“जो चोर उसको ठूलो स्वर” भन्ने उखान त पक्कै पनि सुनेको हुनु पर्छ । सुन्नु मात्र हो र जिन्दगीमा कयौँ पटक यस उखानको प्रयोग गरेर अर्कोलाई हियाउने प्रयास पनि गर्नुभयो होला । जो जसले चोरेरै जिन्दगीको रथ हाँकिरहनु भएको छ । यस्ता व्यवसायी चोरहरूलाई तँ चोर होस् भनेर दोस लगाउँदा खासै आपत्ति पर्दैन । चोरलाई चोर त भन्यो नि तर यो पङ्क्तिकार के आरोप लगाउन चाहन्छ भने तपाईंहरू सबैजना चोर हुनुहुन्छ । नाथे चोरले के फूर्ति देखाउनु, के धाक लगाउनुहुन्छ र !

चोरेर पनि निष्कलङ्क हुँ भनेर सबै सामु सज्जन, भलाद्मी बन्न खोज्ने भद्र व्यक्तिलाई झन चोर औँला ठड्याएर चोरीको आरोप लागाउँदा तपाईंको कन्सिरीको रौँ ठडिए होलान् । कस्तो झुट्टो फत्तुर लगाएको होला ? जस्तो आफू त्यस्तै अरुलाई पनि ठानेको होला ? त्यसलाई भेट्न पाए त मेरो स्वाद गजबले चखाई दिन्थेँ भनेर बत्तीसे बङ्गारा कटकटाउनु भयो होला । तर के को मतलब ! पङ्क्तिकारलाई जे जस्तो ठान्नु देख्नु भए पनि कुनै आपत्ती छैन । चोरको आरोप लगाएको कारण भेटघाट हुँदा मित्रवत् व्यवहार गर्नुको बदलामा धारेहात लगाएर बाह्रसत्तरी सराप गरे पनि, सत्तोसराप गरेर मुरमुरिए नि खाँचैसित । उल्टै तपाईँलाई हृदयदेखिनै मुरीमुरी धन्यवाद टक्र्याउनेछु ।

सरसामान चोरेर जीवन गुजारा गर्ने चोर मात्र चोर ठहरिन्छ र ? तपाईँ साहित्य सिर्जनामा लागेर साहित्यकार बन्नुभएको छ भने के अहिलेसम्म कसैको सिर्जना चोर्नु भएको छैन ? पक्कै पनि चोर्नु भएको छ । सके कसैको अक्षरशः कथाबस्तु, भाषा, शैली, भाव चोरेर आफैले सिर्जना गरेको हुँ भनेर मख्ख पर्नु भएको होला । छिटो लोकप्रियता कमाउन भाव, शैली र कथाबस्तु नबाङ्गिने गरी अलिअलि शब्द परिवर्तन गरेर अर्काकै साहित्य सिर्जना चोरेर आफ्नो नामबाट कतिओटा रचनाहरू छपाउनु भयो ? कतिलाई दिनका दिन हैरान पार्नु भयो ? एकपटक ठन्डा दिमागले सम्झनुस् त । तपाईँ जस्तो चोरलाई चोर नभनेर के भन्ने ? कि साहित्यकार भन्ने ? तन जोगी त के मन जोगी पो जोगी भनेर सच्चा सिर्जनाकार बन्नुका बदला लोकोपत्यार जोगीको बस्त्र धारण गरेर धोका दिने के भन्ने ?

