सपना भनेको के हो ? म कुनै प्रौढालाई प्याच्च प्रश्न गर्छु, तर उत्तर दिन र गफ गर्न कसैले पनि नचाहेको हुनाले म थेत्तरो भएर आफूभित्र आफैं हँुडलिन्छु । मेरो यस हुँडल्याइसँग कति सहमत होलान् त कतिलाई त यो नपच्न र नजँच्न पनि सक्छ । कृपया नपच्ने र नजँच्ने रोग लागेमा नजिकको पोख्तसँग सम्पर्क राख्नुहुन पनि यसै लेखद्वारा अनुरोध अर्पण गर्छु ।

यथार्थमा सपना भनेको प्रत्येक सचेत प्राणीद्वारा निदाएको अवस्थामा देखिने दृश्य नै हो । यसलाई समूह वा ग्रुप मिलेर देखौं भनेर देखिने कुरा होइन । प्रत्येक प्राणीको छुट्टाछुट्टै सपना हुने भएकाले एक प्राणी अर्काे प्राणीको सपनाका सम्बन्धमा प्रायः अन्धो नै ठहरिन्छ । हुन त सपना ‘कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि’ भनेझैँ फरक फरक नै फेला परेका छन् । त्यसैले सपना आफ्नो आफ्नो वित्तीय औकातअनुसारकै देखिन्छ । त्यसैले होला गरीबले देख्ने सपना धनीले देख्ने सपना, राजाले देख्ने सपना, प्रजाले देख्ने सपना, नेताले देख्ने सपना, मन्त्रीले देख्ने सपना एक अर्कासँग आजीवन मेल खाँदैनन् । मन्त्रीगणको सपना र जनतागणको सपना त झन् तेल र पानीजस्तै दुई फ्याक हुन्छन् ।

तर हजूरहरू सपना सुतेरमात्र देखिन्छ भन्ने भ्रममा भने नपर्नु भए नै वेश होला, कि कसो ? मलाई लाग्छ हाम्रा पुर्खाहरूले देखेको सपना र आज वर्तमानका सज्जनले देखेको सपनामा आकाशजमिनको फरक छ । नपत्याए औँलाको खुड्किला गनेर हिसाब निकाल्नुस्, कम्प्युटरको मुख नताक्नुस् ।

फेरि एउटा कुरा मृत्युको साख्खे भाइसित जम्काभेट भएर सपना देखिन्छ भन्ने भ्रममा हुनुहुन्छ भने त्यसलाई भुटानी नरेशले ज्यागालाई लखेटेझैं लखेट्नुस् । अनि विचार गर्नुस् नरेशको सपना कुन कोटीको हो ? के उनले निदाएरै सपना देखेका हुन् त ?

त्यसैले म बक्छु नेपालका ‘मह’ जोडीको सपना जति मिलेको छ, त्यसको ठीक विपरीत छेउटुप्पो नै पत्ता नलाग्ने गरी नेपाली राजनेताको सपनालाई एक किसिमले पुङ्माङै भने पनि फरक नपर्ने भइसकेको छ । आफै निधार खुम्च्याएर विचार गर्नुस् कति फरक छ यी सज्जनहरूको सपना ? एउटा जोड्ने सपना देख्छ भने अर्काले फोड्ने सपना देख्छ । एउटा सुधार्ने सपना देख्छ भने अर्काले बिगार्ने सपना देख्छ । हुन त भनिन्छ ‘राँडीलाई हाँडीमा कनिका छउन्जेल निद्रा लाग्दैन’ रे ।

राजा पृथ्वीनारायण शाहले जुन सपना देखेर ‘नेपाल राष्ट्रलाई दुषले आज्र्याको मुलुक’भनेका थिए । आज त्यसको ठीक उल्टोझैँ उही मुलुक दुःखले सिध्याएको मुलुक सावित भएको छ । नपत्याए विदेशी कपडा वेर्ने र केवुल टि.भी. हेर्नेलाई किन नसोध्ने ? त्यतिले मात्र नपुगे नेपालका कुवेरकान्तलाई केर्नुस् । त्यो थाहा पाएपछि वेदनाले तपाइँको आँखाबाट स्वतः आँसु निचोरी सक्ने छ ।

