कांग्रेस सभापति शेरबहादुर देउवा दाइले काठमाडौँ–निजगढ फास्ट ट्रयाक नेपाल आफैँले बनाउनु हुँदैन भन्दा धेरैले विरोध गरे । विरोध मात्रै होइन, उनलाई अराष्ट्रिय तत्त्वै घोषणा गरे कतिले । सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा भोट हाल्ने व्यवस्था भएको भए देउवाको बल्लतल्ल हात परेको सभापति पदै जान्थ्यो होला । सत्य कुरा व्यक्त गर्दा अबूझहरूले देशनिकालै गर्लान्झैँ भएपछि उनले बाध्य भएर खण्डनसमेत गर्नु पर्यो ।

वास्तवमा, यो खण्डन होइन प्रशंसा गर्नुपर्ने भनाइ थियो । कत्राकत्रा महत्त्वपूर्ण काम हुँदाहुँदै यो विकास निर्माणका झमेलामा पर्ने होइन हामीले । त्यसमा पनि नेताज्यूहरूले त त्यतापट्टि सोच्ने फुर्सदै पाउनुहुन्न । उहाँहरूलाई गर्नका लागि अरू नै काम चाङका चाङ छँदै छन्, त्यसैले यस्ता अर्कैले गरिदिने काममा हामीले आफ्नो समय खर्च गर्नु हुँदैन ।

कति भ्याइ नभ्याइ छ हाम्रा नेताहरूलाई, दौडादौड छ सधैँ । कहिले दूतावासहरूले दौडाउँछन् । कहिले दिल्लीले हाजिर गराउँछ । कहिले बेइजिङले बोलाउँछ । सरकार ढाल भन्छ, ढाल्न थाल्नु पर्यो । मन्त्री फेर भन्छ, फेर्न थाल्नु पर्यो । राष्ट्रिय–अन्तर्राष्ट्रिय गोष्ठी, सेमिनार, बैठक, शिलान्यास, उद्घाटन, विमोचन, भोज, भतेर, बिहे, ब्रतवन्ध, पास्नी, कहाँ मात्रै भ्याउनु ! यत्रा महत्वपूर्ण काम छाडेर ढुंगा लडाउने काममा किन लाग्नू ?

विमानस्थल, सडक, रेलमार्ग, हाइड्रो प्रोजेक्ट, खानी उत्खनन गर्नेजस्ता ठूला काममा हामीजस्ता हरितन्नमहरूले हात हाल्ने दुस्साहस गर्नै हुँदैन । यस्ता काम विदेशीलाई दिएर ढुक्कले आफ्नो काममा लाग्नु पर्छ । तिनीहरू आउँछन्, बनाउँछन्, कमाउँछन्, खान्छन्, लान्छन्, जान्छन् । काम विदेशीले गर्ने भए पनि आयोजनाको शिलान्यास गर्ने हामीले नै हो, बनिसकेपछि उद्घाटन हामी नै गरौँला । शिलालेखमा नाम त हाम्रै लेखिन्छ नि, किन चिन्ता !

त्यस्ता काम हामीले आफैँ गर्न खोज्दा छिमेकीहरूको चित्त दुख्ला, आफैँ जान्ने भएछौ, लौ गर न त भनेर भोलिदेखि सहयोग गर्न छाड्लान्, त्यसले गर्दा पनि हामीले धेरै जान्ने हुन ठीक छैन ।

आफूले गर्न सक्ने काम पो गर्नुपर्छ । जस्तै– हामीले यस्ता ठूला काम गर्न सक्दैनौँ भन्ने, रुने, बस्ने । विकास गर्नुपर्छ भन्ने गीत गाउने, बस्ने । तैँले गरिनस् भन्ने, गाली गर्ने बस्ने । गर्न दिइनस् भन्ने, सराप्ने बस्ने । गर्न खोज्नेका खुट्टा तान्ने, छिर्के लगाउने, बस्ने । आफ्नै देशका नाका थुन्ने, बस्ने । सिंहदरबार घेर्ने, बस्ने । गाडी जलाउने, ढुंगा हान्ने, टायर बाल्ने, बस्ने । आन्दोलन गर्ने, सहिद जन्माउने, बस्ने । गुटबन्दी गर्ने, भागबन्डा गर्ने, बस्ने । पार्टी खोल्ने, पार्टी फुटाउने, बस्ने । चन्दा उठाउने, खाने, बस्ने । यत्रा काम छन् हाम्राअगाडि, केही नपाएर भीरमा डोजर कुदाउने जोखिम किन मोल्ने ?

त्यसैले शेरबहादुर देउवाले भनेजस्तै त्यस्ता काम हामीले गर्ने होइन र आफैँ गर्न खोज्नेलाई गर्न दिने पनि होइन । केपी ओली बाका कुरा सुनेर कान टट्टाइसके । यिनी यो गर्छु र त्यो गर्छु भनेर हामीलाई तर्साएका तर्सायै छन् । साँच्चिकै गर्न थाले भने त बर्बादै हुन्छ, त्यसैले यिनलाई गर्न त के, गर्छु भन्न पनि दिनु हुँदैन । यिनलाई लडाइहाल्नु पर्छ । देउवा दाइहरू अघि लाग्नोस्, सघाउन हामी तयार छौँ । यसैमा हामी सबैको कल्याण छ ।

नेपाल, जेष्ठ १३, २०७३