कालो प्यार बोकेर
अत्यन्त तीखा सिङहरूमा
म्वाई खान्छन् पाडाहरू
आजका मान्छे जस्तै ।

आँखा फुक्लेला जस्तो
रातो आँसु पोखिएला जस्तो
पाडाहरू आक्रामक छन्
तरबारधारी युवा जस्तो ।

उपेक्षा गरेर हरियो घाँस
निधार जुदाउँदै छन्
पात्तिएका पाडाहरू
कुरकुरे बैसले छोएका
उरन्ठेउला मान्छे जस्तो ।

खुरले खोस्रिएर धर्ति
सान देखाउँछन् पाड़ाहरू
बिर्सिएर महिष माताको
असीम पुत्रपीडालाई ।

मान्छे खोज्दै खोज्दै म
टाढा टाढा हेर्दैछु
कतै देख्दिन यहाँ
सायद आफैभित्र
खोज्नु छ मैले अब
आँखा झिकेर यस्ता
पार्टी जस्तै जुधी रहने
पाडाहरूबाट ।

काठमाडौं