‘ह लो कविजी ।’
‘हलो ।’
‘अचेल तपाई देखिनुहुन्न नि !’
धेरैपछि कविजी नयाँसडकमा देखापरेका थिए ।
‘हो, यता म केही बिजी छु ।’
‘त्यस्तो के गरिरहनुभएको छ, कविजी ?’ मैले छड्के आँखाले हेरें ।

यसको जवाफ कविजीको ओठ मास्तिरको एउटा चौडा मुस्कानको रूपमा आयो । यिनी नेपाली साहित्यका एक विलकुलै अलग व्यक्तित्व हुन् । यो कुन अर्थमा भने कविजी साहित्यिकभन्दा बेसी इतर किसिमका लेखनमा व्यस्त रहन्छन् । अतएव अतिरिक्त साहित्यिक लेखक नै भन्नोस् ।

‘नयाँ के लेखिरहनुभएको छ, कविजी ?’ मैले लगत्तै अर्काे प्रश्न गरें ।
यस पटकको मुस्कान अझ चौडा भएर कविजीको अनुहारमा फैलियो । अर्थात् दुई मोटा–मोटा ओठबाट फुत्त निस्केर दुईतिरकै टम्म गाला भई अर्धश्वेत केसयुक्त कन्पारोसम्म । यसकारण कविजीको मुस्कानलाई पनि अतिरिक्त मुस्कान नै भन्नुपर्यो ।
‘के मलाई भन्न मिल्दैन कविजी ?’
‘मिल्छ, किन मिल्दैन ?’
मैले प्रश्नवाचक आँखाले हेरेंँ । उही परिचित कविजी मार्का चौडा मुस्कान मसामु ठिंग उभियो ।

यिनको अतिरिक्त लेखनका विभिन्न चरण रहेका छन् । पहिले पाठ्यपुस्तकका सट्टा गाइड लेख्ने गर्थे । यसै सिलसिलामा खरदार र नायव सुब्बाका परीक्षार्थीहरूलाई ग्यारेन्टेड सफलता प्रदान गर्ने स्वर्ण कुञ्जिका पनि लेखे । कुनै पनि चलेन । अनि एनजीओका लागि ससाना रिपोर्टा्दि लेख्न थाले । तर अंग्रेजी भाषामा कमजोर ठहरिएकाले तुरुन्तै चलचित्रको कथा, पटकथा, संवाद, गीत आदि लेख्ने चालु लेखनमा गए । र कविजीले सिनेमा आरम्भमै सुपर फ्लप भएपछि यिनी नितान्त अर्कै लेखनमा फुर्तीका साथ लागेका छन् । याने अश्लील उपन्यास लेख्नमा ।

‘तपाईंको नयाँ उपन्यास निकै चर्चामा छ, कविजी ।’ मैले पनि कविजीको चौडा मुस्कानको हलुका अनुशरण गर्न खोजेंँ ।
‘कुन उपन्यास ?’
‘हरियो चोलो ।’
‘हरियो चोलोको हलचल ।’ कविजीले शीर्षक पुरा गरे ।
‘ए, हरियो चोलोको हलचल ।’ मैले दोहोर्याएँ ।
यसको प्रत्युत्तरमा कविजी चुप लागे ।
‘तपाईंको यो उपन्यासको समालोचना पनि राम्रैसँग भइरहेको छ, कविजी ।’
‘के समालोचना ?’ एक्कासी झस्किएर कविजीले मौनता तोडे ।
‘मेरो मतलव मौखिक समालोचना ।’ मैले भनें, ‘सबैका मुख—मुखमा हरियो चोलोको हलचलको राम्रो चर्चा छ ।’
‘ए... ।’
‘यो उपन्यास हिट भइसकेको छ, कविजी ।’

कविजी फेरि मौन भए । केही सोचिरहेका थिए सायद । (हरियो चोलोको हलचलकै विषयमा हुनुपर्छ) । तसर्थ मैले नै भनेंँ, ‘सबैले यो उपन्यासलाई निकै रुचाइरहेका छन्, कविजी ।’
‘तपाईंलाई थाहै छ, म काव्य लेख्ने गर्छु । मेरा तीन फुटकर गीतिकविता र तीनवटै खण्डकाव्य प्रकाशित छन् । र एक बृहताकार महाकाव्य ‘सूर्यपुत्रको तपस्या’ लेखनक्रममै रहेको छ ।’ एकाएक गम्भीर भएर कविजी भन्न थाले, ‘मैले अहिलेसम्म कुनै उपन्यास लेखेको छैन ।’
‘म मूलत एक कवि हुँ ।’ कविजीले तत्कालै ‘कवि’मा विशेष जोड दिएर मतिर हेरेंँ ।