अझ कुवेर नगरमा कस्तासम्म हुरी चलेको पाइयो भने विदेशी तन्ना नभई लमतन्न नहुने, विदेशी कलमदेखि लिएर पलङ पनि विदेशी नै नभए सपनै अधकल्चो भएको ठान्नेहरू अझै जीवितै छन् । विदेशी सटिङ हिलमेन, एभरेष्ट, ट्याट्रयाक्स, टेरिउल, उलको थ्री पिस, फोर पिस सुट, बुट नभई दुलही नै अन्माउन छोडिसके भाले जातिले भने, पोथी जातिको छुट्टै तडक–भडकअन्तर्गत गोल्डेन प्रिन्ट, डाइमण्डकट, कम्प्युटर प्रिन्ट, ब्रोकेड, साउथ सिल्क, बनारसी जस्ता दामी दामी सारी र छड्के तिलहरी नभई वरवधूको लगनै अपसगुन हुन्छझैं सपना देख्न थालेका छन् कुवेरनगरका प्राणीले । कुबेर खलकले खाँडी, छिट, टोप्रेल, पुराना पैरनका साधनलाई आफ्नो विकासको पैरोले पुरेजस्तो छ । हैन काँ गए ती खाँडी र छिट्का पुर्खेउली पोशाक ? कतै विदेश निर्यात गरेका त छैनन् आजका देशप्रेमी नेताहरूले ?

यथार्थमा भन्ने हो भने पुर्खाको सपनालाई आजका संभ्रान्त देशप्रेमीले आफ्नो पाउमुनि ठाउँ दिएका छन् । यसमा कसले मन कुँढ्याएर गुनासो गर्ने ? क्या गजब छ आज देशपे्रमीको ताल ‘तैं रानी मै रानी कसले भर्ने कुवाको पानी’ साज सज्जामात्र बाहिरको किन ? चामल, बिजुली, पानी आदि आद्योपान्त विदेशकै थाप्लोमा चढाए भइहाल्यो नि, किन गर्नु प¥यो स्वदेशी उत्पादन पौरख ।

उहिले उहिलेका देशभक्त नेता खोकी लागेमा हर्रो पोलेर वा मेथी भुटेर खाएर खोकी रुघा मर्की चट्ट पार्थे, तर आजका पढैया भनाउँदा केटादेखि लिएर नेतासम्मले आ–आफ्ना खोकिलामा खोकीको दवाई फेन्सिडिल, वा आयातित अत्याधुनिक ओखती के देशकै सपना साकार पार्न संरक्षित हो यो पदार्थ । कुरा बुझ्नुस् फाइदा हँुदैन यसले किमार्थ ।

हुन त मैले यहाँ जति बखाने पनि सपना फरक फरकै हुन्छ । तपाइँले देखेको सपना र तपाइँकी अर्धाङ्गिनीले देखेको सपनामा तल माथिकै फरक पर्नसक्छ । देशप्रति चिन्तित नागरिकले भनौं या नेता स्वयं उपस्थित भएर सेर्पा साबुनले वा रिट्ठाले वा सिँउडीले नुहाएर टी. भी. मा देखाए कुन गृहिणीले विदेशी सेम्पु घरमा भित्र्याउलिन ? आखिर उनले पनि त नेपालकै आयोनून खाएर छाक टार्छिन् । जुन नून नेपाल एकीकरण गर्ने पुत्रले पनि खाएका थिए । उनलाई कसले दियो त्यो शक्ति र स्वास्थ्य ?

