दुनियाँ सबैभन्दा ठुलो दमडिनै रहेछ । दमडी भएपछि जे जे अरे पनि भरे टेलिभिजनाँ नाम आइहाल्छ । भोलि गलाँ खादा पाइहाल्छ । आफू त परें हजुर समाजसेवीको दाइ साधा । पहिला दुई नंबरी नगरि एक नंबरको बन्न सकिन्न । समाज सेवा अरे पनि राजनीति अरे पनि भरे पार्टीको नेता समातेपछि त पर्सी नेताजीको खाँट्टी मान्छे । पहिला भूमिगतको आँटी नेता अहिले खाँट्टी समाजसेवी, राजनीतिज्ञ, दानी मानियाँ लगाइ दिन्छन्, दोसल्ला फेटा लु भइएन त चर्चित यताउता ।’ पैसा फेंको तमसा देखो ! हाम्रो समाजको नअर्नुस् खेदो ।

पहिला मेरो भाइ साँच्चैको कसाइ । उसको हिस्ट्री स्मग्लिङवाट शुरु भयो, अब ठुलो समाज सेवी वन्दैछ । मेरोभाइ अब म देश चलाउँछु भन्दैछ । हाम्रो देशाँ, देश भित्र र बाहिरको समाजाँ यो दुबै काम गर्नेको कमी भए पनि नभए पनि सुबिधा भएपछि त भइहाल्यो नि हैन र हजुर ? सुबिधा भएपछि दुबिधै भएन जब मनमा आयो समाज सेवा त्यसभित्र वाट दुई नंवरको मेवा आहा क्या मजा !

दुई नंबरी मानव तस्कर, यताको सामन उता उताको सामान यता कोकिन हिरोइन सेता, समाज सेवाको फेटा विविधतामा एकता खारिएको नेता । फेरि जुन नेता हुन्छ उ सच्चरित्र नै हुन्छ । हाम्रो समाजाँ दुश्चरित्र नेता पाउनै सकिन्न । नराम्रो भए धाउनै हुन्न । मान्छे गुण्डा हुन सक्छ, तस्कर हुन सक्छ, फटाहा हुन सक्छ, भ्रष्टाचारी हुन सक्छ, कालो बजारी हुन सक्छ, हरिप हुन सक्छ तर नेताको फेता गुथेपछि शरीफ बन्छ र हुन्छ पनि । राजनीति त गोसाइँ गुण्डा हो नि ! ...एक पटक डुबेपछि सारा पाप साफ । बाफ रे बाफ ।

समाजसेवी भाइले गाई जस्तै सिधा नेताजी बोलाइहाले । कार्यक्रम थियो “टुहुरा संरक्षण वोर्डको” समुदघाटन गर्नु पर्ने । तर त्यहाँ दुई चार जना टुहुरा बाहेक आश्रम पुरै खाली, नेताजीको बोल्ने पाली, सवैले बजाउनै पर्छ ताली, यता कुर्ची खÞाली । नेताजीले बुझी हाले यसपाली आफ्नो भाषणको ताली नपड्कने भयो भन्ने छामी हाले नाड़ी । ताली नै नपड्के भाषणाँ कसरी कड्किने ? उनको कुरोको चुरो बुझेर समाजसेवी भाइले केटाकेटी र तिनका बुबाआमालाई भोजाँ निम्तो ताली पड्काउन छिटो आश्रमा घराँ पारिदिए धुलोपीठो ।

नेताजीले पनि भरिभराउ कार्यक्रमाँ आफ्नो आँखा गगल्स जेलहाल्या कपालाँ माथि सार्दै समाज सेवी भाइलाई तलझार्दै जोसाँ होस गुमाउँदै सोधे– “यी सबै टुहुराका त बाऊ आमा नि छन् त ?” भाइले भन्यो– “चिन्ता नअर्नुस् मन्त्रीज्यू अब चाडै नै यी बालबालिका टुहुरा बनाइ दिउँला नि हुन्न र ? अर्को एउटा पार्टिको आन्दोलन घोषणा गरौँला नि... हा हा हा... ” । मन्त्रीजी पनि सँगै हाँस्न थाले– हा हा हा... हो नि !”

