सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सप्तकोसीमा पानीजहाज

Nepal Telecom ad

पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको सपनाको खुबै चर्चा हुने गरेको छ । आउनुहोस्, खुला आँखाले देख्ने र देखाउने उहाँको सपनाको गजुरियल विश्लेषण गरौं ।

प्रधानमन्त्रीको ‘पानीजहाज सपना’ यो साता निकै चर्चित रह्यो । हुन त त्यसभन्दा अघिका सपनाहरू पनि कम हिट थिएनन् । ‘पाइपबाट ग्याँस ल्याउने’, ‘हावाबाट बिजुली निकाल्ने’ जस्ता कुरा त सुपर हिट नै भए । भोलि ओलीले ‘असिनाबाट आलु फलाउने’, ‘पसिनाबाट अत्तर उत्पादन गर्ने’ सपना देख्नुभयो भने ती पनि सुपर–डुपर हिट हुने निश्चित छ ।

आज उहाँको ‘पानीजहाज सपना’मै केन्द्रित हौं । सपनाविद्हरू भन्छन्, जसले पिउन लागेको चियाको गिलासमा झिँगा पर्छ, त्यसले पानीजहाज चढेको वा चलाएको सपना देख्छ । प्रधानमन्त्रीले बन्द आँखाले देखेको सपना होइन यो । त्यसैले उहाँको यो सपना रियलमै पूरा हुन सक्ने सपना हो भन्ने गजुरियल ठम्याइ छ । आजभन्दा ठीक आठ वर्षअघि यो स्तम्भकारले सप्तकोसीमै पानीजहाज ल्याएर दुनियाँलाई देखाइदिइसकेको छ । एउटा सामान्य सर्जकले त बंगालादेशबाट भारत हुँदै सप्तकोसीमा ठूलो नहर ल्याएर मूलघाटमै पानीजहाज ल्याउन सक्छ भने देशको प्रधानमन्त्रीले देखेको सपना कसो पूरा नहोला ?

यद्यपि सपनाको व्यवस्थित व्याख्या नहुँदा त्यसको अकालमै मृत्यु हुन सक्छ भन्ने गजुरियल ठम्याइ छ । सपना जस्तो पनि देख्न सकिन्छ, तर कस्तो सपना सार्वजनिक गर्ने र कस्तो नगर्ने भन्ने विवेक र्पुयाइएन भने प्रधानमन्त्रीको पानीजहाज सपनालाई जोकास्त्र प्रहार गरेर मानिसहरूले अकालमै मारिदिन सक्छन् । प्रधानमन्त्रीले नेपालले आफैं पानीजहाज चलाउने र त्यसमा राष्ट्रिय ध्वजा फहराउने कुरा गरेपछि नेपाली समाज दुई भागमा विभाजित भयो, ओलीभितर र ओलीइतर । ओलीभितरले उहाँको आँटको प्रशंसा गरे । ओलीइतरले उहाँलाई ढाँटको सज्ञा दिए, तर कुराको चुरोमा कोही पुग्न सकेनन् ।

अहिले ‘पानीजहाज’ सपना हेर्नोस् त ? देश, काल, परिस्थिति नबुझी कुनै योजना सार्वजानिक गरिदिनाले डल्ला र्पयो नि । प्रधानमन्त्रीले भन्नुभयो, ‘अरू भूपरिवेष्टित राष्ट्रको जस्तै हाम्रो पनि पानीजहाज चल्छ, नेपालमा होइन प्रशान्त र हिन्द महासागरमा ।’ यो सपना असम्भव छैन, किनभने मंगोलियाजस्तै अरू भूपरिवेष्टित राष्ट्रहरूले समुद्रमा आफ्ना पानीजहाजहरू चलाइरहेका छन्, तर सपनालाई फ्याट्ट–फ्याट्ट छरिदिनाले मान्छेले डल्ला पारिहाले, ओलीले नेपालमा पानीजहाज कुदाउने रे भन्दै । उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भनेझैं प्रधानमन्त्रीजीले जुन सपना देख्नुभएको छ, त्यसलाई हावामा उडाउनु जरुरी छैन । किनभने सप्तकोसीमा मेरो पानीजहाज चलिसकेको छ । प्रशान्त महासागरमा चल्ने प्रधानमन्त्रीको पानीजहाज र मेरो जहाजको कनेक्सन कसरी मिलाउने भन्ने मात्र हो ।

साप्ताहिक, जेष्ठ १४, २०७३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad