सित्तैमा अर्थात् फ्वाँसे, यसको मतलब पैसा नतिरेर वा खर्च नगरेर भन्ने बुझिन्छ । पैसा खर्च नगरेर जब हामी कुन चीज प्राप्त गर्छौं या काम गराउँछौँ या मस्ती लुट्छाँै त्यतिखेर हामी एउटै शब्दमा शान झार्दै ठाडा कान पार्दै भन्छौं, सित्तैमा । यसको मतलब हाम्रो समाजमा ‘सितैमा’को ज्यादै महत्व छ । सित्तैमाको मान अर्कै छ, कुनै मान्छेको अगाडि आफूलाई ठूलो मान्छेको फुइँ देखाउनुप¥यो भने भन्छौं ‘ए... सित्तैमा यस्तो गरे मैले ।’ राम्रो काम होस् या नराम्रो, त्यस्को वास्ता छैन । सित्तैमा पाउनासाथ हाम्रा नाकका पोराहरू फुल्दछन् । मानौं हामी मान्छे नभएर घोसेमुन्टोको अब्बल चोचो हौं । कसैले टिप्पणी गर्नुभन्दा पहिले ओकल्छौं– “ए, त्यस्तो पो, म त सित्तैमा होइन कि भन्याथे ।”

सित्तैमा भन्नासाथ एकातिर गर्वले छाती फुल्लिने, अर्कोतिर आफूले आफूलाई ठुल्याउने हुँदा दुनियाँ सित्तैमा भन्न बडो आतुर छ । ‘दिन दुगुणा रात चौगुना’ थारो भैसीलाई पनि बनाउन खोज्छन् दुहुना । सत्यताको धरातलमा होस् या नहोस् यसरी भन्न थाल्छन्– ‘‘मैले त सित्तैमा सिनेमा हेरे, मैले त सित्तैमा बोतल भरे, म त सित्तैमा माल गाडीमा आए, म त सित्तैमा चिल गाडीबाट जाँदैछु । मैले त सित्तैमा कोट पाएँ, मैले त सित्तैमा लाखौं नोट खाएँ ।’’ यसरी सित्तैमा, सित्तैमाले आजको समाज कति भित्तैमा ठोकिएको छ, रित्तैमा भोगिएको छ ।

यो कुरालाई सोच्दै नसोची सुकर्मभन्दा कुकर्म गरी सित्तैमा जोडनेहरूको भीडभाड छ । सायद त्यसैले हाला कसैले सित्तैमा मागीमागी खान्छन्, कसैले सित्तैमा डाँरीडाँरी खान्छन्, कसैले सित्तैमा चोरी चोरी खान्छन्, कोही सित्तैमा घर फोरीफोरी खान्छन् त कोही सित्तैमा सुकुम्बासी बनेर पूर्व बस्ने भए पश्चिम, पश्चिम बस्ने भए पूर्व कुदेर झुप्राझाप्री बारेर, सिगान ¥याल झारेर बबुरो बनी बेहाल देखाउँछन् । एक दुई महिना चुलोचौको चिसिए¬¬ पनि जिन्दगी भर कारैकारको सवारमा वार गर्छन् । आज भुँडी भ्वाङ भरे पनि भोलि मजाले सुपारी र ल्वाङ खाँदै ठूलो मान्छेका स्वाङ पार्दै ज्वाङज्वाङ हिड्न सकिन्छ भने सित्तैमाको सिठी सुइँय, सुइँय किन नबजाउने ?

‘जाँगर न सागर खानेबेला आँ गर’ भनेजस्तो परिश्रम न मेहनत सुती सुती लचकदार आसन ताक्ने, घरमा मसिनो रासन चाख्ने, गएर मन्चमा गुलियो भाषण छाँटे जस्तोसुकै कुशासन गरे पनि भो । भ्रष्ट फोहरको दुनियाँमा सित्तैमाको धनियाँ लेपटेर जहानिया शासन चलाउनेहरू पनि कति छन् कति ? छाडा छोडेको साँढेजस्तो यहाँ सित्तैमा जहाँ गए पनि हुन्छ, जसले जे बोले पनि हुन्छ, जसले जे गरे पनि हुन्छ, त्यसो त सित्तैमा साली भगाउनुस् वा गाली खानुस्, सित्तैमा महानताको ढ्याङ्ग्रो ठोक्नुुस् वा गोज्याङ्गो कुरा सुनेर कसैलाई हिर्काउने मट्याङ्गो बन्नुस्, या त सित्तैमा समानताको पगँुरी गँुथेर असमानताको उर्लदो युद्धलाई छोप्नुस्, सित्तैमा कुर्सी तपाईको छेउमा ले¬उ लाएर भए पनि आइपुग्नेछ ।

त्यस्तै कुनै बेला बजारबाट किनेर ल्याको सामानमा त्रुटि भयो भने घरमा ठूलो भूकम्प जानसक्छ, वीर विरङ्गनाहरूले भएभरको जोश टाउकोदेखि पाउपोशसम्म खनाउन सक्छन्, त्यतिबेला झटपट गर्वले छाती फुलाउँदै फ्याट्ट भनिदिनोस्, सित्तैमा ल्याको पो त । त्यसपछि क्षणभरमै शिव शान्तिले छाउनेछ, आफ्नो मनभित्र प्रतिघण्टा हजार माइलको दरले आँधी किन नचलोस् ?

सित्तैमाको बारेमा लेख्दा लेख्दै एउटी सानी फुच्ची आएर मेरो सानो बच्चासँग यसरी धाक लगाउन थाल्छे– “हाम्रो बाले सित्तैमा अफिसबाट केके ल्याउनुहुन्छ केके ? कोठामा कस्तो मजाले सजाएका छौं । अस्ति झन् एउटा मान्छेले खासखुुस ग¥यो र सुटुक्क कटकट गर्नै थुप्रै गंैडाछाप नोट दियो । त्यस्तै बुवा थाइलैण्डबाट फर्केपछि मामुले किसैकिस गर्दै सोध्नुभयो– ‘अहिले सित्तैमा के ल्याउनुभएको छ हजुर ?’ अहिले त सित्तैमा एड्स लिएर आएको छु प्रिया भन्दै मलिन हुनुभयो । मैले कति पटक एड्स देखाउनुस् बुवा भनेर सोधें, उहाँले देखाउँदै देखाउनुभएन भन्या ।’’

यसरी सित्तैमाको कुरा गरेर साध्य हुने भए लेख्न नै बाध्य हुने थिएनौं, सित्तेैमाको शानले मान्छे शक्तिमान बन्न खोजेको छ । जति खाए पनि भोकै छ, जति लगाए पनि नाङ्गै छ । जति धन्सार भरे पनि रित्तै छ, जति हुन्छ त्यति रुन्छ । के गर्ने ? संसारका सम्पूर्ण चीज दिए पनि नअघाउने खन्चुवा दुलो छ । सित्तैमा पाए त झन् त्यो नै सबभन्दा ठूलो छ ?
अस्तु

रोल्पा