यिक मित्रहरूका आत्मीय (यही ठान्छु म) गुनासो रहेको छ । यस्तो स्वर मेरो महिनौंदेखि दुखिरहेको पिठ्युँ पछाडि एकनासले घन्किने गरेको छ ।
यसको बाँकी–बक्यौता रहेको अनुगुन्जन एकाध दिनपछि विस्तारै घस्रदा–घस्रदै मसम्म पनि आइपुग्छ ।
अघिल्लो वर्षको अन्त्य तथा यो वर्षको सुरुवातदेखि लगातार यस्तै भइरहेको छ ।

‘म त राम्रै लेख्छु नि !’ एक दिन मेरो चालु टाइपको साहित्यिक दर्प सो अनुगुन्जन समक्ष च्याँठिएर प्रस्तुत भयो ।
यसको कुनै प्रत्युत्तर आएन ।

त्यसपछि मलाई यो बुझ्न कुनै बेर लागेन, मेरा साहित्यिक मित्रहरूलाई मेरो राम्रो लेखनको अनावश्यक ढिपी विलकुलै राम्रो लागेन । अतएव मैले नचाहँदा–नचाहँदै पनि एउटा अलग्गै किसिमको विनम्र मुद्रा लिनै पर्यो । यस्तैमा भनें, ‘होइन, राम्रो लेखन गर्न के गर्नुपर्छ मित्रहरू ?’

‘राम्रो लेख्नुपर्छ ।’

‘त्यही त, राम्रो लेख्न के गर्नुपर्छ ?’

‘राम्रो लेख्न…गर्न…अँ…के गर्नुपर्छ भने…अँ…राम्रो लेखन….अँ राम्रो लेख्नुपर्यो नि कविजी ।’ मेरो सानो आकार–प्रकारको लेखनकोठा (असलमा खुला बरन्डा) मा सकसपूर्वक तन्किएको मित्रवत् वाक्य अनुगुञ्जित भइरह्यो ।
तत्पश्चात म राम्रो लेखनमा प्राणप्रणले लागेको लाग्यै छु । अब उप्रान्त मलाई कुनै पनि अवस्थामा राम्रो लेखनको विपरीत गएर नराम्रो लेख्नु छैन । (मेरो फुटकर घोषणापत्र नै) त्यसकारण सूचनार्थ निवेदन के छ भने म राम्रो लेखनमा पुरै प्रतिबद्ध पाराले लागिसकेको छु ।

यो एउटा शत–प्रतिशत राम्रो लेख्न गइरहेको लेखकको कसम हो । याने भीष्मप्रतिज्ञा जस्तै कठोर अठोट भन्नोस् । मेरो स्वरचित राम्रो लेखनको मौलिकतम बान्की तल दिइन्छ ।

तपाईहरूलाई थाहै छ, म पत्र–पत्रिकामा नियमित रूपले व्यंग्य–स्यंग्य लेख्ने गर्छु । यो व्यंग्यसँग स्यंग्य किन भने कतिपय मेरा पाठक (खासमा गैरपाठक) यस्तै टिप्पणी गर्ने गर्छन् । यसमा म असहमति प्रकट गर्ने गर्दिनँ । मैले आफ्नो लेखकीय बर्कतलाई लिएर कुनै महान भ्रम पालेको छैन ।

यो व्यंग्य अथवा स्यंग्य (नै) कहिले राम्रो हुन्छ भने कहिले नराम्रो । अब भने शत–प्रतिशत राम्रो मात्र हुनेछ । यसको कारण के हो भने राम्रो लेख्ने दिशातर्फ तीव्र बेगले अग्रसर छु म ।

व्यंग्य लेखनमा पनि मैले विशेषत राजनीतिक प्रकृतिका व्यंग्य लेख्ने गरेको छु । यो लेखनमा एउटा नराम्रो कुरो के छ भने मैले नराम्रो कु्ररामा पनि राम्ररी ध्यान दिनुपर्छ ।

यो त राम्रो भएन । के गर्ने ? स्पष्टै छ नि, म नराम्रोलाई सम्पूर्णत त्याग गरेर राम्रोमा एकहोरिने छु । यही मेरो तमाम् लेखनको सद्य राजमार्ग हो । यहींबाट मैले सुस्तरी हिंड्नुपर्नेछ । (म त बेस्मारी कुद्नेवाला छु है !) ।

जहाँसम्म राम्रो राजनीतिक लेखनको प्रश्न छ, हाम्रो देशको राजनीति राम्रोसँग चलिरहेको छ । (क्या राम्रो लेखे !) । यसको सशक्त उदाहरणका लागि चलनचल्तीका राजनीतिक नेताहरूलाई लिनोस् । सबै राम्रा छन् ।

चाहे नेकपा एमालेका वर्तमान प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली होउन् अथवा अचम्मैले प्रतिपक्षी भइरहेका कांग्रेसी नेता शेरबहादुर देउवा ।

यही लामका अर्का ठूला नेता एनेकपा माओवादीका कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि राम्रा छन् । अझ सबै अति नै राम्रा ! त्यसो भए नराम्रा नेता को त ? यो प्रश्न नै वाहियात छ । यसको मलाई के मतलव ! मलाई त फगत राम्रो लेखन गर्नु छ । म राम्रो लेख्छु, लेख्छु ।

त, कमरेड प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीदेखि लिएर कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्म राम्रा राजनीतिक नेता हुन् ।

यस क्रममा केही अन्य राम्रा नेताहरू पनि नभएका होइनन् । जस्तै, कमरेड माधवकुमार नेपाल, रामचन्द्र पौडेल, बाबुराम भट्टराई, कमल थापा, कमरेड वामदेव गौतम, लोकेन्द्रबहादुर चन्द, रामशरण महत, कमरेड झलनाथ खनाल, प्रकाशचन्द्र लोहनी, कमरेड रामबहादुर थापा ‘बादल’, कृष्ण सिटौला, कमरेड ईश्वर पोखरेल, कमरेड कृष्णबहादुर महरा, अर्जुननरसिंह केसी, इत्यादि ।

यदि अनुमति छ भने यही सिलसिलामा म दुई–चार स्वर्गीय राम्रा नेताहरूका नाम पनि विनम्रतापूर्वक लिन्छु– स्व. गिरिजाप्रसाद कोइराला, स्व. मनमोहन अधिकारी, स्व. कृष्णप्रसाद भट्टराई, स्व. सुशील कोइराला, स्व. सूर्यबहादुर थापा । यिनीहरू पनि राम्रै नेता थिए । (सबैका स्वर्गमा स्थायी बास होस् !) ।

यस्ता राम्रा–राम्रा राजनीतिक नेता दृश्य (अदृश्य पनि) मा जबर्जस्त ढंगले उपलब्ध भएपछि यो मुलुक नेपालको सकल राजनीति पनि अनिवार्यत राम्रो हुने नै भयो । होइन र ? तसर्थ हामीकहाँ कतै पनि झुठ, पाखण्ड, बदमासी, लुट, कपट, विश्वासघात, छल, अनाचार, धोका, कुकर्म, अत्याचार, अन्याय, बेइमानी, ढोंग, दुष्टता, दोधारेपन, असमानता, व्यभिचार, अमानवीयता, भ्रष्टाचार, ठगी, पापाचार, दुष्कर्म, अतिचार, डकैती, बेढंगापन, चालबाजी आदिको विलकुलै उपस्थिति छैन । मेरो तात्पर्य के भने भए पनि के त ? म त सम्पूर्ण राम्रै भन्छु । किनभने मलाई राम्रो लेखन गर्नु छ ।

म त राजनीतिको समानान्तर साहित्य, व्यापार, कला, धर्म, उद्योग, प्रशासन, समाजसेवा, खेल, संस्कृति, बजार, शिक्षा–सर्त, तत्र र सर्वत्र राम्रैराम्रो देख्छु ।

कहाँसम्म भने महँगी, बेकारी, अव्यवस्था, अभाव, अशान्ति, भोकमरी आदि मेरो पावरदार चस्माभित्रका दुई ठूलठूला किन्तु अति संकुचित आँखामा अटाउँदै अटाउँदैन । यी त झर्रा नराम्रा कुरा हुन् । मेरो राम्रो लेखनमा यस्ताका लागि कुनै स्थान छैन । मैले राम्रो लेख्नैपर्छ ।

अहो, यो त नेपाली साहित्यको प्रतिनिधि राम्रो लेखन भए जस्तो छ !

मेरो यो राम्रो ‘राम्रो लेखन’ को स्वभाविक अनुगुञ्जन ‘मैले राम्रो लेखिनँ’ भन्ने नित्य–निरन्तर गुनासो गरिरहेका मेरा विशुद्ध गुनासोवादी मेरा साहित्यिक मित्रहरू समक्ष पुगोस् भन्ने मेरो इच्छा छ ।

(म आफ्नो दुखिरहेको पिठ्युँलाई केही सोझ्याउँछु।) ।
धन्यवाद !

कान्तिपुर, जेष्ठ १, २०७३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा