स्नेही प्यारी
स–प्रेम न्यानो अभिवादन !

प्रिय ! हाँसी हाँसी रत्तिभर सङ्कोच नमानी पटक पटकको पत्र स्विकार गरेकोमा म उद्युम खुसी छु । प्रत्यक्ष सम्वादको भन्दा पत्रको स्वाद अत्यन्त आनन्ददायक लाग्ने भएकाले म यसै माध्यमद्वारा कर्तव्य पुरा गर्न प्रतिबद्ध छु ।

प्यारी, तिमी त पत्र पनि लेख्दिनौ । पत्रबाट पनि कतिपय कुराको हल वा पहल गर्न सकिन्छ । मेरा विरुद्धमा तिमी जर्किने झर्किने गरेको सुन्दा यस आत्माले न्यास्रो मान्ने गरेको छ । तिमीले मलाई चट्ट छोडेपछि मेरो माथ पट्ट फुटे पनि के मतलब । हुन त आफ्नो टाउको फुटे मितको टाउको बेलै समान मान्ने परम्परा नै रहेको छ । यस अर्थमा तिमीले जे गर्छेउ त्यो ठिकै पनि छ ।

साँच्चै प्रिय ! प्यारीको गाथमा म छैन साथमा आराम होला नहोला भन्ने चिन्ताले चिमोटि रहन्छ । तिम्रो कोमल स्पर्श र माया ममताबाट विमुख भएपछि मेरो हाडमासी सबै गलेका छन् । घर घरमा ग्यास पाइप, नेपाली पानी जहाज सरर, तुइन मुक्त, काठमाडौँमा रेल, आफ्नै देशको तेल, आदित्यादि भन्दै बर्बराउँछु अरे । जेहोस् मलाई मेरो घरको चौतर्फी विकास गर्ने औधी इच्छा जागेको छ प्रिय ! त्यसैले पनि होला दिन रात तिम्रै चिन्ताले म सुर बेसुर बर्बराउने गरेको छु । यसको ओखती भनेको नै तिम्रो प्राप्ति हो । साथमा भएका सन्तानको पनि गतिविधि उतिविधि मन परेको छैन । म नास्तिक हुँ ता पनि तिमी फर्किएर एकाएक अंकमाल गर्छेउ कि भन्दै मठ मन्दिरमा सजल, नैवेद्य, भेटी, धुप, दिप बाल्न थालेको छु ।

तिमीले दुत्कारेपछि मेरो वाकशक्ति र व्यवहारमा निखार आए पनि तिम्रो र मेरो मिलन नहुँदा निधार खुम्चेको खुम्चेकै छ । सुध्रिने भन्दा उध्रिने क्रम बढ्दो छ । दोहोरो संवादबाट स्वाद लिउला भन्दा कहिलेकाही शब्द शिल्पले थन्क्याउन हम्मे हम्मे हुँदा उखान टुक्काको झटारो हानेपछि तिमी छेउ लाग्थ्यौ । मैले सोचेको थिएँ तिमीले उखान टुक्का पचाउछेउ, जान्देऊ र उखान टुक्कामै बार्ता संवाद गरौँ तर तिम्रो पाचन शक्ति कमजोर रहेछ । मेरो सानो भन्दा सानो सरल भन्दा सरल उखान टुक्का पनि पचाउन नसकेको देख्दा उखान टुक्कामय यो पूर्णकद नै धरापमा परेझैँ धिक्कार लाग्छ । मैले जितँे, भोट पाएँ यसै उखान टुक्काबाट प्रिय ! त्यसै उखान टुक्काबाट तिमी दुर दुर हुँदा मलाई धुरु धुरु रुन मन लाग्छ । कस्ता दिनमा उखान टुक्का जानेछु । कस्तो साइतमा उखान टुक्का भनेछु भन्ने चिन्ताले कुटुकुटु टोकिरहन्छ ।

उखान टुक्काले के बिगार्छ र प्रिय ! धेरै भनिराख्नु पर्ने कुरालाई एउटै उखान टुक्काले बिट मार्न सकिन्छ । जस्तो ‘स्वादे जिब्रो अल्छे तिघ्रो’ । ‘कामकुरो एकातिर कुम्लो बोकी भारततिर’, ‘दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले’ आदि उखान टुक्काको प्रयोगबाट सोचेको भन्दा धेरै उत्तर प्राप्त गर्न सकिन्छ । यसरी उखान टुक्काले बिट मारौँ भन्दा भन्दै तिम्रो र मेरो नै बिट मर्न लागिसक्यो । तिमीलाई म नभए सहज महसुस होला तर मलाई तिमी बिहान बेलुकाको भात भान्सा जस्तै नभई नहुने भएकी छौ । तिम्रा लागि म जे गर्न पनि तयार छु मात्र तिमी मेरो साथमा हुनु प¥यो । सँगै बसेर हाँस्नु रुनु प¥यो । आँसुले मुख छुनु प¥यो । एक अर्कालाई धुनु प¥यो र निचोडमा हामी दुवै एक हुनु प¥यो । हाम्रा सन्ततिको माग यही छ तर प्रिय ! तिमीले न मेरो समस्या बुझेउ, न सन्तानप्रतिको कर्तव्य नै पुरा ग¥यौ । खाली एकलव्य तालमा चिया नास्ताको पछि लाग्नेलाई साथमा लिएर विरूप ताण्डव नृत्यमै रमाइ रह्यौ । मेरो आधा अङ्ग हौ तिमी त्यसरी धर्म नछोड, अलिकति पाप धर्मको पनि ख्याल गर ।

प्रिय ! तिमी विलासी छौ भन्ने मलाई थाहा छ तापनि मेरा सन्तान दरसन्तानका सामुन्ने सर्वस्व लुटाउन सक्दिन । ज्ञात अज्ञात लुट्छौ भने लुट तर हाकाहाकी तिमीलाई दिन्न छुट । प्यारी नजाऊ पारि, लगाउ सारी, आउ वारि र वार्ता संवाद टुटेकै विन्दुबाट थालौँ । छोराछोरी पालौँ । भातमा दाल हालौँ र आनन्दले घर सम्हालौँ । लँगौटी फुस्किने गरी, अरूले छिः भन्ने गरि हामी लडाइमा नरमाऔँ । हाम्रो घर तिम्रो र मेरो कुरुक्षेत्र नहोस् । शान्तिप्रिय, मानव अधिकारवादीका लागि शान्ति क्षेत्र पनि बनोस् । यही होइन त मानव धर्म भनेको ?

तिम्रो र मेरो हिमचिम देखेर जल्नेहरूले अन्तरजातीय घरजम गर्नु हुँदैन भनेका थिए । मेरो उर्लिएको बैंस र कुर्लिएको स्वर सुनेर तिमी मसँग माउसुली जस्तै लपक्कै टाँसियौ । म असाध्यै खुसी हुँदा एकापसको अधरपानको याममा तिमीले टोकेको मेरो तल्लो ओठमा तीन वटा टाँकाको डाम यथावत छ । मैले तयार पारेको भात भान्सासँग राय बाज्दा, तिम्रो ह्याकुलो नहाँस्दा मलाई पन्यूको झट्टिले रक्ताम्य बनाएकी थियौ । आमाले सग्लो राखेको मेरो निधारमा पाँचोटा टाँका लगाउँदा पनि मैले तिम्रो स्पर्शमा नै रात बिताउँथे । मेरो घुराई, सास फेराइसँग चित्त नबुझ्दा पनि तिमीले मलाई निचोर्ने, चिथोर्ने र नङ्ग्रयाउने ग¥यौ । बाबु आमाले जतन गरेर राखेको मेरो तालु लुछी लुछी खुइल्याइ दियौ । तैपनि मैले तिमीतिर फर्किएर धारे हात कहिल्यै लगाइन जम्ला हात नै गरिराखे । केमा चित्त दुखायौ प्रिय ! अरूको उक्साहटमा लागेर घर नभाँड । आउ घर भित्रको कलह घरभित्रै मिलाउँ ।

मेरो एक तमासको मिलौँ मिलौँ भन्ने क्रन्दनलाई मेरो कमजोरी नठान, आफू प्रतिको सम्मान ठान प्रिय ! झगडा र रोग पालिराख्नु हुँदैन बढ्दै जान्छ त्यसैले आऊ टुटेकै विन्दुबाट संवाद थालौँ । कलह रहित समाजको निर्माण गरौँ । लोग्ने स्वास्नीबाट यसभन्दा अनुकरणीय काम के हुन सक्छ । आफू भलो त जगतै भलो । नउखेलिन्छन् घरको बलो न खाली हुन्छन् बसिराखेको थात थलो, किन गर्नु प¥यो अर्काको कुभलो । अलिकति तिमी झुक, अलिकति म निहुरिदिन्छु । तिमीले मेरो बलिन्द्र धारा आँसु पुछ म तिम्रो रुझेका परेली पुच्छु । मेरो मर्का बुझ तिमी, तिम्रो समस्या म बुझ्छु । एक हातले ताली नबज्ने भएपछि अर्काे हात लुकाएर किन बस्ने ? ममतामयी प्रिय ! मातृत्व बिर्सिएर निर्दयी नबन । आऊ सँगै सधैं संवाद गरौँ र सुखी संसारमा अवतरण गरौँ ।

