यसपालि कुन नेताजीको अभिनन्दन गर्ने होला भनेर विचार गर्दै रहेका बेला अचानक एक जना अनौठो मान्छे फेला पर्यो राजधानीको एक कार्यक्रममा । हेर्दै कच्याककुचुक परेको अनुहार, बटारिएको शरीर, बाङ्गाटिङ्गा हातगोडाहरू । मानिस त्यस्तो, उसका थप विशेषताहरू झन् उस्तै । न बोल्न सक्छ, न हिँड्न सक्छ, न आफ्ना लुगा आफैँ लगाउन सक्छ, न आफ्नै हातले भात खान सक्छ । त्यतिसम्म त उसलाई सहन सकिन्थ्यो तर उसलाई दिसा–पिसाब गराउनेदेखि लुगा लगाइदिने र नुहाउनेसमेत अरूले नै गर्नुपर्छ । यस्तो मान्छेसँग भेट भयो ।

हुन त यस्ता मान्छे यो दुनियाँमा कति होलान् कति तर यो बिलकुल बेग्लै मान्छे । करोडौँ मात्र होइन, अर्बौंमा एउटा मान्छे । राजधानीदेखि टाढा मोफसलमा बस्छ र कविता लेख्छ । कविता पनि यस्ता लेख्छ कि आगो ओकल्ने खालका, मान्छेको मस्तिष्क हल्लाउने खालका, व्यभिचारीहरूको मुटु छेड्ने खालका, समाजका विकृति र विसंगतिलाई निर्दयतापूर्वक चिर्ने खालका, परम्परा, संस्कृति र ग्रामीण जनजीवन सर्लक्कै उत्रिने खालका । भनिगएँ नि, उठ्न, बस्न, हिँड्न, बोल्न र लेख्नसमेत सक्दैन तर पनि कविता लेख्छ । अचम्म !

यो मान्छेलाई भेट्दा कति पीडित र दुस्खी होला यो मान्छे भन्ने जोसुकैलाई लाग्छ । तर, भेट भएपछि थाहा हुन्छ, यस्तो शारीरिक र मानसिक उल्झनमा बाँचिरहेको मान्छे हामी कथित सद्दे जीउज्यान भएका लेखक–कविहरूभन्दा कति ऊर्जावान् छ, कति सकारात्मक र सिर्जनशील छ । ऊ कहिल्यै रुन्चे अनुहार लगाउँदैन, बरू लोभलाग्दो गरी हाँसिरहन्छ । यो विलक्षण कवि आफूलाई सरकारले हेरेन भनेर गुनासो गर्दैन । मेरो उपचार गरिदिएन भनेर रुँदैन । किताब बिक्री भएनन् भनेर गनगन गर्दैन । पुरस्कारका लागि कसैका अगाडि हात थाप्दैन, गिडगिडाउँदैन । यो विचराको कुनै गुट छैन, जसले संसारकै सबैभन्दा ठूलो कवि यही हो भनिदेओस् । कुनै प्रकाशक वा पत्रकार यसका पछाडि लाग्ने कुरै भएन, जसले यसका ठूलठूला तस्बिर राखेर बजारमा होडिङ बोर्ड टाँगिदेओस्, पेजभरिको पोजदार तस्बिर राखेर ठूलठूला राष्ट्रिय दैनिकमा अन्तर्वार्ता लिइदेओस् ।

हातले मात्र होइन, यो मान्छे खुट्टाले पनि लेख्न सक्दैन । फेरि सम्झाउन मन लाग्छ, शरीर अडिँदैन, ढाड सोझिँदैन, मुन्टो थामिँदैन, हात चल्दैनन्, खुट्टा टेकिँदैनन्, बोली बुझिँदैन । तैपनि, कविता लेख्छ, गीत लेख्छ, गजल लेख्छ । बाहिरी आँखाले देख्ने त आँगन र अलिक पर्तिर खेतसम्म हो तर भित्रका तिखा आँखाले छर्लंग देख्छ समाजलाई । तिखातिखा लेखनीका वाणले घोच्छ समाजलाई । स्कुलको अनुहार देखेको छैन तर ऊ आफैंँ एउटा विश्व विद्यालयको स्वरूपमा उठिरहेको छ । घरको कोठाबाट आँगनमा निस्कन पनि उसले कसैको बुइमा चढ्नुपर्छ तर उसले आफ्नाअगाडिको भुइँमा हेरेरै ब्रह्माण्ड देख्छ हृदयले । हृदयले छाम्छ ऊ विश्वलाई । हृदयले सुमसुम्याउँछ ऊ आफ्नी पत्नीलाई, आफ्ना छोराछोरीलाई, शुभचिन्तक र पाठकहरूलाई ।

यस्तो अद्भूत विरलाकोटी मान्छेका कुरा मेरो झटारोमा अटाउने कुरै भएन । त्यसैले इटहरीको एक घरको एक कुनामा बसेर अत्यन्त कठिन प्रसव पीडाका साथ निरन्तर कविता जन्माइरहेको वियोग सापकोटालाई छाडेर पुनस् कुनै गजधम्मे नेताकै अभिनन्दन गर्नेबारे सोच्दैछु अहिले म ।

नेपाल, जेष्ठ ६, २०७३