सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भत्ताभवनमा सीमित प्रज्ञा प्रतिष्ठानहरू : \’रचना\’ दुई महिने

Nepal Telecom ad

लोकतन्त्र स्थापना भएपछि हामीकहाँ भाषा साहित्य, कला र संगीत नाटय गरेर तीनवटा प्रज्ञा प्रतिष्ठान गठन भएका छन् । पछिल्ला दुई प्रज्ञा प्रतिष्ठान नितान्त नयाँ हुन् । यी प्रतिष्ठानमा प्राज्ञ सदस्य चयन गर्दा प्राज्ञिक सेवा र योगदानलाई भन्दा बढी दलीय संलग्नता र जातीय समावेशितालाई नै मुख्य आधार बनाउने प्रथा प्रारम्भ गरियो । फलस्वरूप प्राज्ञिक ऊर्जाले सम्पन्न व्यक्ति, समर्पित वाङ्मय सेवीहरूलाई उपेक्षा गरेर भिन्नै प्रकृतिका, पार्टीपूजकहरूको जागिर–भत्ता खाने थलो ती प्रज्ञा प्रतिष्ठानलाई बनाइयो । आफ आफ्नो क्षेत्रमा इतिहास निर्माण गरिसकेका नेपाली संसारमा व्यापक परिचय कायम गरिसकेका, सेवा र योगदानका दृष्टिकोणले विवादहीन मानिएका प्रज्ञा सेवीहरू उपेक्षित भए । प्रज्ञा सभासम्म पु¥याइएका केही योग्यतम व्यक्ति पनि प्रज्ञा परिषद निम्ति अयोग्य ठहरिएका देखिए । केही अनुहार दोहोर्याई तेहेर्याई प्राज्ञ आसनमा विराजमान हुन सफल भए । नेपाल प्रज्ञा प्रतिष्ठानमा त यस्तो उदाहरण बारम्बार दोहोरियो । यी प्रज्ञा प्रतिष्ठानहरूमा आदरयोग्य अनुहार ज्यादै कम देखिएकै कारण वाङ्मयसेवीहरूबाट अपेक्षित सहयोग यिनलाई प्राप्त हुन सकेको देखिएन । प्रज्ञा प्रतिष्ठान जस्ता प्राज्ञिक संस्थाको नियुक्तिमा पनि संविधानसभामा जस्तै दलीय संलग्नतालाई, जातीयतालाई, समावेशितालाई आधार मान्नु हास्यास्पद त हुँदै हो; विवेकहीनता पनि हो । यस्तै आधारलाई ग्राह्यता दिएर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (रोनाष्ट)मा नियुक्ति गरियो भने कस्तो दुर्गति होला ? दलीय संलग्नता र जातीयतालाई योग्यता मानेर नियुक्त वैज्ञानिक ज्ञानशून्य व्यक्तिबाट रोनाष्ट जस्तो विज्ञान प्रविधि सम्वन्धी प्राज्ञिक संस्थाले के लाभ पाउन सक्ला ? त्यस्तै हो भाषा साहित्य, कला, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानहरूमा संगतिहीन इतर योग्यतालाई आधार मानेर प्राज्ञ बनाइनु पनि । क्रमशः अव हाम्रा तीनवटै प्रज्ञा प्रतिष्ठानमा प्राज्ञका कार्यकाल समाप्त हुँदैछन् । प्राज्ञहीन हुदैछन् निकट भविष्यमा अव यी प्रतिष्ठानहरू ! यी प्रतिष्ठानका प्राज्ञहरूले आफ्नो कार्यकालमा त्यस्तो उपलब्धिपूर्ण काम के गरे त ? भन्दा प्रायः हात लाग्यो शून्य नै देखिन्छ । एक दुईजना सक्षम प्राज्ञ ती प्रतिष्ठानमा नभएका होइनन् । तर ती संभवतः अल्पमतमा नै परे । प्रमुख राजनीतिक दलका आश्रितहरूको आश्रयस्थल मात्र देखिए यी प्रतिष्ठानहरू । तिनका भत्ताभवन र सुगम जीवन यापनस्थलका रूपमा मात्र परिचित भए हाम्रा प्रज्ञा प्रतिष्ठानहरू ! वाङ्मयिक उन्नयनका दृष्टिले उपलब्धिहीन कुरा हुन् यी । अव यी प्रज्ञा प्रतिष्ठानहरूमा मनोनीत हुन फेरि पनि पार्टीपूजकहरूको दौडादौड नेताहरूका दैलामा चलिरहेको चर्चा वाङ्मय वृत्तमा व्याप्त छ । स्वाभिमानी र सुयोग्य, आफ आफ्नो क्षेत्रका प्रखर व्यक्तिहरू यस्तो घृणित खेलमा सामेल हुँदैनन् । सत्ताको दृष्टिमा ती कहिल्यै पर्दैनन् । अतः पहिले झैं नै दलीय भागबण्डाका आधारमा, जातीय समीकरणका नाउँमा, नेता, सत्ता र शक्तिकेन्द्रलाई रिझाउन सक्षमहरूकै बथानले यस पटक पनि यी प्रज्ञा प्रतिष्ठानहरू भरिने कुरामा कुनै शङ्का गर्नु पर्दैन । आगामी दिनमा माथि चर्चा गरिएका तथ्य मिथ्या साबित हुने गरी प्रज्ञा प्रतिष्ठानहरूमा प्राज्ञ नियुक्त होलान् त ? प्रतीक्षा गरौं निकट भविष्यले के देखाउँछ !

\’रचना\’ दुई महिने २0७0,पुस/माघ अंकको सम्पादकीय

Fitkauli Publication Books comming soon
Nepal Telecom ad