सखे ! जम्बोजेट विमान आएझैँ भूतलै हलचल हुने गरी बजेट आयो लक्ष्मीका कोखबाट पदार्पण भयाका । स्वर्गलोकमा श्रीविष्णुका सेवक भई इहलोकमा मन्त्रीका नाउँले प्रख्यात भयाका त्रिशुलबाबाजस्तै भविष्यवाणी गर्न सक्ने त्रिकालदर्शी, झुस्स दारीधारी । मुखमा सरस्वतीले वास ग¥याका हातमा बजेटको ब्रिफकेस प¥याका । छुमन्तरधारी अर्थेश्वरका मुखारविन्दरबाट बजेट वाचन हुँदो भयो ।

सबैले सहजै भन्छन् बजेट आयो । तर यो बजेट बडो कष्टका साथ आएको छ । जस्तो आपद् श्रीपरमेश्वरलाई स्वर्गबाट “पारिजात हरण” गरी पृथ्वीलोकमा ल्याउँदा पर्याथ्यो । त्यस्तै आपद् अर्थेश्वरलाई पनि यो बजेट ल्याउँदा पर्या होला । तर जति नै आपद् परे पनि प्रभु ! हजुरको वर्णन जगतैभरि जग्मगाएको छ । गन्धर्व, नर्तकी, धुपधुवाँरे, भान्सेभण्डारे, साहुमहाजन, हाकिम, बडाहाकिम समस्त लोकले हजुरको जयगान गाउँदै छन् । मलाई पनि केही बोलौँबोलौँ लाग्यो प्रभु ! गल्ती भए करजोरी बिन्ती छ माफ पाऊँ । हजुरका मार्फत यो भक्तिगान श्रीहरि विष्णुसमक्ष जाहेर गर्न चाहन्छुु ।

श्रीकृष्णका कृपालु रासलीलाको भजन सुन्न रेडियोको कान निमठ्या त त्यसमा पनि हजुरकै मधुर वाणीको बजेटगान आउँदै रहेछ । स्वर सुनेर आनन्दित हुँदै गएँ । धन्य प्रभु ! मलाई त मनग्गे मन प¥यो । शिक्षालाई सर्वश्रेष्ठ सम्झेर भारी रकम छुट्याउनुभएछ । विचार पुर्याएर विनियोजन गर्ने हो भने त्यत्रो रकम कहाँ लाग्छ र प्रभु ! भित्तो र छानोबिनाका खुल्ला भवनमा पढायो भने साठी हजार मास्टर लाग्ने ठाउँमा बाह्र हजारले काफी हुन्छ । अनि त करोड लगानी लाग्ने ठाउँमा हजारले नै हराभरा हुन्छ । अर्थशास्त्रका ज्ञाता अर्थेश्वरले असीमित आवश्यकतालाई सीमित साधनले पूरा गर्ने कडी काइदाले जानेको रहेछ बा ! सुन्दै गएँ मन प्रफुल्ल हुँदै गयो । गरिबी निवारण हुने, खानेपानी, स्वास्थ्य, बिजुली, सिँचाइ, सञ्चार, यातायात... इत्यादि यावत् ठाउँमा पुर्याउने, शान्ति र सुरक्षा नामका दुवै केटी, तिनै कोटी नेपालीलाई दिने । ए बा ! चाहिने पनि कति हो र दिएको पनि कति हो ! चाहिएको जति सबै पाइएको देख्दा म त दङ्ग परेँ प्रभु ।

तर एउटा कुरामा चाहिँ असाध्यै असह्य भा’थ्यो प्रभु ! त्यत्रो हजुर श्रीहरिविष्णुको पुजारी, कैयौँ नेपालीले तिरस्कार गरे पनि हजुर हरबखत नमस्कार गर्ने । आफ्नै हातमा डाडुपन्यौँ हुँदा पनि विष्णुका अवतार परमसेनाधिपति परमेश्वरलाई भेटी टक्र्याउन भुलेको देख्दा शङ्काले मन त्रस्त भा’थ्यो । प्रभु ! कतै अपत्यारिलो अनिष्ट हुने त हैन ? महाप्रलय भएर भूतलै जलमग्न भयो भने ? भर्खरै दोलखाका भीमसेनलाई पसिना आ’को र त्रिशुलबाबाको अकाट्य भविष्यवाणी पनि भा’को हुँदा हंसले ठाउँ छोड्या’थ्यो प्रभु !

मेरो मनको मर्म बुझेर आत्मज्ञानी ज्ञानेन्द्रका समीपमा मौलिकता दिँदै अर्कै शीर्षकमा सुटुक्क भेटी पुर्याइदिनुभएछ । प्रभु ! धन्य होस् । सारा जगत्लाई जिल्लाराम पार्न सक्ने हजुरको चामत्कारिक खुबीको म जाबोले के बयान गरौँ । हजुरको हातमा अर्को एउटा अवसर आएको छ प्रभु ! सबैले संविधानसभा भनिरहेको बेला यस्तै एउटा जुक्ति झिकेर सबैलाई जिल्लाराम पार्न सके अर्थेश्वर प्रभुको जयजयकार युगयुगान्तर गरिरहनेछन् प्रभु ! मान्छे जातका मूर्खले । जय होस् प्रभुको ।

काठमाडौं