सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कुरा गर्न पाउने हक

Nepal Telecom ad

समयले कोल्टे फेर्न थालेपछि कसैलाई पनि सुन्दैन रहेछ भन्ने कुरा पनि कैलेकाँहि सुनिएकै हो । सुनेका कुरामा अचेल अलि कम मात्र विश्वास गर्ने बानी परेछ । साँचो कुरा चाँहि सुन्नु नै पर्दोरहेछ,जसरी पनि। सरकार फेरिने अनि स्थायी रहनेका हल्लामा अचेल साराका सारा दुनियाँ नै फलित ज्योतिषका आचार्यको जसरी हिसाब गरेर बसेपछि म मा पनि तिनका कुरा कानमा बतास जसरी आउने जाने मात्र हुन दिनु हुन्न भन्ने मान्यताले खुब काम गर्न थालेको छ । कानै बैरिने गरीका यस्ता गफ चियापसलदेखि पँधेरासम्म, माइक्रोबसदेखि बजारसम्म तरकारी पसलदेखि सरकारी पसलसम्मै जताततै सुन्न पाइन्छ । एकछिन त शान्तसँग यात्रा गर्न पाइएला भनेर सार्वजनिक सवारीमा सकिनसकी अर्जुनले जितेको महाभारतको जस्तो अभावका बेलाको पाइला राख्यो राजनीतिको र नजाने पनि मै हुँ भन्ने महिला महोदय कि त कुनै नाम नचलेकै भए पनि इन्टरनेसनल नामको एनजिओ कि त्यस्तै प्रकृतिको संस्थाका महाशयमा भाषणले कान दुखाउँदै सानो माइक्रोबस भए कुप्रिएर ठूलो बस भए नसमातीकनै उभिएर भए पनि जवरजस्ती आधा घण्टा कटाउनु पर्छ ।

बिहानैबाट शुरु भएको अल्छिलाग्दो र पट्यारलाग्दो भाषण सुनाईको शिलशिला उस्तै परे तपाईंकै कार्यालयका तपाईभन्दा माथिल्ला तहका महोदय वा अलि जान्नेसुन्ने र पिठो बेच्न पल्केका तपाईकै सहकर्मी वा जुनियर मार्फत अझै केहिबेर रहनसक्छ । यसरी तपाईको बिहान नै नराम्ररी वितेपछि तपाईको दिन राम्रो भएको त कल्पना नै गर्न सक्नुहुन्न तपाई । म पनि यस्तै दिनाचर्यामा छु अचेल, विहानैबाट चाहिने नचाहिने कुराले कान भरेपछि दिनमा काममा मन नलाग्नु स्वभाविकै पनि हुँदोरहेछ ।

सरकारका कुरा काट्ने र सिन्को नभाच्ने बानी परेपछि कस्तोसम्म हुँदोरहेछ भने खान समेत सरकारका कुरा नकाटी रुच्दोरहेनछ । एकजना मित्र खाना खान मन नलागेको कम्प्लेन बोकेर चिकित्सककोमा पुगेछन्, उनकोमा पाँचसात मिनेट सरकारका नराम्रा कुरा गरेपछि त भोक लागेर घर फर्केको समेत सुनाएका थिए । आफू भने सिन्को नभाच्ने अनि अरुको बदख्वाई गरेर हिड्ने जोइटिङ्ग्रे पद्धतिको पक्षपाती भएसम्म हामी हामी नै रहने कुरामा म मात्र हैन त्यति धेरै कुरा नजान्ने मेरा छिमेकीहरू समेत एकमत छन् (हुन त छिमेकीको ग्यारेन्टी लिन सकिन्न फाइदामा पार्टी फेर्न सक्छन)। तपाईको छिमेकमा हुने यस्ता कुरामा मनैबाट चाख लागेर सुन्ने प्रयासको शुरुवात गर्नुभो भने त तपाईंको दिन सायदै राम्रो वितेको कल्पना गर्न सक्नुहुन्छ । जसरी भए पनि अरुका नराम्रा कुरा मात्र खोजी बस्ने बानी लागेपछि त झन तपाईमा आफ्नो काम पनि छ भन्ने कुराको हेक्का पनि अरुले गराईदिनु पर्ने अवस्था आउन सक्छ ।
धारामा पानी नआएको देखि बजारमा ग्यास नआएको, घरमा चामल सकिएको देखि लिएर पसलमा नुन नभाको, श्रीमतीका गालीदेखि चियापसलका तालीसम्म, सबैमा सरकार नै निकम्मा देखाएपछि त आफू सबैमा पवित्र देखाउने काइदा चाहि बास्तवमा हाम्रा बजारीय पण्डितका भन्दा सुपर हिट आइडिया भएको अनुमान सहजै लगाउन सकिन्छ । खाँटी कुरो चाँहि अझै अर्कै छ, जुन बुझ्नु फलामका चिउराका कथा भन्दा गाह्रो हुन सक्छ । आफूले गरेका जस्तासुकै काम पनि अर्कैले बिगारेको भन्न पाउने अनि दोष अर्कैलाई दिन पाउने भएपछि कुन चाहि मूर्खले काम आफूले विगारेको कुरा लिएर दोषी बन्न चाहन्छ र ?

वास्तवमा हक चाहि चाहिएकै हो हामीलाई, हरेकका हरेक हकको व्यवस्था भएपछि मानवमात्रका कुराहरू गर्न पाउने त्यसको कसैले न जिम्मा लिनुपर्छ न त कसैले किन त्यस्तो भनिस भनेर नै सोध्न सक्छ । अरुकै हुन कुराहरू काट्ने पनि आफ्ना त कँहा काट्नु र मान्छेका कुरा काटिनु भनेको त पत्थरमा कुँदिनु सरह हुन्छ । गाली खानु पनि आफूले खानु भनेको त ठूलो बेइज्जती हुन्छ अरुलाई भनिनु चैँ बालुवामा कोरिए झै हुन्छ ।त्यसैले गाली गर्न र अरुका कुरा काट्न चैँ पाउनै पर्छ ।

आँखिभुई ८ संखुवासभा
हाल : काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दस दनक

दस दनक

रामकुमार पाँडे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
अभिनन्दन पत्र

अभिनन्दन पत्र

चूडामणि वशिष्ठ
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
मूषक माहात्म्य

मूषक माहात्म्य

सुमी लोहनी