आज आधुनिकताले ओतप्रोत भएका देशप्रेमीहरूलाई फूड पार्लर र व्युटी पार्लर नभए वा नधाए बाँचेको सार हु्ँदैन किन ? देशभक्तिको बखान गर्नेका कोखबाट यस धर्तीमा अवतरण गरेका बालबच्चा, जसलाई स्या¥यालेक र लेक्टोजिन नभए कुपोषणले छुन्छ किन ? काँ पाएर खाए पृथ्वी नारायण शाहले बेबी फूड ? बलभद्र कुँवर,जंगबहादुर राणाले कुन स्तरको बेबीफूड उपभोग गरे र त्यो शक्ति जन्माए ? भोलि बाहिरी मुलुकले उत्पादन बन्द गर्ला अर्थात् भनौं नाकाबन्दी नै गर्ला, त्यस अवस्थामा भावी सन्ततिलाई कुन बेबीफूड टक्र्याउने सपना देख्नु भा छ ?

देशको प्राकृतिक सम्पदा स्रोत र साधनलाई लाटाले पापा हेरेझैँ हेरेर चोक सडक अनि सदनमा मात्र कुर्लिएर उपयोगमा आउने भए कार्यक्षेत्रमा उत्रिएर कार्यभार फत्ते गर्ने सपना नै किन देख्नु पथ्र्यो र ! विकास, विस्तार, उन्नति, प्रगतिको सपना जनतालाई किन बाँड्नुपथ्र्यो ।

राष्ट्रिय स्तरका नेताको चाकरी गरे मर्ने वेलामा बैतार्नी गर्दिन्थे कि भन्ने आशाले महिला, पुरुष, रातदिन नभनी आगो लागेझैँ उफ्री उफ्री भोट पट्यायो, दियो । आखिरी फोस्रो सपना, ‘हिस्स बूढी हरिया दाँत’ । ठाउँमा पुगेको नेता फर्केर हेर्ने होइन यता । उल्टो नबोल्ने लाछी जनता पाउँदा नेता स्वयं मख्ख । ‘के खोज्छस् काना आँखो’ नेता आफ्नो पारिवारिक गोरेटोलाई फाँटमा परिणत गर्ने सङ्लो सपनामा लाजैविना चुर्लुम्म डुब्छन् । आखिर जनताचाहिँ ‘जोइ न जुँगा, पोइ न पोते सातु न सोप्¥याक कोसा खाँदै सुुसेल्दै’ ।

यसरी जनतालाई आशै आशमा तड्पाएर विजय हासिल गरेपछि कति ठूला हुन्छन् भने अब के भन्ने, नाप्ने त साधनै छैन, बरु उपमा भने हाँगाविनाको सुरिलो सल्लोको नै दिनुपर्ला कि । जसलाई जनताले तयार पारेको हजारौँ डोका, थुम्से घोप्टाएर, खप्टाएर पनि टाउको नभेटिने ठूला हुन्छन् । त्यस्ता ठूल्दाइले आउँदो चुनाउमा कसरी नाक जोगाउलान् ? भूतपूर्व सपनालाई त्यस घडीमा आशन दिनु फलदायी होला र ?

जनताको आधारभूत आवश्यकतामा परापूर्व कालदेखि लागेको डडेलो कुन निस्वार्थी नेताको पसिनाले निभाउने ? सब आ–आफ्नो स्वार्थ पूर्तिका लागि व्यस्त छन् । आधारभूत आवश्यकता पूरा गर्न नसकेर गरीबीको तोरणमा झुन्डिएका जनतालाई सरकारी कर थोपर्ने सपना देख्ने राष्ट्रिय नेताहरू आफ्नो स्वार्थ पूर्ति हुने जग्गामा पुगेपछि नाम्ले परेको बोकाको च्यापु फुलेझैँ फुलेर बसेका हुन्छन् । पूर्वजन्ममा दुःख दिएर नअघाएझैँ, फेरि दुःख दिने उद्देश्य लिएझैँ देशको नीति नियम देख्दा जनता वलीको बोकाझैँ निर्विरोध पर्छिन बाध्य छन् ! तर अचम्मको कुरो के छ भने नेताको देश विकासको सपनाको परिधिमा यो पर्दैन रे । आफ्नो राष्ट्रप्रति जिम्मेवार नेताले प्रत्येक गरीब मनुष्यको आधारभूत आवश्यकता पूरा गर्ने सपना नदेख्नाको कारण के होला ? कि फुस्क्यो मान्छेको हावा फुस्केझैँ नेताको पनि हावा ?