रामनाम बस्त्र धारण गरेर तनभरी भष्म लेपन गरेर भोगी बन्ने छद्मभेषीलाई के भन्ने ? यस्ता चोरहरू पनि थरीथरीका हुन्छन् । कोही साहित्यका शैली चोर्छन्, कोही भाव चोर्छन्, वरिष्ठ सङ्गीतकार भनेर कहलिएका सङ्गीतका महान् हस्तीहरूले पनि अर्काको सङ्गीत चोरेर हैरान पारेका छन् । विल्कुल मौलिक रचना सुन्न चाहने सङ्गीत पारखीका चाहनालाई ओझेलमा पारेका छन् सङ्गीत चोरहरूले । चोर्नुको पनि हद हुन्छ । सित्तैँमा पाए तीन माना चुक खाने आँखामा खुर्सानी दल्ने नेपालीहरूले चोर्न पाए कति चोर्लान् । सहजै अनुमान लगाउन सकिन्छ ।

चलचित्रको क्षेत्रमा प्रवेश गरेर चोरीको कुरा गर्ने हो भने चोरका कुरा गर्नु नै लाजमर्दो छ । चलचित्रको कुन विषयमा चोरी भएको छैन ? नेपाली चलचित्रलाई फुलाउनुपर्छ, फलाउनुपर्छ भनेर अहोरात्र लागिपर्नेहरूमा को चाहिँ चोर छैनन् र ? यहाँ चलचित्रको नामदेखि लिएर पटकथा सङ्गीत अभिनय संवादमा निस्फिक्री चोरी हुन्छ । कुनै कुनै चलचित्रमा त सम्पूर्ण कुराहरू चोरी भएको पाइन्छ ।

ठ्याक्कै प्रतिलिपि गर्यो भने पनि हुन्छ । नाम पनि ठ्याक्कै प्रतिलिपि उतार्छन् । चोरे पनि मर्यादा उल्लङ्घन नगरिकन चोर्नु नि । चलचित्रको नाम पनि ठ्याक्कै अनुवाद गरेर चोर्नुहुन्छ त ? हिन्दी वा अङ्ग्र्रेजी चलचित्रबाट अनुवाद गरेर नेपाली चलचित्र बन्यो । बिलकुल नेपाली कथाबस्तुमा आधारित मौलिक सामाजिक चलचित्र हो भनेर झुठो विज्ञापन गरिदियो । दर्शकलाई दिनदहाडै ठग्दै आफ्नो स्वार्थ पूरा गर्ने नामुद चोरलाई चोर नभनेर के भन्ने ?

बन्दुक बोकेर हतियार देखाएर अर्काको धनसम्पत्ति बलजफ्ती हडप्ने चोरहरूलाई त भेटिएको खण्डमा सजाय दिन मिल्छ । कानून बमोजिम ठिँगुर्याएर भएपनि उसको मानसिक स्थिति परिवर्तन गर्न सकिएला तर अर्काको रचनाको प्रतिलिपि उतारेर आफ्नो मौलिकता हो भन्दै नाक फुलाउने चोरहरूलाई कसरी सजाय दिने ?

सजाय नै दिन निल्ने चोर त झन घातक चोर भएन र न मैले साहित्यिक रचनाहरू चोरेको छु । न मैले सङ्गीतकार भएर सङ्गीतको प्रतिलिपि उतारेको छु । न मैले गीतकार भएर गीतको नक्कल गरेको छु । अहिलेसम्म कसैको केही पनि चोरको छैन भनेर चोरको आरोपबाट फुत्कने जमर्को गर्दै हुनुहुन्छ भने पनि पर्खनुहोस् । तपाई पनि उम्कन पाउनु हुनेछैन ।

दुनियाँलाई ढाँटे पनि आफूले आफूलाई नढाटीकन भन्नुहोस् त अहिलेसम्म केही कसैको दिल चोर्नु भएको छ कि छैन ? पराईको दिल चोरेर खुसी चैन सबै लुटेर अन्योलमा रुमल्याइ रहनु भएको छ कि ? निद्रा चोरेर मनलाई एकोहोर्याई दिनु भएको छ कि ? युवा भए युवतीको र युवती भए युवाको दिल चोरेर हैरानी र सास्ती दिनु भएको छ कि ?

