उसो त पुराना थोत्राथात्री सामान थुपारेर व्यापार गर्नेलाई कवाडी भनिन्छ । पुराना हरेक सामानहरू खोज्नपर्यो भने कवाडीखानामा गए पाइन्छ । प्लास्टिकका हुन वा अन्य धातुजन्य सामान कवाडीखानामा भेटिने मुख्य बस्तुहरूमा पर्छन । फलामका छड देखी झ्याल ढोका र ढोकाका चुकुल उस्तै परे ओछ्याउने सुकुल सम्म कवाडीखानामा पाइन्छ ।

हाम्रामा एकजना अलिसा नामकी मेडम हुनुहुन्छ । उहाँ ओडिसी एकेडेमीमा मसिना नानीहरूलाई खेलाउँदै पढाउनुहुन्छ रे । नानीहरू खेलाउनलाई खेलौनाहरूको जोहो त गर्नैपर्छ । खेलौनासँगसँगै कार्डवोर्डमा विभिन्न आकृतिहरू बनाएर देखाउनु पनि पर्छ । आकृति के बनाउने भन्ने कुराको निक्र्यौल पनि आफैले गर्नुपर्छ । आकार प्रकारका लागि पनि सोच्नैपर्छ । सोच्दा पनि केही लागेन भने आजकाल त गुगललाई काम दिए भैहाल्छ । गुगलले कुनाकन्दरा तिरबाटै भए पनि खोजतलास गरेर निकाली दिईहाल्छ । कहिलेकाहिँ त सोचेभन्दा पनि अचम्मको चिज पो निकाल्दिन्छ । काम रह्यो कार्डबोर्ड पेपर कटिङ्ग ।

विभिन्न रंगका कार्डबोर्ड पेपरहरू ठिक्क । पेन्सिल अझ उत्ताउलो तरिकाले प्रस्तुत भैदिन्छ । पेन्सिलको उत्ताउलोपनलाई सम्हाल्न इरेजर छेउमै बसेर बुरुकबुरुक गरिरहन्छ । पेन्सिल इरेजरको काम कहिले सकिएला र मेरो पालो आउला भनेर अर्कोपट्टि कैंची निच्च दाँत देखाउँदै दाह्रा किटिरहन्छ । सबै चिजको तालमेलमै कटिङ्गको काम सकिन्छ । ग्लू कटिङ्ग भएका आकृतिहरू टाँस्नमा आफूलाई माहिर ठान्छ । जब कैंची कटिङ्गमा लाग्छ ग्लू त्यसैबेलादेखि र्याल काड्दै हेर्न थाल्छ । कटिङ्गपिस तयार हुन पाएको हुँदैन ग्लू लपालप कटिङ्ग पिस चाट्दै टाँस्न दिन्छ । अब काम आउँछ टाँसिएका आकृतिहरूमा साईन पेनको । इन्द्रधनुषी अक्षरहरूले सजिएपछि कार्डबोर्ड त्यसै रहरलाग्दो देखिन्छ ।

आमाको मुख हेर्ने दिन बच्चाहरूलाई तिनका आमाहरूलाई केही न केही उपहार दिउन् भन्ने ती मेडमलाई लागेछ । अब के बनाउने त भनेर सोच्दा आफूले निर्णय लिन सकिनछिन् र गुगललाई के बनाउँ भनेर सोधिछिन् । गुगलले दुई हातको पन्जा बीच सानो अलि लाम्चो कागजको टुक्रालाई स्प्रीङ्ग जस्तो पारेर टाँसेर स्प्रीङ्गमा “ह्याप्पी मदर्स डे” लेख्न सिकाएछ । मेडम दङ्ग । अब हात कसरीे स्केच गर्ने भन्ने विचार गर्दा उम्म्म् माथि अंकलको हात ठूलो छ, उहाँको हात कार्डबोर्डमा राख्न लगाएर आउटलाईन कोरेर काट्छु भन्ने लागेछ । अंकल, ओ अंकल भनेर बोलाइन् र आफ्नो योजना सुनाइन् मैले पनि तुरुन्तै ओके भनिदिएँ । ल कार्डबोर्ड पेपर निकाल भनेर मेरो दायाँ हातको पञ्जा फुकाएँ ।

मेडमले एउटा निलो प्लाष्टिकको झोला झिकिन् । झोलामा चाहिने सबै चीज मौजुद रहेछ । फटाफट सबै चीजविज बाहिर आए । कार्डबोर्डमा मेरो बाघेपञ्जा छापियो । त्यसैलाई दोबारेर कटिङ्ग गर्दा दुबै हात तयार भयो । यसरी नै चाहिने सबै तयार गरेपछि टाँसटुँस पारेर लेख्ने काम पनि मलाई नै सुम्पिइन् र मैले चौधजोडी हातका बीचमा टाँसिएको सानो लाम्चो स्प्रीङ्ग टाइपको कागजमा विभिन्न रंगका साईन पेनहरूले “ह्याप्पी मदर्स डे” लेखिदिएँ ।

काम बाँकी थियो कागजका टुक्राटुक्री भेला गरेर फोहोरमैला राख्ने भाँडोमा हाल्ने मैले त्यसै गर्न खोजें तर मेडमले त्यसो गर्न दिइनन् र सबै टुक्रटुक्री टिपेर त्यही निलो प्लाष्टिकको झोलामा हालिन् । किन भेला ग¥या हो यस्ता झिनामसिना चीज भन्दा उनले भनिन् यो कुनै बेला तारा बनाउन काम लाग्छ त कुनै बेला कुनै प्राणीको जुङ्गा बनाउन काम लाग्छ । म हाँसे र तिनलाई नाम दिएँ शैक्षिक कवाडी । “जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बेंड” भन्या यहि रहेछ ।

काठमाडौं