मेरो सामुन्ने अलिकति निहुरिएर (शारीरिक बनोटका कारण) कविजीले यसो भन्नु पुरै असत्य थिएन । विभिन्न मान, सम्मान र पुरस्कार पाइसकेका राष्ट्रिय स्तरका साहित्यकार कविजी आफ्नो नामले अश्लील उपन्यास लेख्दैनन् । वास्तवमा यिनले अर्कै नाम धारण गरेर अश्लील उपन्यास लेख्ने गरेका छन् । यतातिरका केही अतिशय चर्काे अश्लील पुस्तिका (ससाना आकारका भएकाले) मा गोप्य नाम पनि फेरिएको छ ।
‘हरियो चोलोको हलचल’ नै एउटा नयाँ उपनाले बजारमा आएको छ ।

‘मेरो अभिरुचि काव्यमा मात्रै छ ।’ कविजी भनिरहेका थिए ।
‘सूर्यपुत्रको तपस्या कहिले पुरा हुन्छ, कविजी ?’ मैले कटुता पैदा हुनथालेको बातचितलाई अन्तै मोड्ने प्रयास गरें ।
‘हेर्नाेस्, यसमा म कठिन परिश्रम गरिरहेको छु । म सूर्यपुत्रको तपस्याको अन्तिम–अन्तिमतिर पुगिसकेको छु ।’ केही सहजतामा आएर कविजीले भने, ‘एउटा अर्काे लोक महाकाव्यको तयारी पनि चलिरहेको छ ।’
‘त्यसो भए, सूर्यपुत्रको तपस्या समाप्त भएर वरदान प्राप्त हुनैलागेको छ, कविजी ।’
‘तपाईले के भन्न खोज्नुभएको हो ?’
‘होइन, म त एउटा कुरा गरिरहेको थिएँ ।’
‘नचाहिँंदो कुरा नगर्नाेस् ।’
‘ठिकै छ, कविजी ।’
कविजी आफ्नो परिचित चौडा मुस्कान स्थगित गरेर मलाई क्रोधका साथ हेरिरहेका थिए ।
‘तपाईका उपन्यासहरू त धमाधम बजारमा आइरहेका छन् नि कविजी ।’ केही क्षणपछि मैले भनें, ‘यस अघिको मोटो उपन्यास ‘जवानीको ज्वरो’ पनि उत्तिकै चर्चामा थियो ।’

यसपालि मेरो अनुमानविपरीत कविजीको ओठमा उही चौडा मुस्कान देखार्पयो । यसले उत्साहित भएर मैले झटपट थपेंँ, ‘तर तपाईको सबभन्दा बढी मनपराइएको लोकप्रिय उपन्यास भने पाउजेवको मिठो छमछम नै हो भनिन्छ । के यो सही हो त कविजी ?’
‘अब म के भनुँ ?’
‘केही त भन्नोस् ।’
‘तपाईं फेरि नचाहिंँदो कुरा गर्न थाल्नुभयो ।’ कविजीको क्रोध उचाइमा पुगेर पड्कियो, ‘मैले भनिहालेंँ नि, मैले कुनै उपन्यास लेखेको छैन ।’

मैले बुझिहालेंँ, कविजी सायद झुठ बोलिरहेका छन् । किनभने हरियो चोलोको हलचल, जवानीको ज्वरो र पाउजेवको मिठो छमछमका साथसाथै यिनको रातको जोडी, तातो सासको छहारी, मेरी चञ्चल सरुमारानी, गालाको चम्किलो खाल्डो, एउटा फरक प्यास, रिसोर्ट सुन्दरी, तुफानी जवानी, वर्षातको चुम्बन, प्यारी बसन्ती हावा, क्याम्पस प्रेम, गोरो छाला, फुटेको चुराको लालिमा, नानीको बानी आदि थुपै्र अश्लील पुस्तिका अहिलेसम्म बजारमा प्राप्य छन् ।

‘त्यसो भए, हरियो चोलोको हलचल कसले लेखेको होला कविजी ?’ मलाई पनि झनक्क रिस उठेको थियो ।
‘म के जानुँ ?’
‘तर तपाईंकै प्रकाशकमार्फत मैले सबै जानिसकेको छु ।’ मैले भनँें, ‘तपाईको अश्लील गीतहरूका पुस्तिका पनि छिटै प्रकाशित हुँदैछ रे ! यस्तो हो त कविजी ?’
यो सुनेर कविजीको चौडा मुस्कानयुक्त अनुहार कालोनिलो भयो । यो भयानक क्रोधको निसानी थियो । अब मैले केही भन्नु खतरामुक्त थिएन । त्यसले बिदावारीको कुनै पनि औपचारिक–अनौपचारिक वाक्यको निर्वाह नगरेर म सरासरी अघि बढें ।

नयाँसडक, बूढो पीपलबोटको सान्ध्य परिक्रमा गर्नेहरूका हुलमा कविजी त्यसै क्रुध मुद्रामा उभिइरहे ।

कान्तिपुर, जेष्ठ ८, २०७३