दिल चोर्नेहरूलाई भयङ्कर खतरनाक चोरको रुपमा ठान्दछु । अन्य चोरहरूलाई त सजाय भोगायो जरिमाना तिरायो मुक्ति मिल्दछ तर दिल चोरहरूलाई काँक्रो चोरलाई मुड्कीको सास्ती भने झैं मुड्कीले बेस्सरी भकुरेर सजाय दिन पनि मिल्दैन न त कानूनको कठघरामा उभ्याउन मिल्ने ? न त कारागारमा कैद गरेर आर्थिक दण्ड जरिवाना गरेर छुटकारा दिन मिल्ने ? थाहै नपाई अन्जानमा नै तड्पाई–तड्पाई, सुस्तरी–सुस्तरी अर्काको दिल भित्र पसेर हृदयमा आसन जमाएर अन्त्यमा दिल नै चोरेर फरार हुने चोरलाई कसरी सजाय भोगाउने ? यस्ता डरलाग्दा चोरहरूबाट बचौँभन्दा पनि बच्नै नसकिने हुन्छ ।

दिल चोरको आरोप बर्साउँदा पनि पुनः फुत्कने चेष्टा गर्दै हुनुहुन्छ होला । न मसँग लोभलाग्दो सौन्दर्य छ, कसँग यथेष्ट धन दौलत छ ! न म उच्च घरानाको हुँ ! म जस्तो गोज्याङ्ग्रे, कुरुप, जिङ्रिङ्ग परेको काले ध्वाँसे, वामपुड्के, कस्का दिल चोरेँ हुँला र ? अथवा म जस्ती नेप्टी, पोक्ची, भुण्टी, कालीलाई कसले पत्याउँथ्यो र दिल चोर्न ? बेफ्वाँकमा दिल चोरको आरोप लगाएर यस पङक्तिकारबा जोगिन खोज्नुभएको होला भन्दै पङक्तिकार माथि नै खनिनुहोला । होसियार, तपाईंले बुझिसक्नु भएको हुनुपर्छ । के प्रेमलाई घन सम्पत्तिले छेक्छ ? के जातभातले नाकाबन्दी लगाउँछ ? के सौन्दर्यले तगारो लगाउँछ ? यदि प्रेमलाई केहीले पनि छेक थुन गर्न सक्दैन भने आफ्नो रुप देखेर आफैलाई घृणा लाग्नेलाई पनि मोनालिसाभन्दा सुन्दर देख्ने हुन्छन् । जो वामपुड्के छ र आफ्नो जिन्दगी आफैलाई दिक्दारी लाग्नेहरूलाई ह्यान्डसम दिलको राजकुमार भन्दै दिलमा सजाउनेहरू हुन्छन् । अब आफै मूल्याङ्कन गर्नुहोस् त तपाईंले कोही कसैको दिल चोरेको छ कि छैन ?

झन भन्नै मन लागेको गाँठी कुरो त विद्यार्थीको बारेमा हो । वर्तमान होस् वा भूतपूर्व सबै विद्याथीको बारेमा बताउन चाहन्छु । चिट चोर्न पाउनु नैसर्गिक अधिकार नै हो भन्ठान्ने विद्यार्थीहरूलाई चोरको आरोप लगाइरहन आवश्यक ठान्दिन । माता पिता र गुरुलाई देवता समान ठान्नुपर्ने नीतिगत कुरालाई पैतालामुनि राखेर परीक्षामा चोर्न नपाए गुरुहरूमाथि नै जेजस्तो कदम उठाउन पनि पछि पर्दैनन् । परीक्षामा चिट चोरेर जिन्दगीमा आफ्नै भविष्यको सत्मार्ग भत्काइरहेको पत्तो नै पाउँदैनन् ।

वर्तमान अवस्थासम्ममा तपाईंले केही न केही त पक्कै चोरेकै हुनुपर्छ । त्यसैले त निर्भिकताका साथ भन्दैछु हामीहरू सबै एक से एक चोर हौँ । चोरी नै हाम्रो जिन्दगीको सुकाम हो ।

मन्थली, रामेछाप