विदेशोन्मुखी भएर आफ्नो कर्तव्य पूरा भएको ठान्नेहरूले आफ्नो जन्मभूमिको अवस्थालाई पातको टपरीमा भात खान सुहाउने सपना किन नफुरेको हो मगजमा ? आफू नमरी स्वर्ग नदेखिने भएपछि यदि देशप्रति शुभचिन्तकै नेताजी जन्मेका छन् भने आफैले टपरीमा भुजा ज्यूनार गरेर जनतालाई किन प्रेरणा नदिने ? अथवा भनूँ दुना–टपरी इन्डस्ट्री खोल्ने सपना किन नदेखेका हुन् ?

नेपालमा पाइने अनेक जातका बोट वृक्षमध्ये टपरीका लागि उपयुक्त थालको कार्यभार सम्हाल्ने बेपारी चिउरी र साल अति महŒवपूर्ण छन् भन्ने कुरा नेपालका वर्तमान देशप्रेमीका लागि सायद अतीतको सपना भएर रहेको होला । संसद् भवन वरिपरि यस्ता जातका बोट बिरुवालाई संरक्षण प्रदान गर्नसके, आश्रय दिन सके, दुना, टपरी या बोहोतीले स्थान जमाउने थिए । विदेशका ठूला ठूला शहरमा निर्यात हुने थिए र थाल कचौराको कार्यभार पक्कैसम्हाल्ने थियो । हैन भने विदेशबाट आयातित धातु भाँडावर्तनमै रजगज गरेर बस्ने हो भने नेतालाई के देशभक्तिको विशेषण दिन मिल्ला र ? हुन त स्वदेशी नगरपालिका घारो तेर्साएर पात र पात गाँस्ने सिन्काको भ्याट कर लिन पाउने सङ्लो सपनामा लीन होला । के गर्ने नलेओस् पनि कसरी करवालेलाई करको चिन्ता, घरवालेलाई घरको चिन्ता, लिनै प¥यो नि ।

यस्ता वस्तु उत्पादनको कारखाना खोल्नसकेपछि गएर काँचो छाला सङ्कलनजस्तै काँचो दुना तथा टपरी सङ्कलन केन्द्रका नाममा बैँकबाट विना घूस पेस लोन लिन पनि सकिने । जे होस् दुना–टपरी उद्योग खोलेर देशका गरिबी जनतालाई राहत नमिले पनि दुनो सोझ्याउने कामचाहिँ सबैबाट सकृयताकासाथ भएको हुनाले यहाँहरूको सह्राहना पनि नगरी रहन सकिन्न ।

मेरो रायले काम गर्ने भए ऋणको आवश्यकता पनि नपर्ने, विदेशीलाई पुकार्नु पनि नपर्ने न त डिजेल पेट्रोलकै आवश्यकता खट्किन्छ, न त लोडसेडिङकै पर्वाह हुन्छ । साँच्चै नै कति सजिलो छ, दुनाउद्योग खोल्न । तर के गर्ने सपना देख्न त सजिलै देखिन्छ, बरू दुना तथा टपरी उद्योग खोल्ने स्वीकृति उद्योग मन्त्रालयले देला कि नदेला ? यस विषयमा भने गम्भीर आशङ्का भएको छ ।

फुलबारी, पोखरा