‘टुहुरा संरक्षण बोर्डको’ कार्यक्रमाँ नेताजी पाल्नु भयो, भाषण गर्न थाल्नु भयो । त्यो भन्दा पहिला आफ्नो टाइ खुकुल्याउँदै भन्नु भयो– “यो साह्रै दुखको कुरो हो ! हाम्रो देशाँ प्राय राम्रा राम्रा कामहरू सबै अधुरा र अपुरा मात्रै रहन्छन् । जुन कुरो हुनु छैन, जुन कुरो हुनु हुँदैन हाम्रो मुलुकाँ त्यही हुन्छ । मैले त सोचेको थिएँ हाम्रो पार्टियाँ सक्रिय नेता विदेश बसेर पनि आफ्नो काम नछोडी कन पैसा उठाउने सप्ताहा व्यापी दौडाँ दौडेको देख्दा हामी धेरै धेरै खुशी छौं र हाम्रो पार्टी धेरै धेरै आभारी पनि छ । हाम्रो समाजसेवी कार्यकर्ताले विदेशाँ उठाएको ठूलो धनराशिको खबरले त यो आश्रम निकै ठूलो र भरिभराऊ हुन पर्ने हो तर यहाँ यसपाली कुर्ची टेवल खाली देखेर मलाई भने चिन्ता लाग्यो । अब यो आश्रम भरिन्छ, हामी त्यसको व्यवस्था चाँडै नै गर्छौ ।

...त्यसको लागि हाम्रो पार्टीले देशमा अर्को एउटा युद्ध छेडनु पर्ला, धन्दा नमान्नोस् भन्दा फरक नपर्ला, जे त पर्ला पर्ला, परेको टर्ला । मलाई लाग्थ्यो हाम्रो मुलुक एकल महिला र टुहाराँ बबुरा छैनन् आत्मनिर्भर छन् । तर आज मैले देखें र पीर लाग्यो, यसको लागि अर्को युद्ध घोषणाको सूचना चाँडो छेडनु पर्ला जस्तो लाग्यो । साथी हो ! त्यसरी नै विदेशाँ चाँडो भन्दा चाँडो पैसा उठाउनुस, अनि स्वदेशाँ घर आश्रम बनाएपछि स्वत देश विकास भएन ?

...साँच्चै भन्ने हो भने यसरी टुहुराको कमी होला भन्ने मलाई थाहै भएन । यो महान् कार्यको उद्घाटनले उद्दारै गराएर म हरिलट्ठक मन्त्रीलाई ठूलो गुन लगाउनु भयो । गुनको भाउ नुनको सोझो अरेर तिरौंला भोलिदेखि पुरै देश टुहुरामय गरेरै हिँडौला हुन्न त ? हुन त हाम्रो मुलुकाँ अनिकाल, अकाल, गरीबी, भोकमरी, नक्कली औषधी, जङ्गली च्याउ, भूकम्प, जाती–पाती, धर्म–शर्म। पार्टी–साटी, टुहुरो र एकल महिला बाढी र पहिरोको जति भाषण गर्यो त्यति त्यति कुरो गहिरो सबैले टरर त ताली मारे मन्त्रीजीले गगल्स आँखा झारे ।

मैले भाइलाई सोधें– “बाबु तिमी दुई नंवरि बाट एक नंवरि कसरी भयौ, स्मगलरबाट समाज सेबिमाँ कसरी ट्रान्सफर भयौ । त्यसपछि पार्टी नेता लाइनाँ झ्वाम्म हामफाल्यौ ? यो अकुत सम्पत्ति कसरि क्वाम्म ह्वाम् पार्यौ ? तिमीलाई त तिम्रो पार्टीले भूमिगत थियो भन्दा रहेछन नि ?”

उसले कुटिल मुस्कानका साथ मेरो कानाँ फुस्फुसायो– “दाइ यो सबको श्रेय दमडी हो ! यहाँ पैसाको कमाल, स्मगलिङ खुल्ला, जंगल र समुन्द्रको धमाल, समाज सेवा खुल्ला देशको समाज ! समाज सेवा मैदानले कालो धनलाई सेतो बनाएपछि त्यो सेतो धनले आफ्नो टाउकाँ लगाइ दिन्छ फेटो । त्यसपछि भइएन नेतो हा हा हा....।”

मेरो भाइले एक हलको मेलो हाँस्तै नढाँटी बास्यो– “हाम्रो मुलुकाँ समाज सेवा, राजनीति जसलाई जतिवेला लहड चल्छ त्यतिवेला गर्न सक्छन् बग्रेल्ती । त्यहाँ न त कुनै आचारसंहिता छ, न त कुनै सोधखोज, बस् नोट भए भयो । जसको दल, उसको वल, छल गर्न सके भइन्छ अटल । साम– दाम– दण्ड, भेद जसले सक्छ जनता खेद । समाजसेवी, स्मगलर र राजनीतिमा छैन भेद ! समाजसेवी जिन्दावाद ! दाइ भन्नुस्, जिन्दावाद !! जिन्दावाद !!!” मैले पनि भनेँ “जिन्दावाद ! जिन्दावाद !!”

हाल  : अमेरिका