हाम्रा असल सन्तानका लागि पनि हाम्रो घर व्यवहार भाँडिनु हुँदैन । तिमी शान्त स्वभावमा आऊ र अङ्कमाल गर म तिमीलाई अभूतपूर्व सुखसुविधा दिन्छु । भारतबाट आयातित करेन्टले चिया पकाउने भारतकै केट्ली किनेको छु । उतैको वासिङ मेसिन किनेको छु । अब तिम्रो दुःखका दिन गए । फर्क हामीसँगै बसौँ । तर प्रिय तिम्रो र मेरो मिलनमा तिम्रै दक्षिणतिर ढोका भएको ठुल्दाइले भाँजो हालेर भड्काए । हुनै नसक्ने अंश र वंशको खोचे थापे । तै पनि म भन्छु तिम्रा सबै माग बुँदागत रूपमा टिपौँ र वातानुकूलित स्थितिमा पुरा गर्दै राखौँला । हाललाई प्रिय र म भएर घर संसार हराभरा बनाऔँ । शत्रु हाँस्ने, हसाउने वातावरणबाट मुक्त बनौँ ।

चिया र विस्कुट खान बोलाएको भनेर पत्रलाई पटुकाको पत्रमा सिउरेर आउन नबिर्सनु प्रिय ! आऊ वान्छित मिष्टान्न मदिरा मजैसँग खाँदै वार्तामा बसौँ । छुट्टिनै परे पनि छोराछोरी धन सम्पत्ति, जग्गा जमिन जोखेरै भागवण्डा लगाउँला तर दोहोरो संवाद हुनै पर्छ । मलाई लाउन खान दिएन नाङ्गै पा¥यो भन्दै चिच्याउने, उफ्रिने भन्दा सियो बनेर आऊ फाली बनेर जाऊ, यसैमा कल्याण छ ।

प्रिय ! मेरा रिसले दारा किट्दै वारिपारी बुर्कुसी मार्दै कुरा नकाट । ज्यालादारीमा खेताला खोजेर हुलदङ्गा नमच्चाऊ । आफ्ना सन्ततिले खाने दाना पानी बन्द गर्दै नरमाऊ । राजमार्गमा दौडिएका एम्बुलेन्स गाडीहरूमा बज्र प्रहार गर्दै आतङ्कित नबनाऊ । तिम्रो रिसको भुमरीमा परेर कतिपयले बेलैमा चोला फेरेर खोलामा बिलाइ सकेका छन् । यस्तै हुनु पर्छ असल अभिभावकको कर्तव्य ? सही काम गरेर सन्ततिलाई सत्मार्गमा हेल्ने कि नहेल्ने ? भो अति भो प्रिय तिम्रो अहं र अहंकार । उच्चाट र अत्यास लाग्दो अहंकारले आश्रित सन्तति रोइराखेका छन् । दुःख कष्ट र आँसु पिइराखेका छन् । त्यसैले अति गर्नु अतिचार नगर्नु । आफ्नो आङमा बल बुता छँदा अतिचार गरियो भने भोलि मासी गल्दा हामीलाई हाम्रै सन्ततिले दुत्कार्छन् धिक्कार्छन् र तिरस्कार गर्छन् ।

यस्तो चालले अन्तरजातीय लोग्ने स्वास्नीको इतिहासमा एउटा अमिट कलंक थपिन्छ । त्यसैले प्रिय संयमित, शिलवान र सुशील शिलस्वभाववाली बन । अहं, र अहङ्कारलाई बिर्स र वार्तामा आऊ । अन्तरमनदेखि मिल्ने गरेर आऊ । टुटेकै विन्दुबाट संवाद थालौँ । एउटा सम्भावित मिलनबिन्दु पहिल्याऔँ । यो हामी दुवैको कर्तव्य हो । राम्रो काम गरेर नमुना योग्य बनौँ । अधिक लचकता अपनाएर त्याग गरौँ र रमाइ रमाइ हासिखुसी घरजम गरौँ । भावी सन्ततिलाई सत्मार्गमा दोहो¥याउने भरमग्दुर प्रयत्न गरौँ । डोरी जति लामो बाटे पनि गाँठो एउटै हो प्रिय ! सन्तान भँड्खालामा परुन् तर तिम्रो ज्यान बिसबाट उन्नाइस नहोस् । तिम्रो हितमा मरिमेट्ने, तिम्रो अङ्कमाल, आलिङ्गन र स्पर्शलाई सर्वस्व ठान्ने उही तिम्रो कालजयी उन्मत्त भैरव ।

शिवशक्ति मार्ग फूलबारी–११, पोखरा
९८०६६७७५९४, ५३०१२२